कोरोना संक्रमित बाग्लुङकी युवतीको स्वास्थ्यमा सुधार, मानसिक तनाव बढेपछि परामर्श दिइँदै



काठमाडौं । नेपालमा कोरोना भाइरसको ५औं संक्रमित बाग्लुङकी १९ वर्षीया एक युवतीको स्वास्थ्य सुधारात्मक छ । उनलाई चैत १५ गते कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

बागलुङ नगरपालिका ४, कुँडुलेकी ती युवती परिवारलाई भेट्न करिब २ महिनाअघि बेल्जियम गएकी थिइन् ।

स्वास्थ्य मन्त्रालयले गत चैत ४ गतेको बेल्जियमबाट कतार ट्रान्जिट हुँदै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी ती युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएपछि उनलाई धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरेको थियो ।

अस्पताल लैजाने समयमा उनीलाई सामान्य खोकीमात्रै लागेको थियो ।

अस्पतालले त्यहीँको क्वारेन्टाइनमा बस्न आग्रह गरेपनि स्वास्थ्य अवस्था समान्य रहेको भन्दै होम क्वारेन्टाइनमा बस्ने भनेर थ्रोट स्वाव मात्रै दिएर उनी घर फर्किएकी थिइन् ।

कोरोना भाइसबाट बच्ने हो भने खानपिनमा यसरी सतर्क रहनुहोस्: के खाने, के नखाने ?

थ्रोट स्वाब परीक्षणको रिपोर्टमा कोभिड १९ पोजेटिभ देखिएपछि धौलागिरी अञ्चल अस्पतालका टोली चैत १६ गते उनको घरमै पुगेर ल्याएको थियो ।

आफूलाई कोरोना भाइरसको संक्रमण भएको थाहा भएपछि उनी अत्यधिक रोएको र आफन्त र साथीसँग समेत कुरा गर्न छाडेको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।

कोरोना भाइरसको लक्षण र बच्ने उपायबारे थाहा पाउनुहोस् (भिडियो)

अस्पतालमा आइपुग्दा संक्रमित युवती शारीरिकरुपले भन्दा पनि मानसिकरुपमा विक्षप्त भएको धौलागिरी अञ्चल अस्पतालका डाक्टर शैलेन्द्र बिके पोख्ररेलले बताए ।

‘उनलाई सामान्य खोकीभन्दा अन्य शारीरिक समस्या केही थिएन,’ डा. पोखरेलले क्लिकमाण्डूसँग भने ‘शारीरिक अस्वस्थ्यताभन्दा मानसिकरुपमा उनको स्वास्थ्य धेरै बिग्रिएको थियो ।’

सोधेको प्रश्नको जवाफ पनि दिन नसक्ने अवस्थामा उनी त्यो समयमा थिइन् । अस्पतालमा भर्ना गरेको २ दिनमै स्वास्थ्यमा सुधार देखिन थालेको उनले बताए ।

कोरोना भाइरसको आयु कति, कसरी फैलिन्छन् भाइरस ?

‘आइसोलेसनमा भर्ना गर्दा पनि उनलाई खोकी मात्रै थियो, आजको दिनसम्म पनि ज्वरो आएको छैन, त्यसैले सामान्य खोकीको औषधि मात्रै दिइरहेका छौं,’ उनले भने ।

तर उनलाई मानसिक उपचारका लागि मनोचिकित्सकले दैनिकरुपमा काउन्सिलङ गर्दै आएको उनले बताए ।

‘दैनिक मनोपरामर्श दिएको कारणले उनी आफै इच्छाएको खानेकुरा माग गर्छिन,’ डा. पोख्ररेलले भने ‘पहिले अस्पतालले दिएको खान पनि खान नमान्ने बिरामी अहिले विभिन्न प्रकारका फलफुल खान्छु भन्न थालेकी छन् ।’

जंगली जनावरबाट कोरोना भाइरस कसरी आइपुग्यो मान्छेसम्म ?

शरीरमा न्यून रोग प्रतिरोधात्मक क्षमता भएको व्यक्तिलाई यो भाइरसले बढी संक्रमण गर्ने हुँदा हाल रोगको औषधि मानसिक स्वाच्छता र रोगप्रतिरोधात्मक क्षमता बढाउने प्रयत्न नै रहेको उनको भनाइ छ ।

चैत १६ गते धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना भएकी ती युवतीको स्वास्थ्यमा क्रमिक सुधार आएपछि अस्पतालले मंगलबार उनको थ्रोट स्वाब परीक्षणका लागि काठमाडौं पठाएको छ ।

थ्रोट स्वाब परीक्षणको रिपोर्ट आएपछि उनको शरीरमा कोरोना भाइरसको मात्रा कति छ भनेर थाहा हुने अस्पतालका डाक्टर पोख्ररेलले बताए ।

‘थ्रोट स्वाब परीक्षणको रिपोर्ट आउन नै ३/४ दिन लाग्छ, रिपोर्ट नेगेटिभ आएमा त्यसको २४ घण्टामा तेस्रो थ्रोट स्वाब परीक्षणको लागि पठाउँछौँ, तेस्रो थ्रोट स्वाब पनि कोरोना नेगेटिभ आए उनलाई घर पठाइनन्छ,’ उनले भने ।

हाल धौलागिरी अञ्चल अस्पतालले कोरोना संक्रमित युवतीको उपचारमा ४ जना नर्स र ५ जना डाक्टर खटाएको छ ।
अट्याज ट्वाइलेट बाथरुम भएको छुट्टै आइसोलेसन वार्डमा युवतीको उपचार भइरहेको छ । अस्पतालमा कोरोना भाइरसको उपचारका लागि भने पर्याप्त औजार नभएको अस्पतालका डा. पोख्रलेरको भनाइ छ ।

के कोरोना भाइरस हावाबाट सर्छ ? यसो भन्छ विश्व स्वास्थ्य संगठन

अस्पतालमा हाल कोरोना भाइरसको उपचारका लागि यस्ता प्रकारका ४ वटा आइसोलेसन वार्ड छन् ।

सम्बन्धित जिल्लामा क्वारेन्टाइनमा रहेका बिरामीहरुलाई कोरोनाको संक्रमण देखिएमा ४ जनासम्मलाई अस्पतालले उपचार गर्न सक्छ ।

हालसम्म कोरोना भाइरसको औषधि पत्ता नलागेको हुँदा संक्रमितलाई जुन रोगको लक्षण देखिन्छ सोही रोगको औषधी दिइने पोख्ररेलले बताए ।

‘बिरामीलाई सबैभन्दा पहिला मनोपरामर्शको आवश्यकता पर्छ’ उनले भने ‘त्यसपछि ज्वरो, खोकी वा श्वासप्रश्वासलगायत अन्य जुन रोग देखिन्छ सोहीको औषधी प्रयोग गरिन्छ ।’

अवस्था अनुसार संक्रमितलाई औषधि चलाउँदै मनोपरामर्श दिएर सामान्य अवस्थामा ल्याइने उनको भनाइ छ ।


पुष्प दुलाल