नआत्तिनोस् अब लकडाउन खुकुलो बनाउँछौं, राहत चाहिए भन्नू: मेयर विद्यासुन्दर शाक्य



देशको राजधानी काठमाडौंमा ५०औं लाख मान्छेहरु बस्छन् । जसमध्ये आधाजति मोफसलबाट कामको शिलशिलामा यहाँ आएका हुन् । विश्वव्यापी महामारी बनेको कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि देशलाई लकडाउन गरेको छ । लकडाउन भएसँगै हजारौं मजदुरहरु काठमाडौंमा खान नपाएको भन्दै हिँडेर घर फर्किएका दर्दनाक भिडियो र तस्बीरहरु भाइरल भएका छन् । लकडाउन भनेको जो जहाँ छ त्यहीँ बस्नुपर्छ भन्ने हो । भोक थाम्न नसकेका खाली पेटहरु सयौं किलोमिटरको पैदल यात्रामा निस्किरहँदा काठमाडौं महानगरपालिका के गरेर बसिरहेको छ ? कोरोना व्यवस्थापनमा महानगरले के कस्ता कामहरु गरिरहेको छ ? यस्तै विषयमा केन्द्रित रहेर मेयर विद्यासुन्दर शाक्यसँग क्लिकमाण्डूका लागि पुष्प दुलाल, आशीष ज्ञवाली र सोभित थपलियाले गरेको कुराकानीः

सरकारले लकडाउनको घोषणा गरेपछि हजारौं सर्वसाधरण उपत्यकाबाट हिँडेरै पूर्वदेखि पश्चिमसम्म गए । भोकैतिर्खै यात्रा गरेका दर्दनाक भिडियो र तस्बीरहरु भाइरल भए । मोफसलका नागरिकको श्रम पत्याउने काठमाडौंले उनीहरुलाई दुख पर्दा किन विश्वास जित्न सकेन ?

मैले पनि त्यस्ता समाचारहरु पढेको थिएँ । बैशाख १ देखि हामीले कसैले काठमाडौं छाड्न पर्दैन । काठमाडौं अहिलेसम्म कोरोना भाइरसको हिसाबले सुरक्षित छ । यहाँबाट कोही पनि बाहिर जानु पर्दैन । कसैलाई समस्या छ भने हामीलाई खबर गर्नुहोस् भनेका छौं । वडा अध्यक्ष र वडा सदस्यहरु राहतका लागि अहोरात्र खटिरहनु भएको छ । वडा अध्यक्ष नचिनेमा प्रहरीलाई भन्नुहोस् हामी व्यवस्थापन गरिरहेका छौं ।

कतिपय मान्छे कोठामा मात्रै बस्दा हावा खान पाइएन भनेर बाहिर निस्कने पनि छन् । खान नपाएको भन्दा पनि घुम्न नपाएको भनेर दुख मान्ने थोरै छन्। उहाँहरुले पनि थोरै समय धैर्य गरे पुग्छ ।

हामीले उपत्यका नगरपालिका फोरमले पनि काठमाडौं उपत्यका छाड्न पर्दैन भनिसकेका छौं । म फेरि पनि भन्छु भोकै रहनुपर्ने कारणले उपत्यका छाड्न पर्दैन । अहिले जति पनि काठमाडौं बाहिर गएका छन् । उनीहरुले वडा अध्यक्ष वा महानगरलाई जानकारी गराएर गएका छैनन् । खान नपाएका कारण बाहिर जानु पर्दैन । विद्यार्थी हुन् या मजदुर हामीले खाद्यान्य सहजरुपमा आपूर्ति गरेका छौं ।

तपाईंहरु जान पर्दैन भनिरहनु भएको छ । तर, काठमाडौं बाहिरका स्थानीय तहको पहलमा र कतिपय अवस्थामा मन्त्री र सांसदहरुको पहलमा काठमाडौं छोडाइयो । समन्वयन नभएको हो ?

