निर्जीवन बीमा कम्पनीले कृषि क्षेत्रमा १० अर्ब लगानी गर्न सक्छन्ः दिपप्रकाश पाण्डे



कोराना भाइरस (कोभिड १९)ले बैदेशिक रोजगारीमा गएका नेपालीहरु फर्केर आउने पक्का छ । बैदेशिक रोजगारीमा गएकाहरुलाई हामीले कुन क्षेत्रमा रोजगारी दिने अबको एउटा चुनौती यो हुनेछ । पूर्वाधार क्षेत्रमा हामीले बढाउने लगानीले रोजगारी सिर्जना गर्नसक्छ । यसरी बैदेशिक रोजगारीमा फर्कनेहरु अब दक्ष भएर फर्केका हुन्छन् ।

अर्को भनेको कृषि नै हो ।

नेपाल कृषि प्रधान देश हो । तर, वार्षिक अर्बौंका कृषि वस्तु आयात गरिरहनु परेको छ । बैदेशिक रोजगारीले हामीले कृषिलाई धेरै नै उपेक्षा गर्यौं । जसले गर्दा कृषि वस्तुको आयात अत्याधिक नै बढ्यो । केही क्षेत्रमा पछिल्लो समयमा कृषिमा राम्रा काम भएका छन् । त्यो स्याउ खेतीमा होस् या केरा नै खेती होस् या तरकारी नै खेती किन नहोस् ।

तर, कृषिमा फाइदा किसानले पनि उठाएको छैन । उपभोक्ताले पनि उठाएको छैन । यसको फाइदा बिचौलियाले मात्र उठाएको छ । अबको काम भने कृषिलाई संस्थागत गर्नुपर्यो ।

यसको लागि जग्गाको कसरी प्रयोग गर्ने त्यसको स्पष्ट खाका हुनुपर्यो । जग्गा खण्डिकरण भएको छ जसले गर्दा प्रयोग गर्न निकै नै कठिनाइ रहेको छ । मान्छेले आफुले चलाउन चाहन्छ भने उसलाई पहिलो प्राथमिकता दिनुपर्यो । कम्पनीहरुले चाहेका छन् उसलाई भाडा कति लाग्ने हो । सरकारले निर्धारण गरेर कम्पनीलाई खेती गर्न दिनुपर्यो ।

हाम्रोमा अहिलेसम्म कन्ट्र्याक फार्मिङको ऐन छैन । सरकारले कानून बनाउन चाहेमा रातारात बनाएजस्तो कृषिको लागि यो कानून बनाउनुपर्यो । जसले गर्दा जग्गालाई एकीकृत गर्न सजिलो हुन्छ । आजको दिनमा कृषिमा प्रविधिको प्रयोग भएको छैन भने यसमा काम गर्ने कामदारको अभाव थियो । अबको दिनमा बैदेशिक रोजगारीबाट फर्कने कामदारले गर्दा कामदारको अभाव हुँदैन ।

कृषिलाई अब पूर्णरुपमा व्यवसायिक लगानीबाट अगाडि बढाउनुपर्छ । यसको लागि पूँजी नै चाहिन्छ । यसमा निर्जीवन बीमा कम्पनीनै कम्पनी खोलेर कृषिमा लगानी गर्न सक्छन् । उदाहरणका लागि पुस मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ४२ अर्ब लगानी गरेका छन् । त्यसको २५ प्रतिशतसम्म लगानी गर्दा बीमा कम्पनीहरुले संयुक्तरुपमा १० अर्ब रुपैयाँ कृषि क्षेत्रमा काम गर्नको लागि कम्पनी नै खोल्न सक्छन् ।

बीमा कम्पनीले सहायक कम्पनी खोलेर कृषिमा काम गर्न सकिन्छ । हाम्रो नेटवर्थको ३० प्रतिशतसम्म लगानी गर्न सक्छौं । हाम्रो देशमा कृषिमा ठाउँ अनुसार फरक उत्पादन बढाउन सकिन्छ । चियाको लागि एउटा क्षेत्र छ भने उखुको अर्को बेल्ट ।

कृषि उत्पादन बढाउनको लागि अहिलेसम्म कर्पोरेट क्षेत्रमा लगानी नै भएन । अब यो क्षेत्रमा लगानी बढाउनको लागि र कृषि उत्पादन नै बढाउनको लागि बीमा कम्पनीहरुले काम गर्न सक्छन् । अझ जीवन बीमा कम्पनीहरुसँग भएको फण्ड निर्जीवन कम्पनीसँग ठूलो छ । त्यो रकम नै लगानी गरेर सहायक कम्पनी खोलेर कृषिमा लगानी गर्न सकिन्छ ।

