किन हुन्छ पोलिसी सरेण्डर ? सरेण्डर दर बढ्दा बीमा क्षेत्रमा यस्तो असर पर्छ




काठमाडौं । नेपाली बीमा बजारमा पोलिसी सरेण्डर (समर्पण/त्याग) गर्ने दर बढ्दै गएको छ । गत आर्थिक वर्षमा मात्रै करीब १० अर्ब रुपैयाँ बराबरका ६३ हजार ३३१ वटा पोलिसी सरेण्डर भएको नियामक बीमा समितिले जनएको छ ।


बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्दा पोलिसी सरेण्डरको मात्रा बढेको समितिले बताउँदै आएको छ । र, यस्तो दर रोक्नका लागि पहल भइरहेको समितिको भनाइ छ ।


ऐनमै बीमा पोलिसी सरेण्डर गर्न पाउने व्यवस्था रहँदा यस्तो दर बढेको सरोकारवालहरुको भनाइ छ । पोलिसी सरेण्डर गर्दा बीमितका साथै बीमा कम्पनीलाई समेत घाटा पर्ने बीमा विज्ञ भोजराज शर्मा बताउँछन् ।


बीमालेख सरेण्डर गर्ने प्रवृत्ति नेपालमा मात्रै नभई संसारभरी नै छ । बीमालेख खरिद गर्नुपूर्व नै आफ्नो आय, आम्दानीलाई मध्यनजर गरेर आफुलाई सुहाँउदो बीमा पोलिसी खरिद गर्दा भने सरेण्डरको समस्या नआउने शर्माको भनाइ छ ।


व्यक्तिको आयस्रोतलाई मध्यनजर नगरी क्षमताभन्दा बढी रकमको बीमा गर्दा सरेण्डरको दर बढ्ने गरेको उनको तर्क छ । बीमा गर्नुपूर्व नै आर्थिक स्थितिलाई असर नपर्ने गरी सो रकमले उक्त बीमालेखलाई निरन्तरता दिनसक्ने गरी बीमालेख खरिद गर्यो भने सरेण्डरको मात्रा कम हुने उनको बुझाइ छ ।


ऐनमै पोलिसी सरेण्डर गर्न पाउने व्यवश्था रहेको हुँदा बीमा बजारमा खासै असर नपर्ने उनी बताउँछन् । तर, कतिसम्म सरेण्डर गर्ने हो त्यसको सीमा भने तोकिनु पर्ने र अध्ययन गर्नुपर्ने कुरामा शर्माको जोड छ ।


‘लिमिट कति हो, कसैको १/२ प्रतिशत हुन्छ, कसैको ५/१० प्रतिशत हुन्छ, २ देखि ३ प्रतिशतसम्म पनि भयो भने त्यो मान्य हुन्छ,’ शर्माले क्लिकमाण्डुसँग भने ।


बीमालेख सरेण्डर हुनुको मुख्य कारण आर्थिक संटक हो । र, आर्थिक संकटका साथै मिस सेलिङले पनि पोलिसी सरेण्डरको दर बढेको हो ।


‘आर्थिक संकट पर्यो भन्दै पोलिसी सरेण्डर गर्छुभन्दा बोल्नै मिल्दैन,’ उनले भने, ‘सरेण्डर गर्ने चलन संसार भरिनै छ, कानूनले नै सरेण्डर गर्न पाउने व्यवस्था गरेको छ ।’


तर, सरेण्डरको दर धेरै भयो भने अध्ययन गर्नुपर्ने उनी बताउँछन् ।


‘सानो सानो रकमको गर्ने तर पटक पटक गर्ने’


बीमा गर्दा आफ्नो आय रकमले भ्याएसम्मको गर्नुपर्ने र आर्थिक आय कति छ, त्यो आयले बीमा गर्नका लागि कतिले भ्याउँछ लगायतका कुरा बुझेर बीमालेख खरिद गर्नुपर्ने उनको सुझाव छ ।


‘व्यक्तिले आफ्नो आयको पूरै रकम बीमामा राख्न सक्दैन, बीमालाई कति रकम छुट्याउन सक्छ, सो अनुसारको बीमा खरिद गर्नुपर्दछ,’ शर्माले भने ।


