कोरोनाले वैदेशिक रोजगारी समस्यामा पार्छ, अब कृषि क्रान्ति गर्नुपर्छः राजेन्द्र भण्डारीको बिचार
चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरसका कारण विश्व नै आतंकित भएको छ ।
यो भाइरस यतिबेला २०६ राष्ट्रमा फैलिसकेको छ । संक्रमितको संख्या बढनेसँगै मृत्यु हुनेको संख्या पनि हरेक मिनेटमा थपिँदै गएको छ । कोरोनाको कारण विश्वको अर्थव्यवस्था निकै खुम्चिँदै गएको छ । विश्वमा पारेको असरले नेपाल अछुतो रहन सकेको छैन ।
नेपालको सन्दर्भमा यतिबेला अर्थतन्त्र चलायमान बनाउने माध्यम विप्रेषण नै हो । आगामी दिनमा कोरोनाको कारण विप्रेषण कम भित्रिने र त्यसले समग्र अर्थव्यवस्थमा असर पर्ने देखिएको छ ।
पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपनि विप्रेषणको वृद्धि अनुपातमा खासै गिरावट आएको थिएन । समग्रमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दै गएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार फागुन महिनासम्ममा १.८ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार फागुन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृति लिनेको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकले यो तथ्याङक सार्वजनिक गरेपछि मलेसियामा जाने नेपाली कामदार रोक्नु, वैदेशिक रोजगारी सम्बन्धी ऐन नियमन र सरकारी नीतिमा भएको कमि कमजोरीका कारण वैदेशिक रोजगारीमा नेपाली कामदारको माग घटेको छ । त्यसको दबबा विप्रेषणमा परेको छ ।
कोरोनाको कारण अब विप्रेषणमा निकै धक्का लाग्ने छ । आगामी दिनमा विप्रेषण निकै गिरावट हुने निश्चित प्राय छ । दैनिक १५ सयको हाराहारीमा नेपालीहरु रोजगारीको लागि विदेश जाने गरेका थिए । कोरोनाका कारण यो रोकिएको छ ।
नेपाली कामदारहरुको प्रमुख गन्तव्य मध्यपूर्वका खाडी मुलुकहरु साउदी अरब, करात, यूएई, कुवेत, बहराइन, ओमान लगायतका मुलुकहरुमा ७० प्रतिशत श्रमिक रोजगारीको लागि पुग्दछन् । जहाँबाट मात्रै नेपालमा आउनु कुल विप्रेषणको ५० प्रतिशत हिस्सा रहेको छ । जहाँ नेपाली श्रमिकहरु पूर्वाधारका कामहरु सडक निर्माण, भवन निर्माण, तेलको कच्चा पदार्थ उत्पादन सम्बन्धी काम गर्दछन् । यस बाहेक पर्यटन क्षेत्र, सुरक्षा र सेवामुलक सम्बन्धी काम गर्ने गरेका छन् । ती देशको अर्थतन्त्र तेल उत्पादन, विकास निर्माण र पर्यटन क्षेृत्रबाट चलेको छ ।
कोरोनाको असरले तेलको कच्चा पदार्थ उत्पादनमाठूलो असर देखिएको छ । विश्व बजारमा यसको मूल्य २० अमेरिकी डलर प्रतिब्यारेलमा झरेको छ । अझै मूल्यमा गिरावट आउने देखिएको छ । तेलको मूल्यमा गिरावटसँगै मध्येपूर्वका देशमा अरब मुलुहरुमा यसको ठूलो असर देखिन्छ । त्यसकारण उनीहरुको तेलमा उत्पादन कम हुन गई त्यहाँको पूर्वाधार विकास र पर्यटन क्षेत्रलाई तहस नहस बनाउन सक्छ ।
