नेपाली चिया निकासीमा फेरि भारतीय अवरोध

नयाँ एसओपीबाट पछि हटेको भारत पुरानै प्रावधानमा फर्किएपछि समस्या


विराटनगर । भारतको चिया बोर्डले नेपाली चिया निकासीमा फेरि गैरभन्सार अवरोध गरेको छ । मेची भन्सार नाका हुँदै आएको चिया निकासी एक सातादेखि ठप्प छ ।

वैशाख १८ गतेदेखि भारतको चिया बोर्डले नेपालबाट भारत जाने चियाको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) अनुसार अनिवार्य प्रयोगशाला परीक्षणको प्रतिवेदनको व्यवस्था गरेसँगै २१ दिन चिया निकासी ठप्प भएको थियो ।

तीन साताको निकासी अवरोधपछि भारतीय चिया बोर्डले भारतमा आन्तरिक बिक्रीका लागि आयात गरिने चियाका कन्साइनमेन्टहरूमा ‘र्‍यान्डम’ मात्र परीक्षण हुने र नेपालबाट भारतमा उपभोगका लागि जाने चियामा नियमित र हरेक ट्रकपिच्छे परीक्षण नगरी र्‍यान्डम स्याम्पलिङ मात्र हुने व्यवस्था गरेपछि अवरुद्ध निकासी पुन: सुरू भएको थियो ।

मेची भन्सारका अनुसार २१ दिनपछि निकासी खुले पनि विगत एक सातादेखि कुनै पनि व्यवसायीले चिया निकासीका लागि फाराम पेस गरेका छैनन् ।

भारतको चिया बोर्डको पछिल्लो प्रावधानपछि केही ट्रक चिया भारत निकासी भयो । तर, भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर गुणस्तर परीक्षणका नाममा हरेक बोराबाट नमुना निकालेर प्रयोगशाला लैजाने र परीक्षणको रिपोर्ट नआएसम्म बिक्री नगर्न आदेश दिएपछि सातादेखि निकासी रोकिएको सम्बद्ध व्यवसायीले बताएका छन् ।

भारतीय चिया बोर्डले नेपालबाट जाने चियाको नयाँ ‘एसओपी’ अनुसार अनिवार्य प्रयोगशाला परीक्षणबाट पछि हटेर पुरानै प्रावधानबाट परीक्षण गर्ने लिखित पत्र पठाएपछि निकासी सुचारु भएको थियो । तर, अहिले फेरि शतप्रतिशत परीक्षणको प्रावधान राखेपछि निकासी प्रभावित भएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए ।

‘भारतको पानीट्यांकी भन्सार र चिया बोर्डमा समस्या छैन । यहाँबाट बाहिरिएको नेपाली चिया आयातकर्ताको गोदाममा पुग्नेबित्तिकै हरेक बोराको गुणस्तर परीक्षणका नाममा नमुना संकलन गर्ने र रिपोर्ट नआएसम्म बिक्री नगर्न आदेश जारी गरेपछि व्यवसायीले निकासी नै बन्द गरेका छन्,’ पराजुलीले भने ।

भारतको कोलकाता पुगेका आधा दर्जनभन्दा बढी नेपाली चिया बोकेका गाडीबाट नमुना संकलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाइएको एक साता बित्दा पनि रिपोर्ट आएको छैन । रिपोर्ट नआएसम्म गोदामबाट बाहिर ननिकाल्न आदेश दिइएको छ । पराजुलीका अनुसार यही समस्याका कारण एक सातादेखि पुनः चिया निकासी ठप्प भएको हो ।

२१ दिनको निकासी अवरोधपछि भारतीय भन्सार कार्यालय पानीट्यांकीमा चियाको नमुना संकलन गरी ‘प्रोभिजनल सर्टिफिकेट’ का आधारमा चिया पठाउने प्रावधान गरिएको थियो । तर, कोलकातास्थित खाद्य परीक्षण प्रयोगशालामा नमुना संकलन गर्न प्राविधिक नपुग्दा परीक्षण प्रक्रिया नै रोकिएको थियो ।

‘१० दिनदेखि ६ वटा ट्रक चिया परीक्षणको पर्खाइमा छन्, दुईवटाको मात्र ल्याब रिपोर्ट आएको छ, अन्यको नमुना नै संकलन भएको छैन,’ पराजुलीले भने, ‘करिब ५० हजार किलो चिया कोलकातामा रोकिएको छ ।’

यसअघि भारतीय चिया बोर्डले भारतीय आयातकर्ताहरूले चिया भारत आइपुग्नुभन्दा अगावै ‘टी काउन्सिल’ को पोर्टलमा चिया आउने मिति, गोदामको स्थान, कन्टेनरको विवरण र प्रोफोर्मा इन्भ्वाइससहितको विस्तृत विवरण बुझाउनुपर्ने र त्यसपछि मात्र उनीहरूले ‘प्रोभिजनल क्लियरेन्स सर्टिफिकेट’ पाउने व्यवस्था गरेपछि नेपाली चिया किसान र व्यवसायी मारमा परेका थिए ।

त्यसका लागि झन्डै दुई साता समय लाग्ने अवस्था छ । प्रयोगशालाको रिपोर्ट नआउन्जेल (१४ देखि २० दिनसम्म लाग्न सक्छ) चियालाई तोकिएको छुट्टै गोदाममा राख्नुपर्ने र त्यस अवधिभर चिया बेच्न र पुनः निर्यात गर्न नपाइने व्यवस्था भारतीय चिया बोर्डले गरेको थियो ।

त्यसैगरी प्रतिनमुना परीक्षणका लागि ११ हजार १ सय २० भारतीय रुपैयाँ (करिब १७,८०० नेपाली रुपैयाँ) र त्यसमा थप जीएसटी दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने भारत भ्रमणमा रहेकाले आफूहरूले भारतस्थित नेपाली दूतावासलाई अनुरोध गरेर नेपाली चियाको निकासीमा भारतले गर्दै आएको गैरभन्सार अवरोध सधैँका लागि अन्त्य गर्न माग गरेको जानकारी पराजुलीले दिए ।

नेपालबाट भारत हुँदै तेस्रो मुलुकमा समेत चिया निर्यात हुने भएकाले यस्तो अवरोधले समग्र निर्यात प्रणालीमै असर पर्ने उद्योगीहरूको भनाइ छ ।

सीटीसी चिया उत्पादक संघका अध्यक्ष शिवकुमार गुप्ताले भारतले पछिल्लो समय विभिन्न प्राविधिक र प्रशासनिक बहानामा नेपाली चियामा गैरभन्सार अवरोध सिर्जना गरिरहेको आरोप लगाए । ‘यस्तो अवरोधले चिया उत्पादक किसान, उद्योगी र निर्यातकर्तालाई निरुत्साहित बनाएको छ,’ उनले भने ।

नेपालमा वार्षिक करिब दुई करोड ६० लाख किलो चिया उत्पादन हुने सरकारी तथ्यांक छ । त्यसमध्ये करिब ९० प्रतिशत अर्थोडक्स चिया निर्यात हुने गरेको छ भने निर्यातको ८० देखि ९० प्रतिशत हिस्सा भारतीय बजारमा निर्भर छ । पूर्वी नेपालका इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लामा उत्पादित अर्थोडक्स चिया भारतीय बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ ।