राष्ट्र बैंकले माग्यो आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव, तपाईंको के छ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि सुझाव मागेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गरी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि आफ्ना राय सुझाव पेश गर्न अनुरोध गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षको बजेत प्रस्तुत गरेसँगै राष्ट्र बैंक मौद्रिक नीति तुुर्जमाका लागि अघि बढेको हो । राष्ट्र बैंकको व्यवस्थाअनुसार मौद्रिक नीति आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र ल्याइसक्नुपर्ने छ । जसअनुसार करिब ७ हप्ताअघि नै केन्द्रीय बैंकले मौद्रिक नीति तर्जुमा गर्ने प्रक्रिया अघि बढाएको हो ।

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनमार्फत् सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति ५.५ प्रतिशतमा सिमित राख्ने लक्ष्य राखेको छ । सोही उपलब्धि हासिल हुने र वित्त नीतिसँग तादात्म्यता कायम हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति तयार पार्न लागेको हो ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँचौं तथा अन्तिम मौद्रिक नीति हो । उनको कार्यकाल यसैवर्षको चैत अन्तिममा सकिँदै छ । अधिकारी पछिल्लो चरणमा आफ्नो कार्यकालमा गरेको गल्ती सच्याउने क्रममा छन् । सो क्रममा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा निकै लचिलो प्रस्तुत भएका थिए ।

सत्तामा नेकपा एमाले सामेल भएलगत्तै उनको टोन पनि फेरिएको छ । अधिकारीको तालमेल अर्थमन्त्री वर्षमान पुनसँग निकै मिलिरहेको देखिन्छ । उनले मौद्रिक नीति खुला भएर निकै लचिलो ल्याउने उद्घोष गरिसकेका छन् ।

सरकारले बजेटमार्फत् अंगिकार गरेको वित्त नीति न त कसिलो न त लचिलो रहेकाले राष्ट्र बैंकलाई लचिलो मौद्रिक नीति तर्जुमा गर्न बाटो पनि खुलेको छ । यद्यपि केन्द्रीय बैंकले आव २०७९/८० को मौद्रिक नीतिको नेस्रो त्रैमासिक समीक्षामार्फत् सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशा तय गरेको थियो । सोहीलाई निरन्तरता दिँदै चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पनि भइसकेको छ ।

यही परिवेशमा राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीतिमा सुझाव मागेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा व्यवस्था भएबमोजिम केन्द्रीय बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकामा आगामी आवका लागि राय सुझाव पेश गर्न सरोकारवाला तथा सर्वसाधारणलाई अनुरोध गरिएको हो ।

मौद्रिक नीतिमाथिको सुझाव केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभाग, वालुवाटारमा दिन सकिन्छ वा mयलभतबचथउयष्अिथ२लचद।यचन।लउ मा पनि पठाउन सकिन्छ ।

जानकारहरु आगामी आवको बजेटले खुकुलो मौद्रिक नीतिका लागि बाटो खोलिदिएको बताउँछन् । राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्री बजेटको आकार गत आवकै बराबरको भएकाले राष्ट्र बैंकसँग अर्थतन्त्र विस्तार गर्ने पर्याप्त ‘स्पेस’ रहेको बताउँदै अब मौद्रिक नीति कसिलो बनाइराखेर कर्जामा नियन्त्रण गरिराख्नु आवश्यक नरहेको बताउँछन् ।

अर्का पूर्वगभर्नर डा. चिरिञ्जिवी नेपाल लचिलै मौद्रिक नीति आउनेमा विश्वस्त छन् । डा. नेपालका अनुसार बैंकिङ क्षेत्रमा तरलता पर्याप्त छ र सो रकम लगानी गर्न मिल्ने बाटो खोलिदिनुपर्ने आवश्यकता छ ।

पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न लचिलो मौद्रिक नीति अबलम्बन गरिनुपर्ने तर मुद्रास्फीति दर ५.५ मा सिमित गर्न कसिलो नीति ल्याउनुपर्ने बताउँछन् । उनका अनुसार केन्द्रीय बैंक वित्तीय क्षेत्रको स्थावित्व कायम गर्ने मौद्रिक नीति बनाउन तल्लीन हुनुपर्ने छ ।


क्लिकमान्डु