यस्तो अवस्थामा कतिपय कम्पनीले कम्पनी नै बन्द गरेर कर्मचारी कटौती गर्ने हुँदा उनीहरु घर फर्कन सक्ने सम्भावना रहन्छ । रोजगारीको प्रमुख गन्तव्य मुलुकहरुको यो अवस्थाले नेपालको अर्थतन्त्रलाई समेत प्रत्यक्ष असर पार्छ ।
त्यसैगरी अर्को महत्वपूर्ण पक्ष भनेको श्रमिक गन्तव्य मुलुक अमेसिया हो । जहाँबाट १० प्रतिशत विप्रेषण आउने गरेको छ । त्यहाँ पनि कोरोनाको असर देखिएको छ । जसले गर्दा मार्च अन्तिमबाट सुरु भएको लकडाउन अहिलेसम्म जारी छ । कोरोना भाइरसको वृद्धि भएसँगै लकडाउन अनिश्चित भएको छ । कोरोना संक्रमणले नेपाली श्रमिकहरुको श्रम गर्ने औद्योगिक क्षेत्र, सेवा श्रेत्र र पर्यटन क्षेत्रलाई नराम्ररी गाँजेको छ । ती क्षेत्रहरु अहिले प्राय ठप्प छन् ।
विप्रेषण आउने अर्को देश भनेको भारत हो । जहाँबाट नेपालमा भित्रने विप्रेषणमा १५ प्रतिशत योगदान रहेको छ । त्यहाँ पनि कोरोनाकाले ठप्प पारेको छ । जहाँबाट नेपाली कामदार घर फर्किसकेका छन् ।
नेपालमा भित्रने विप्रेषणको अर्को प्रमुख राष्ट्र अमेरिका र यूरोप पनि हो । यी मुलुक पनि कोरोनाको सिकार भएका छन् । ती देशहरुमा रोजगारीका लागि गएको, अध्ययनका लागि गएका नेपालीहरुको अवस्था दर्दनाक बन्दै गएको छ । जसकारण यी देशबाट आउने विप्रेषणमा निकै गिरावट आउने देखिएको छ । तुलनात्मक रुपमा दक्षिण कोरिया र जापानबाट आउनुपर्ने विप्रेषणमा केही राहत भएपनि तुलनात्मक रुपमा प्राप्त हुन नसक्ने देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्ला ४/५ वर्षको तथ्याङक हेर्दा आर्थिक वर्ष २०७१/०७२ मा ६ खर्ब १७ अर्ब, आव २०७२/०७३ मा ६ खर्ब ६५ अर्ब, आव २०७३/०७४ मा ६ खर्ब ९५ अर्ब, आव २०७४/०७५ मा ७ खर्ब ७६ अर्ब रुपैयाँ र आव २०७५/०७६ मा ७ खर्ब ८३ अर्ब रुपैयाँ विप्रेषण आएको थियो ।
नेपालको ५७ प्रतिशत घरधुरी वैदेशिक रोजगारबाट प्राप्त हुने विप्रेषणमा निर्भर रहेका छन् । नेपालको कुल ग्राहस्थ उत्पादनमा विप्रेणको योगदान २९ प्रतिशत रहेको छ । नेपालले सन् २०३० सम्ममा हाल रहेको गरिबीलाई एकल अंकमा झार्ने योजना झार्ने घोषणा गरेको थियो । गरिबी घटाउने प्रमुख औजार विप्रेषण रहेकोमा अब गरिबी एकल अंकमा झार्नुको साटो बढने अवस्था सृजना भएको छ ।
कोरोनाका कारण आर्थिकका साथै सामाजिक असर पनि देखिने भएको छ । विप्रेणको कारण मानिसको खर्च गर्ने क्षमता वृद्धि भएको छ । मासिको स्वास्थ्य, शिक्षा र सामाजिक हैसियत बढेको छ । विप्रेषण प्रभावित हुने वित्तीकै उपभोगमा संकुचन आउने छ । विप्रेषण उपभोग गर्ने परिवारको क्रयशक्तिमा पनि संकुचन आउने छ ।
विप्रेषणमा आश्रित परिवारको उपभोगमा समेत वृद्धि ल्याएको छ । उपभोग घटने वित्तीकै उत्पादनमा कमी आउनसक्छ । यसले अनन्त काल र दीर्घकालमा असर पर्छ । त्यसको असर अर्थतन्त्रमा पनि पर्छ ।