अहिले काठमाडौं छाड्न पर्दैन । र काठमाडौं आउनु पनि पर्दैन । उपत्यकामा बस्नेहरु पनि काठमाडौं बाहिर धेरै छन् । जो जहाँ छन् उहाँहरुलाई खुवाउने जिम्मा स्थानीय तहको हो । अहिले जानेहरु लामो समयसम्म लकडाउन हुनसक्छ भनेर जानु भएको छ । अब खेतीको सिजन पनि भएकाले उहाँहरु जानु भएको हो ।

अहिले काठमाडौं उपत्यका बाहिरका स्थानीय तह र सांसद्हरुको पहलमा लैजाने काम भयो । यो लकडाउनको लागि राम्रो कदम होइन । काठमाडौं महानगरले अहिलेसम्म ६४ हजार १ सय ७८ जनालाई राहत वितरण गरिसकेको छ । राहत दिनका लागि हामीले सजिलो व्यवस्था गरेका छौं । शुरुमा नागरिता चाहिन भनेका थियौं । अहिले एउटा फर्म मात्र भर्ने व्यवस्था गरेर राहत दिइरहेका छौं । व्यक्तिलाई दिन सजिलो छ । सरकारले खर्च गर्न दुरुस्त राख्न फर्म भर्नुपर्छ । अहिले सबैभन्दा पीडित जनप्रतिनिधि छन् । वडा अध्यक्ष वडा सदस्यहरु १८ घण्टासम्म खट्नु भएको छ । काठमाडौंलाई क्रियाशिल बनाउन सहयोग गर्ने मजदुरलाई सहयोग गर्न हामी लागेका छौं । कसैलाई समस्या भयो भने हामी सहयोग गर्छौं ।

त्यसोभए काठमाडौंमा कोही पनि खान नपाउने अवस्था आउँदैन, होइन त ?

काठमाडौंमा कोही पनि खान नपाउने अवस्था सिर्जना हुँदैन । हामी कसैलाई पनि भोको हुन दिँदैनौं । कोही रहरले जान्छ भने अर्को कुुरा हो । हामीसँग सम्पर्कमा आउनु खान नपाउने अवस्था हामी हुन दिनेछैनौं ।

काठमाडौंलाई अब खुकुलो बनाएरआर्थिक गतिविधिलाई अगाडि बढाउन सकिन्छ । मजदुरहरु सबै घर गएमा यहाँ काम हुँदैन । अब विजुली पसल, हार्डवेयरका पसल, निर्माणका कामहरु विस्तारै खुकुलो बनाउनुपर्छ । कसैले उद्योग चलाउन चाहन्छ भने मजदुरलाई कारखानाभित्रै राखेर संचालन गर्नसक्छ ।

अहिलेसम्म कतिजना खान पाइएन भनेर महानगरको सम्पर्कमा आए ?

मलाई नै दिनमा ८ देखि १० जनाको फोन आउँछ । मैले वडा अध्यक्षलाई भन्ने गरेको छु । वडा अध्यक्ष र वडा सदस्यले काम गर्नु भएको छ । हामीले आजको आजै राहत दिएका छौं । अहिले मैले नचिनेको नम्बरमा समेत कलब्याक गर्ने छु । कलब्याक गरेर समस्यालाई समाधान गर्ने गरेको छु ।

अहिलेसम्म काठमाडौं महानगरले कतिजनाको कोरोना परीक्षण गर्यो ? विदेशबाट फर्केकाहरुको पहिचान कसरी गरिरहेको छ ?

महानगरले आफ्नो पहलमा ८ सय ५६ जनाको परिक्षण गरेको छ । आज पनि लैनचौरमा परीक्षण भयो । आफ्नो वडामा छुटेको भए अर्को वडामा गएर गर्न सकिन्छ । भोलि दिनमा पदमोदय स्कूलमा गर्छौं । पहिलो प्राथमिकता विदेशबाट फर्केकालाई दिएका छौ । अब जिल्लाबाट फर्केकाहरुलाई परिक्षण गर्छौं । हामीले सुरुमा माइकिङ गर्यौं । वडाहरुले स्वयंसेवक नै घरघरमा पठाउन लगाए । सुरुको दिनमा धेरै मानिसहरु विदेशबाट आएको भन्न पनि चाहनेनन् । अहिले छुटेको भन्दै आउनु भएको छ ।

स्वतफूर्तरुपमा आएका छन् । विगतमा हामीले विदेशबाट आउनेहरुलाई ठूलो अपराध गरेको जस्तो गरेकाले आउन चाहेनन् । अहिले सबैले जानकारी गराउनु भएको छ । जो विदेशबाट आएको व्यक्ति छ सबैभन्दा बढी डराउनुपर्ने उ हो । त्यसपछि परिवार र समाज हो । परिक्षण गराउदा आफु सुरक्षित हुने हुन्छ ।

क्वारेन्टाइनमा राख्ने व्यवस्था कसरी मिलाउनु भएको छ ?

हामीले क्वारेन्टाइनको व्यवस्था गरेका छैनौं । सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छौं । कसैलाई त्यस्तो संकेत देखिएमा प्रहरी र वडा कार्यालयमा सम्पर्क गर्न भनेका थियौं । अहिले काठमाडौंमा त्यस्तो संकेत देखिएको छैन । अब हामीलाई डर भनेको गाउँबाट काठमाडौं फर्कदा संक्रमण आउँछ कि भन्ने हो । हामीले त्यही भएर काठमाडौं नछाड्न भनेका हौं । अहिलेसम्म काठमाडौं सुरक्षित छ ।

विहीबार निजी क्षेत्रसँगको छलफलमा लकडाउनलाई खुकुलो गर्छौं भन्नुभयो । कसरी लकडाउन खुकुलो बनाउने ?

आवतजावत नगरेपछि सुरक्षित हुने देखिएको छ । काठमाडौंलाई अब खुकुलो बनाउन सकिन्छ । आर्थिक गतिविधिलाई अगाडि बढाउन सकिन्छ । मजदुरहरु सबै घर गएमा यहाँ काम हुँदैन । मजदुर भएनन् भने खुकुलो बनाएर केही हुँदैन । अहिले केही उद्योगहरु खुल्दैछन् । अहिले अरु सेवालाई विस्तारै खोल्दै जाने हो । अब विजुली पसल, हार्डवेयरका पसल, निर्माणका कामहरु विस्तारै खुकुलो बनाउनुपर्छ । कसैले उद्योग चलाउन चाहन्छ भने मजदुरलाई कारखानाभित्रै राखेर संचालन गर्नसक्छ । तर, ती मजदुरहरु आवतजावत गर्नु भएन । पहिलो काम संचालकले गनुपर्यो भएन भने हामी सहजीकरण गर्छौं ।

तपाईं निकै सक्रिय देखिनुभएको छ । राहत बाँड्ने क्रममा धेरैलाई भेट्नुभएको छ । कोरोनासँग डर लाग्दैन ?

घरमा मलाई पनि परिवारका सदस्यले किन बाहिर गएको भन्छन् ? घरभित्र छिर्ने बेला लुगा चेन्ज गरेर भित्र छिर्नुहोस् भन्छन् । म आफु सुरक्षित भएर घर जाने गरेको छु । अहिले स्थानीय तहका प्रतिनिधिले सबै काम गरेका छन् । राहतको लागि चामलको बोरा बोकेको छ । हामी मास्क लगाएर गइरहेका छौ । वडा अध्यक्ष र सदस्यहरुले राम्रो सेवा दिनु भएको छ । थप सुझाव आयो भने हामी त्यो पनि गर्ने छौ ।

काठमाडौं महानगरमा धेरै उद्योग व्यवसाय छन् । तपाईंले आफ्नो अधिकार प्रयोग गरेर कस्तो राहत दिनुहुन्छ ?

अहिले उद्योग व्यवसायीलाई राहत दिने समय आएको छैन । पहिला संघीय सरकारले बजेट ल्याउँछ । त्यसपछि प्रदेश सरकारले ल्याउँछ । त्यसपछि स्थानीय तहले ल्याउने हो । हामीले उद्योगी व्यवसायीलाई छलफल गरेर कस्तो खाले राहत दिन सकिन्छ त्यो बारेमा निर्णय गर्ने छौं ।

कति मान्छेले काठमाडौं छोडे होलान् ?

यति नै भन्ने तथ्याङक हामीसँग छैन । मैले कसैलाई तपाईंहरु काठमाडौं छोडेर जानु भनेको सिफारिस गरेको पनि छैन, आउनु भनेर भनेको पनि छैन ।

अहिले मन्त्रीज्यूले, सांसद ज्यूहरुले व्यवस्थापन गरेर जनतालाई गाँउ पठाइरहनु भएको छ । कतिपयले हामीलाई फोन गरेर उहाँहरुले आफ्नो मान्छे लैजानुभयो । हामीलाई लैजानु भएन भन्ने गुनासो दैनिक ८/१० वटा आउने गरेका छन् । हामीलाई पनि जाने व्यवस्था मिलाउनु पर्यो । जसले लगेको हो उहाँहरुले व्यवस्थापन गर्नुपर्छ । सीधै गाँउमा लैजाँदा अराजकता फैलन्छ । लकडाउनको अर्थ पनि हुँदैन ।

कतिपयले काठमाडौं आउनु पर्यो पास मिलाउनु भनेर पास मिलाईदिनु भनेर फोन आउने गरेको छ । अरुले गाडी पठायो तपाईले पनि गाडी पठाउनु पर्यो भनेका छन् । मैले कसैलाई पनि गाडी पठाउँदिन भनेको छु ।

काठमाडौं आउनुपर्यो भनेर भन्नेहरुको संख्या कति छ ?

धेरैको फोन त आएको छैन । काठमाडौं छोडेर जाने र आउने भन्ने खासै धेरै त छैनन् । हामीले घोषणा नै गरेका छौं कि तपाईहरु जहाँ हुनुहुन्छ त्यही बस्नुस् । एक ठाँउबाट अर्को ठाँउ जानु भनेको लकडाउनको कुनै अर्थ पनि हुँदैन । घरमा गाडी छ, चलाउन पाइएन पास चाहियो भन्छन् । तपाईंलाई चिनेको, मत दिएको जाबो एउटा पास दिन नसक्ने मेयर भन्छन् । मैले तपाईहरु अस्पताल जानु परेको खण्डमा २४सैं घन्टा एम्बुलेन्स तयार छ भनेको छु । त्यो एम्बुलेन्स सबैका लागि हो । सबैलाई पास दिने हो भने लकडाउनको अर्थ रहँदैन । लकडाउन मेयर, मन्त्री, प्रधानमन्त्री, प्रहरीको लागि मात्रै होइन । हामी सबैका लागि हो ।

अहिलेको असामान्य परिस्थितीको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

यसको लागि कतिपयय काम देखिनेगरी भएको छ । कतिपय नदेखिने गरी पनि भएको छ । हामीले सीसीएमसीसँग सल्लाह गरेर काम गरेका छौं । अहिले सुरक्षाका सबै निकाय, महानगरपालिकाका सबै निकाय, डाक्टरहरुसँग पनि सल्लाह गरेका छौं, कुन अवस्थामा के गर्ने भनेर । सुरुका दिनमा सुरक्षाका विषयमा, माइकिङलाई विशेष प्राथकिमता दिएका थियौं ।

अहिले कोरोना पोजेटिभ देखिएर जति उपचारमा हुनुहुन्छ, उहाँहरु सबैजना घर फर्किनुहुन्छ । सरकारले राम्रो व्यवस्था गरेको छ । अहिले कसैलाई भेन्टिलेटर राख्नु पर्ने अवस्था छैन । सबैले डाक्टरले दिएको सल्लाह अनुसार चल्नुपर्यो । जहाँ जहाँ संक्रमण देखिएको छ । त्यहाँ लकडाउन बढाउनुपर्छ । अन्य स्थानमा भने विस्तारै खुकुलो गर्दै लानुपर्छ ।

लकडाउनलाई महानगरबासिले कत्तिको सहयोग गरे जस्तो लाग्छ ?

९९ प्रतिशत महानगरबासीले लकडाउनको पालना गरेका छन् । महानगरमा ५०औं लाख बस्छन् । अहिले सडकमा छिटफुट देखिन्छन् । बाहिर निस्कनेमा मजदुर अलि बढी छन् । एउटै कोठामा लामो समय हावा समेत नछिर्ने कोठामा बस्नेहरु उकुसमुकुस भएकाहरु बाहिर निस्केको जस्तो देखिएको छ ।

उपत्यकामा आन्तरिक लकडाउनलाई सहज बनाउने विषयमा केन्द्रिय सरकारसँग कसरी समन्वय गरिरहनुभएको छ । केन्द्रिय सरकारको राय के छ ?

यसका लागि हामी विभिन्न मन्त्रालयका मन्त्रीज्यूहरुसँग बैठक गरिरहेका छौं । सबै सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी, महानगरपालिकाको रिपोर्ट हेरर आन्तरिक लकडाउनलाई केही खुकुलो बनाउने भन्ने विषयमा पुगेका हांै । हामीले दैनिकरुपमा हामीले ३२ वटै वडाको रिपोर्ट मन्त्रालयमा पठाउने गरेको छ । हामी मन्त्रीज्यूहरुसँग पनि कुरा गरिरहेका छौं ।

महानगरले कतिको र्यापिड टेस्ट गरेको छ, कतिलाई राहत दिएको छ । अहिले वडा अध्यक्ष र सुरक्षा निकायको भनाइमा केही तादतम्यता नमिलेको जस्तो पनि देखिएको छ । वडा अध्यक्षले खोल भन्ने, सुरक्षा निकायले बन्द गर भन्ने कुरा पनि आएको छ । त्यो भएपछि हामीले संयुक्त रुपमा बैठक पनि बस्यौं । स्थानीय प्रशासनले अगुवाई गर्ने र प्रहरी प्रशासनले त्यसलाई समन्वय गर्ने हो । त्यही अनुसार बजारको व्यवस्था गरेका छौं । कतै दिनभर, कतै बिहान, कतै बेलुका खुलेको भएर सबै मिलेर सहजिकरण गरेका छौं । त्यसको सबै रिपोर्ट मन्त्रीज्यूलाई पनि गएको छ । सबैकुरा प्रधानमन्त्रीलाई भनेर सम्भव हुँदैन ।

कोरोनाको त्रास र लकडाउनको व्यवस्थापन गर्न के कुराको अभाव भइरहेको छ ?

यो विशम परिस्थितीमा सबै दल एक पनि हुनुपर्छ । यो बेला भनेको जिते देशले जित्ने, हारे देशले हार्ने बेला हो । यो बेला हामीसँग जनशक्ति छ सामग्री छैन । सुरुका दिनमा पीपीसी, मास्क नभएर समस्या भएको थियो । नीजि क्षेत्र, सरकारले ल्याएर सहज भएको छ । अहिले विदेशमा भएकालाई पनि नेपालमा ल्याउने कुरा भएको छ । मानविय नाताले ठिकै हो ।

हामीले घोषणा नै गरेका छौं कि तपाईहरु जहाँ हुनुहुन्छ त्यही बस्नुस् । एक ठाँउबाट अर्को ठाँउ जानु भनेको लकडाउनको कुनै अर्थ पनि हुँदैन । घरमा गाडी छ, चलाउन पाइएन पास चाहियो भन्छन् । तपाईंलाई चिनेको, मत दिएको जाबो एउटा पास दिन नसक्ने मेयर भन्छन् । मैले तपाईहरु अस्पताल जानु परेको खण्डमा २४सैं घन्टा एम्बुलेन्स तयार छ भनेको छु ।

तर सबै मान्छे नेपालमा ल्याउने हो भने व्यवस्थापनको पाटोलाई पनि हेर्नुपर्छ । भन्ने सजिलो छ । विदेशमा नेपाली विचल्लीमा छ, सरकारले प्लेन चार्टर्ड गरेर ल्याउनु भनिरहेका छन् । ल्याएपछि व्यवस्थापनका चुनौती छ । त्यसकारण जो जहाँ हुनुहन्छ उहाँहरु त्यही नै बस्ने हो । अहिले हामीले काठमाडौंमा हुनेको मात्रै होइन बाहालमा बस्ने, विदेशबाट आउनेलाई पनि हेर्छौं भनेका छौं । त्यसैले हामी जो जहाँ छौं त्यही बसौं ।

सरकारले घरबेटीलाई भाडा नलिन आग्रह गरेको छ, त्यसलाई महानगरले कसरी सहजिकरण गर्छ ?

केन्द्रिय सरकारले अनुरोध गर्ने भनेको छ । त्यो भनेको दुईपक्षको निर्णय हो । अब लकडाउन खुलेपछि पसल खुलेपछि त्यस्ता खालका गुनासो आउलान् अहिले त्यस प्रकारका गुनासाहरु आएका छैनन् । कसले कति समयको लागि छुट दिने भन्ने हो ? आपसी सल्लाहको विषय हो । कतिपय ठाँउमा घरबेटीले नै खानपिनको व्यवस्थापन गरिरहेका छन् । यसमा हामीले समन्वय गर्ने मात्रै हो । छुट दिने घरबेटीलाई के गर्ने भन्ने विषयमा छलफल गर्ने छौं ।

यो विशम परिस्थितीमा काठमाडौं कसरी सुरक्षित रह्यो ?

काठमाडौंमा झण्डै शतप्रतिशत मान्छेले लकडाउन कार्यान्वयन गरे । काठमाडौंंमा त सरकारले लकडाउन गर्नु भन्दा पहिला नै लकडाउन गरांै भनेर जनताले नै भन्न थाल्नु भएको थियो । समयमा नै लकडाउन नगरेको खण्डमा विदेशीले पाएको दुख हामीले भोग्नु परेमा हामीले थेग्न सक्दैनौं, त्यसको व्यवस्थापन गर्न सक्दैनौ भनेर जनताले भनेपछि जनताको माग सरकारले सम्बोधन गरेको हो । जसकारण धेरै जनता खुशी छन् ।

कतिपय मान्छे कोठामा मात्रै बस्दा हावा खान पाइएन भनेर बाहिर निस्कने पनि छन् । खान नपाएको भन्दा पनि घुम्न नपाएको भनेर दुख मान्ने धेरै छन् । उहाँहरुले पनि थोरै समय धैर्यता गरे पुग्छ । कोरोनाको विरुद्ध एकजुट हुनुपर्छ भनेर सबै जनप्रतिनिधि पनि एक भएर लाग्यौं । खाद्यान्न पसल, औषधी पसलमा सामाजिक दुरी कायम भएको छ । सुरुमा नियन्त्रण गर्न नसेपनि अहिले बुझाउँदै गएपछि सहज भएको छ । अब काठमाडौं बाहिरबाट आउनेहरुलाई स्वास्थ्य परिक्षण गरेर निरोगी भएको मान्छेमात्रै भित्र्याउने हो भने काठमाडौं त्यो बेला झनै सुरक्षित रहन्छ ।

कोरोना प्रभावितलाई महानगरकोतर्फबाट केही राहत प्याकेज छ ?

सरकारले भन्दा पनि पहिला हामीले १० करोड रुपैयाँको कोष स्थानपना गरेका थियौं । त्यो रकम हामीले उपचारमा खर्च गर्ने भनेका थियौं । कुनै एकजना संक्रमित भएको खण्डमा उसको परिवारलाई आर्थिक बोझ नहोस् भनेर कोषको स्थापना गरेको हो । कोही संक्रमित भएको खण्डमा महानगरले त्यो खर्च व्यहोर्छ ।

महानगरबासीलाई के सुझाव दिनुहुन्छ ?

महानगरबासीलाई पहिला त धन्यवाद दिन्छु । उहाँहरुले सरकारको, महानगरको अनुरोधलाई स्विकारेर लकडाउन सफल भएको छ । केही समय घरमा धैर्यताकासाथ सुरक्षित बसौं । आफू पनि सुरक्षित बनौं र अरुलाई पनि सुरक्षित रहन सुझाव दिऔं ।

तपाईं मेयरमा निर्वाचित भएको ३ वर्ष पुगिसकेको छ । आफ्नो कार्यकाललाई कसरी मूल्याङकन गर्नुहुन्छ ?

यो विषयमा फेरि बसेर छलफल गरौंला । यस विषयमा कुरा गर्ने उपयुक्त समय होइन अहिले । यो बेला सबैको ध्यान अन्तैतिर छ । अहिले हामी जनताको सेवामा सक्रिय छौं । कोरोनाका कारण कसैले समस्या भोग्न नपरोस् । यो बेला महानगरबासीले आफ्नो स्वास्थ्यमा ध्यान दिन आवश्यक छ । स्वास्थ्य रहेको खण्डमा कमाउन सकिन्छ । यो बेला कसैलाई पनि कोरोना, भोक, आत्माबल गिराएर नैराश्यताको मर्न नदिने हाम्रो योजना रहेको छ । जनतामा नैराश्यता आउन नदिने र उनीहरुको आत्मबल जगाउनेतर्फ लागेका छौं ।


पुष्प दुलाल