सो अनुसार बीमितले बीमालेख खरिद गरेमा भोलिका दिनमा बीमा योजनालार्य निरन्तरता दिनसक्ने उनको भनाइ छ । बीमालेख खरिद गर्नूपूर्व आफ्नो आयलाई आधार मानेर बीमालेख खरिद गर्दा बीमामा सरेण्डरको दर घट्ने उनी बताउँछन् ।


बीमा गर्नुपूर्व सो बमोजिमको अध्ययन गर्ने हो भने बीमितले आफ्नो आयमा तलमाथि आयो भने कसरी प्रिमियम तिर्न सकिन्छ भन्ने कुरामा जानकार हुने उनको दावी छ । बीमितले बीमालेख खरिद गर्नुअघि नै त्यस्ता कुरामा जानकार भएमा सरेण्डर नहुने उनको अनुमान छ ।


जीवन बीमा व्यवसायमा अभिकर्तालाई मूख्य पात्रकारुपमा लिइन्छ । अभिकर्ताले बीमा कम्पनी र बीमितका बीचमा मध्यस्थकर्ताका रुपमा भूमिका निर्वाह गरेका हुन्छन् । अभिकर्ताहरुले बीमालेख बिक्री गर्नुपूर्व बीमितलाई राम्रोसँग बीमालेखका बारेमा नबुझाउँदा पनि सरेण्डर गर्ने परिपाटि रहेको शर्माको भनाइ छ ।


सरेण्डरको दर रोक्नका लागि बीमा अभिकर्ताको महत्वपूर्ण भूमिका रहने उनको बुझाइ छ । अभिकर्ताले बीमितको आर्थिक अवस्था तथा बीमितको आवश्यकता अनुसारको बीमालेख बेच्नु पर्ने उनी बताउँछन् ।


‘आम्दानीलाई विचार नगरी बीमालेख खरिद गर्दा अर्को वर्ष प्रिमियम तिर्न आर्थिक संकट पर्छ त्यो कारणले सरेण्डर गर्नु राम्रो होईन, बीमा सानो सानो रकमको गर्ने तर पटक पटक गर्ने,’ उनले भने ।


कम्पनीहरुमा सरेण्डरको मात्रा बढी देखिनु भनेको कम्पनीको ग्रोथ नेगेटिभ हुनु शर्माको भनाइ छ । पोलिसी सरेण्डरको दर बढ्दै जाँदा कम्पनीहरुको व्यवसायमा नकारात्मक प्रभाव पार्ने उनको तर्क छ ।


सरेण्डर दर घट्दै छः समिति


पोलिसी सरेण्डरको दर घट्दै गएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।


‘गत आवको सरेण्डरको दर बढी देखिएको थियो, कम्पनीहरुलाई रोक्नु भनेपछि कम भएको छ, एकैचोटी घट्ने कुरा पनि भएन,’ पौडेलले क्लिकमाण्डूसँग भने ।


बीमा योजनाका बारेमा जानकारी नलिई पोलिसी खरिद गर्दा सरेण्डर गर्ने उनले बताए ।


‘बीमितले पहिले बीमा गर्छन्, पछि पैसा तिर्न गाह्रो पर्छ, त्यो कारणले सरेण्डर हुन्छ,’ उनले थपे ।


तीन वर्ष पूरा भएपछि बीमालेख सरेण्डर पाइने व्यवस्था


ऐनमा बीमितले बीमालेख खरिद गरेको मितिले ३ वर्ष पूरा भएपछि बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ । बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग गर्न पाउने व्यवस्थालाई परिमार्जन गर्दै समितिले सरेण्डरमा नयाँ नियम लागू गरेको छ ।


समितिले जीवन बीमालेख सम्बन्धि निर्देशिका २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था कामय गरेको हो । समितिले कायम गरेको नयाँ व्यवस्था बमोजिम बीमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न नपाउने व्यवस्था छ । समितिले बीमा कम्पनीहरुमा एकल बीमालेखमा देखिएका वेतिथि रोक्नका लागि भन्दै यस्तो व्यवस्था कायम गरेको थियो ।


बीमा समितिद्धारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिकामा बीमालेख समर्पण सम्बन्धी व्यवस्था गरिएको छ । बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपछि बीमालेख समर्पण गर्नसक्ने व्यवस्था छ ।


पुष्प दुलाल