अर्थतन्त्र चलायमान बनाउन पनि विप्रेषणले निकै भूमिका खेलेको छ । स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, बजारिकण, कृषि, पर्यटन क्षेत्र गाँउ गाँउमा पुगेको छ ।
विप्रेषणले गरिबीको रेखाभन्दा माथि उठेका उनिहरुको आय घटेपछि पुन पुरानै अवस्थामा फर्कने सक्ने देखिएको छ । यसकारण अर्थतन्त्रमा हुने यस्तो किसिमको संकुचनले घनी र गरिब बीचको खाडल झनै बढने देखिन्छ । उत्पादनका साधन स्रोत सीमित व्यक्तिको हातमा पुग्ने र गरिब झन गरिब भई सामाजिक न्यायमा समेत असर पुग्ने देखिन्छ ।
सम्भावना र अवसर पनि विप्रेषण र पर्यटनका कारण नेपालको वैदेशिक मुद्रा भण्डारण बढेको थियो । कोरनाका कारण हाम्रो जगेडा पनि दिनप्रतिदिन घट्दै जानेछ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा कुल विदेशी विनिमय सञ्चिती ११ खर्ब ३६ अर्ब ५१ करोड रुपैयाँ छ ।
अहिलेको जगेडा मुद्रा टिकाउन हाम्रो सीमित स्रोत साधनलाई अधिकतम उपभोग गरी अर्थतन्त्रलाई चलायमान बनाउने हाम्रो सामू अवसर पनि छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई अवसरबाट बञ्चित हुन नदिन सम्बन्धित राष्ट्रका कर्मचारीहरुसँग निरन्तर संवाद र श्रमिकको सुरक्षाका लागि पहल गर्ने, कोरनो भाइरस नियन्त्रण पश्चात उनीहरुको रोजगारी सुनिश्चित गर्नुपर्छ ।
देशमा प्राविधिक शिक्षामा लगानी गर्ने र उनीहरुले सिकेको सीप उपयोग गरी नेपालमै रोजगारी सिर्जना गर्न योजना बनाउनु आवश्यक छ । हाल देशमा रहेका विभिन्न क्षेत्रमा रहेका विभिन्न क्षेत्रका विज्ञ, वैदेशिक रोजगारबाट प्राप्त सीप र ज्ञानलाई उचित परिचलान गरी उत्पादनमा ध्यान दिनु आवश्यक छ ।
हाम्रोजस्तो आयातमा भर पर्ने देशले फड्को मार्ने समय पनि यही हो । यो समयमा हामी रक्षात्मक हुँदै आयतमा बाहिरिने मुद्रा आन्तरिक रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्नुपर्छ ।
अझ नेपाल कृषि प्रधान देश भएकाले कृषिमा लगानी गर्न प्रेरित गर्ने र कृषि उत्पादनलाई व्यापकता दिन सकियो भने ठूलो रोजगारी सिर्जना भई वैदेशिक रोजगारी बाध्यात्मक नभइ विस्तारै प्रतिष्पर्धात्मक हुँदै जानेछ । हामीले विश्व बैंक लगायत दातृ निकायबाट र आन्तरिक स्रोतबाट लगानी गर्न अनुदान र ऋण दिन सक्यौं भने रोजगारीको ठूलो सम्भावना नेपालमै रहन्छ ।
अझ आन्तरिक सुशासन वित्तीय नीति नियमहरुले अन्य आर्थिक सुशासन कायम गरी ब्याजदर न्यूनतम राख्न सकेमा बजार नियन्त्रण र अर्थतन्त्रको आकार बढ्दै जानेछ ।
कोरोना भाइरसको महामारीले वैदेशिक रोजगारीमा कमी ल्याउने प्रष्ट संकेत देखिएको छ । जसले नेपालीहरुको आयमा पनि अब कमी आउनेछ ।
रेमिट्यान्सले नेपालको भुक्तानी सन्तुलनामा समेत प्रभाव पार्ने देखिन्छ । नेपालमा आफ्नै जमिन हुनेको संख्या करिब ९० प्रतिशतभन्दा कम छ भने २६ लाख ६१ हजार हेक्टर जमिन मात्रै खेतीयोग्य छ ।
बिप्रेषण आयबाट नेपालीहरुको आयमा वृद्धि हुँदै गयो । आय बढ्दै जाँदा उसको उपभोग पनि बढ्दै जान्छ । यो अर्थशास्त्रको नियम पनि हो । नेपालमा यस्तै खालको परिपाटी विकास हुँदै गयो । उपभोगमा आयको वृद्धिलाई पूरा गर्न नेपालभित्रको उत्पादनले मात्रै पुगेन र आयात हुन थाल्यो । यसलाई नेपाल राष्ट्र र्बैंकको आयातको तथ्यांकले पुष्टि गर्छ ।
राष्ट्रिय अर्थतन्त्रमा पुँजीगत वस्तुको आयात बढ्नु सुखद नै हो । तर नेपाल कृषिजन्य वस्तुको उत्पादनमा लाग्दा वृद्धिदरले डरलाग्दो अवस्थातर्फ संकेत गरेको छ ।
सन् २०१९/२० को ८ महिनामा २१ अर्ब १ करोड ९४ लाख रुपैयाँको तरकारी, कच्चा स्वचालित तेलदेखि ११ अर्ब र पाम आयाल १४ अर्ब रुपैयाँको आयात भएको छ ।
त्यसैगरी कृषिजन्य मेसिनरी औजारको आयातबाट करिब ३९ अर्ब रुपैयाँ भएको देखिन्छ । पुँजीगत वस्तु आयात हुनु अर्थतन्त्रका लागि सुखद नै हो । जसले उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँछ ।
नेपालमा भित्रने रेमिट्यान्सको अधिकतम हिस्सा उपभोगमै खर्च भएको छ । यसले पुँजी निर्माण र बचतमा थोरै मात्रै सहयोग गरेको छ । रेमिट्यान्सका कारण गाउँघरका मानिसहरु बढ्दो सहर केन्द्रित हुन थाले । सन्तानको उच्च शिक्षाका नाममा वा नयाँ अवसरको खोजीका नाममा सहर केन्द्रित हुँदा ग्रामीण क्षेत्रको कृषियोग्य जमित बाँझोमा परिणत हुन थाल्यो ।
अर्कोतर्फ कृषि क्षेत्रको मजदुरको कारण पनि खेतीयोग्य जमिन बाँझो भयो । सहरमा बस्नेको महत्वकांक्षा वा बर्ग उत्थान भएको देखाउन भएकाले पनि सहर आसपासमा रहेका खेतीयोग्य जमिन घडेरीमा परिणत हुँदै गए जसले कृषि उत्पादन जहाँको त्यही रह्यो ।
कोरोना भाइरस नियन्त्रणमा कहिले आउँछ यकिन भन्न सकिन्न । यो महामारीलाई मानव जातिले अवश्य जित्ने छ । संसारको अर्थतन्त्र पुनः आफ्नै गतिमा आउन केही समय लाग्नेछ । जसको अर्थ नेपालीहरुको वैदेशिक रोजगार कटौती हुने निश्चित छ ।
रोजगारी कटौतीबाट नेपालमै रहेका जनशक्तिलाई कृषिमा रुपान्तरण गर्न सके नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान हुन सक्नेछ ।
उत्पादनलाई राज्यले उचित नाफाको सुनिश्चितता गर्ने, कृषिमा आधारित उद्योगहरुको स्थापना गर्ने र उत्पादक किसान र राज्यको संयुक्त लगानी प्रत्येक स्थानीय निकायको वडामा कृषि प्राविधिकहरुको उपलब्धता गराउने तथा वैदेशिक लगानी कृषिमा ल्याउनका लागि कर छुट दिने, सहजै ऋण उपलब्ध गराउने र बजारीकरणमा राज्यको तर्फबाट भूमिका खेलिनुपर्छ ।
कैयन वर्ष उजाड भएको रुखो जमिनलाई मलिलो बनाउन केही समय पक्कै लाग्नेछ । तर हाम्रो उत्पादन एकातिर बढ्छ भने अर्कोतर्फ कृषिजन्य वस्तुको आयात घटेर कृषिमा आत्मनिर्भर भई भुक्तानी सन्तुलन सकारात्मक राख्न योगदान पुग्नेछ ।