१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि ल्याइएको थियो नेपाल, मर्मतअघि १२१ घण्टा मिल्थ्यो उड्न



काठमाडौं । उड्डयन इतिहासमा २१ वर्षदेखि उडिरहेको भए पनि बुधबार बिहान दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज नेपालमा भने ६ वर्षअघि मात्रै भित्रिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिरकणले उडान योग्य अवस्थामा रहेको यो जहाज प्राविधिक कमजोरीबाट दुर्घटना नभएको र मर्मत नभएको पुरानो जहाज नभएको स्पष्ट पारेको छ ।

सौर्य एयरलाइन्सको जहाज मर्मत गर्ने ह्याङ्गर पोखरामा छ । पोखरामा नै इन्जिन बाहेकको सबै जाँच (सीचेक) गर्ने गरी जाँदै गरेले उक्त जहाजले बुधबार व्यवसायीक उडान गरेको थिएन ।

दुर्घटनाग्रस्त सौर्य एयरको ९ एन एएमई जहाज नियमित परीक्षणमा जाँदै गरेकोले कर्मचारी र एयरक्राफ्ट इन्जिनियरसहितको टोली लिएर जाँदै थियो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जहाज पुरानो भएर दुर्घटना भएको भन्ने गलत हल्ला आइरहेको बताए ।

यो जहाजलाई प्राधिकरणले २६ अप्रिल २०२४ मा दिएको एयर वर्दिनेस(उडानका लागि उपयुक्त) सर्टिफिकेट अनुसार यो जहाज १७ अप्रिल २०२५ सम्म उडान योग्य थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने बित्तिकै दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान ९ एन–एएमईका रुपमा दर्ता छ । बम्बार्डियर सीआरजे २०० सिरिजको यो जहाज २१ वर्षदेखि नियमित उडानमा प्रयोग हुँदै आएको छ ।

बम्बार्डियर सीआरजे २०० सिरिजको यो जहाज क्यानडाको मोन्ट्रियलमा एमएचआइजे आरजे एभिएसन युएजीले बनाएको हो ।

४ वर्ष अमेरिकामा उडेको यो जहाज एट्लान्टिक कस्ट एयरलाइन्सले मे २००३ मा किनेको थियो । यसको स्वामित्व अगस्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एयरले लिएको थियो ।

२००७ जुनसम्म इन्डिपेन्डेन्स एयरले उडाएको यो विमान त्यसपछि नाइजेरियाको एरिक एयरले किनेर उडाएको थियो । त्यसपछि एक वर्षमै बिक्री भएको यो जहाज अप्रिल २००८ मा दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेसले किनेर १० वर्ष उडायो ।

सन् २०१७ जनवरीमा अमेरिकाको लिजिङ कम्पनी एरोलिजले विमान किन्यो । मार्च २०१७ मा सौर्य एयरलाइन्सले यसलाई खरिद गरेर नेपाल ल्याएको थियो । सौर्यले यो विमान उडाउन थालेको ६ वर्ष भइसकेको थियो । सौर्यले लिएपछि यसको कलसाइन ९ एन–एएमई भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै दुर्घटनामा परेको उक्त जहाजमा चालक दलका सदस्य सहित १९ जना थिए । जसमध्ये चालक मनिषरत्न शाक्य घाइते छन् । घाइते शाक्यको सिनामंगलस्थित केएमसीमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

५० तस्बिरमा हेर्नुस्, एयरपोर्टभित्रै दुर्घटनामा परेको सौर्य एयरको विमान

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

उड्नासाथ यसरी दुर्घटनामा परेको थियो सौर्य एयरको विमान (भिडियो)

एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)

दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)

१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)


क्लिकमान्डु