
काठमाडौं । नेपाल-चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७ सय ७४ वटा विद्युतीय सवारी साधन (इभी) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
नम्बर प्लेट बिना भित्र्याइएका यी इभीहरू कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक खण्डमा विशेष जाँचका क्रममा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा विद्युतीय सवारी साधनमा करको दर हेरफेर हुने सूचना बजेट भाषणअगावै चुहिएको र सोही आधारमा ठूलो संख्यामा गाडी भित्र्याइएको आशंका छ ।
भन्सारका कर्मचारी, एजेन्ट र व्यापारीहरूको मिलेमतोमा बजेट वक्तव्यभन्दा पहिले नै द्रुत गतिमा जाँचपास गराएर गाडीहरू छिराइएको विशेष सूचनाका आधारमा सरकारी संयन्त्र परिचालन गरिएको थियो ।
ती सवारी साधनहरूलाई अहिले प्रहरीको निगरानीमा राखिएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप छानबिनका लागि भन्सार कार्यालयलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिए ।
गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन भएका थिए । यसैगरी, नुवाकोटको पासाङल्हामु सडकबाट पनि दुई वटा गाडी नियन्त्रणमा लिइएको हो ।





प्रतिक्रिया