३ दिनदेखि नागढुङ्गामा आन्दोलन जारी, सुरू निर्माण कार्य ठप्प

602
Shares

काठमाडौं । स्थानीयबासीको आन्दोलनका कारण आज तेस्रो दिन पनि नागढुङ्गा– सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पूर्ण रुपमा ठप्प छ ।

विभिन्न ८ सुत्रीय माग राखेर नागढुङ्गा– सिस्नेखोला सुरुङ्ग मार्ग प्रभावित क्षेत्र खानेपानी उपभोक्ता समितिले आइतबारदेखि निर्माण क्षेत्रमा भरदिन धर्ना दिएर आन्दोलन गर्दैआएका छन् । यो आन्दोलनसहित स्थानीयवासीले करिब एक दर्जन पटक विभिन्न माग राखेर आयोजनास्थलमा आन्दोलन गरिसकेका छन् ।

धर्ना आन्दोलनका कारण सुरुङ्ग मार्गको भइरहेको ढलान र सडक कालोपत्रे गर्ने लगायतका काम रोकिएका छन् ।

नागढुङ्गा– सिस्नेखोला सुरुङ्ग मार्ग आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सन्जय पन्थीका अनुसार आन्दोलनका कारण इभ्याकुएसन टनेलको भुईंमा भइरहेको ढलान कार्य र सडकमा भइरहेको कालोपत्रे गर्ने काम पूर्ण रुपमा ठप्प भएको छ । यो आयोजनाले अहिलेसम्म ९२ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।

प्रभावित क्षेत्रलाई दीर्घकालिन रुपमा पानी उपलब्धता, सञ्चालन, मर्मत सम्भारलगायतको जिम्मेवारी सरकारले लिनुपर्ने प्रमुख माग राखेर स्थानीयवासीले आन्दोलन गर्दै आएका छन् ।

आयोजनाले आफ्नै खर्चमा बोरिङ्ग जडान गरी अहिले आफ्नै खर्चमा सञ्चालन, मर्मत सम्भारका साथै पानी वितरण गर्ने काम गर्दै आएको छ । तर स्थानीयबासीले यसको दीर्घकालीन रुपमा सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग राखेर आन्दोलन गर्दै आएका हुन् ।

आयोजनाले यो विषयमा स्थानीय नगरपालिकासँग सम्झौता गरेपनि स्थानीयवासीले पछि नगरपालिकाले पानीको उपलब्धता, मर्मत सम्भारमा चासो नदिने र पानी वापत रकम असुल गर्ने भन्दै आन्दोलन गरेका हुन् ।

Skip This