सहायक कम्पनीले आफ्नो तरिकाले काम गर्छ । अहिले शिखर इन्स्योरेन्सले निम्बससँग मिलेर एउटा ४० करोडको कम्पनी भण्डारण स्टोर गर्ने कम्पनी खोलेका छ । आजको दिनमा उत्पादन भएपछि त्यसको स्टोरेजमा समस्या छ । यस्तै शितगृह निर्माणको लागि अहिले अध्ययनको क्रममा रहेको छ ।

विगतमा कृषिमा ठूलो लगानीमा काम गर्नको लागि जग्गा नै प्रमुख समस्या देखिएको थियो । अहिलेपनि यो नै ठूलो समस्या हो । यसबाहेक कामदार ठूलो समस्या छ । उत्पादनलाई बजारसम्म लग्नको लागि हामी आफैले नै काम गर्न सक्छौं ।

बीमा कम्पनीहरुलाई कृषिमा लगानी गर्नको लागि नीतिगत व्यवस्थामा परिवर्तन गर्नुपर्ने हुन्छ । अहिले आफ्नो नेटवर्थको कम्तीमा २० प्रतिशतसम्म कृषि क्षेत्रमा लगानी गर्नसक्ने नीति परिवर्तन समितिले गर्नुपर्ने हुन्छ । यस्तै प्राविधिक विषयको लागि कृषि मन्त्रालयले लगानी गर्ने वातावरण बनाउनुपर्यो । हाम्रोमा सबैभन्दा बढी लगानी भएको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भएपनि यसको आउटपुट गतिलो देखिएको छ । अब यो क्षेत्रमा भएको लगानीबाट आउटपुट देखिनुपर्छ ।

बैदेशिक रोजगारी अब हाम्रो गुम्दैछ । नेपालीहरुले विदेशमा कति तलब पाएका थिए । त्यसको अध्ययन हुनुपर्यो । त्यो आफ्नै देशमा बस्दा कतिसम्म तलब दिएमा यहा राख्न सकिन्छ भन्ने सोच आउनुपर्यो । त्यो हुँदा कृषि क्षेत्रमा काम दिन सकिन्छ ।

सरकारले हामीलाई कति ठाउँमा जग्गा दिनसक्छ त्यो आधारमा लगानी हुने र रोजगारी सिर्जना हुने हो । यसबाहेक कृषिमा प्रविधि भित्र्याउनको लागि सजिलो हुन्छ । यस्तै किसानको लागि बजारको पहुँच दिन सकिन्छ । सरकारले नीति नियमहरु लगानीमैत्री बनाएमा कृषिमा लगानी बढ्नसक्छ । अबको सोच कृषिसँगै योसँग सम्बन्धित उद्योगको विकास समेत हो । जस्तो हाम्रोमा कोल्डस्टोर छैन ।

निर्जीवन बीमा कम्पनीले कोल्डस्टोरमा लगानी बढाउन सक्छ । हामीले अबको दिनमा कृषिमा अग्र्यानिक खेतीलाई नै जोड दिनुपर्छ । हाम्रोमा भएको जैविक विविधिता छ । त्यो अनुसार कृषिमा जोड दिनुपर्छ । जस्तो नेपालमा उत्पादन भएको सुन्तला कोल्डस्टोर नभएको कारण सकिन्छ । बजारमा भने विदेशबाट सुन्तला आयात भएको हुन्छ । यस्ता कोल्डस्टोरहरुमा बीमा कम्पनीले नै लगानी गर्न सक्छन् ।

अब आउने जनशक्तिलाई अध्ययन गरेर त्यो अनुसार लगानी गर्न सकिन्छ । हाम्रो क्षेत्रमा धेरै ठूलो लगानी नहुनसक्छ । तर, नीति बनाउने हो लगानीको लागि स्रोतको अभाव हुँदैन ।

कृषिको व्यवसायिकरणको लागि चालिएका केही कदमले नै अहिलेको यो स्थितीमा काठमाडौं उपत्यकामा नै तरकारीहरु महंगो भएको छैन । यहा लगानी भएको र उत्पादन भएको कारण नै यो सम्भव भएको हो ।

कृषिको लागि अब पुरानो मोडलले मात्र चल्दैन । पुरानो तरिका एउटा तरिकाले निरन्तरता पाएपनि नयाँ तरिकाको लगानी र प्रविधि कृषिमा हुनुपर्छ । विदेशबाट फर्कने नेपालीलाई हामीले देशभित्र रोजगारी दिन सक्छौं कि सक्दैनौं भन्ने ठुलो चुनौती हो ।

यसबाहेक यसरी फर्कनेहरुको लागि पनि कृषिमा काम गर्नको लागि प्रोत्साहनको नीति लिनुपर्छ । (कुराकानीमा आधारित)


पुष्प दुलाल