झापाको पाँचतारे किंग्सबरी होटल करिब २ अर्बमा बिक्यो, किन्ने रवि धिताल को हुन् ?

विराटनगरमा ४ अर्ब लगानीमा नयाँ किंग्सबरी खुल्ने

54.3k
Shares

विराटनगर । कोशी प्रदेशमा सञ्चालनमा रहेका ३ वटा पाँच तारे होटलमध्ये झापाको बिर्तामोडमा सञ्चालित होटल किंग्सबरी बिक्री भएको छ ।

प्रकाश गौतमको स्वामित्वमा रहेको उक्त होटल क्यासिनो व्यवसायी रवि धिताले करिब २ अर्ब रुपैयाँमा खरिद गरेका हुन् । यो बाहेक झापाको काँकरभिट्टामा मेची क्राउन पाँचतारे होटल पनि सञ्चालनमा छ ।

किंग्सबरी होटल गत डिसेम्बर सुरुदेखि धिताल समूहले सञ्चालन गर्दै आएको छ । ‘हामीले किंग्सबरी होटल १ अर्ब ९५ करोड रुपैयाँमा खरिद गरेर सञ्चालन गर्दै आएका छौं,’ धिताल समूहका एक सञ्चालक अनुप धितालले क्लिकमान्डुसँग भने, ‘दुई-चार दिनमा बोर्ड बैठक बसेर सबै स्वामित्व धिताल समूहका नाममा सार्ने तयारी भइरहेको छ ।’

उनकाअनुसार पुराना सञ्चालक गौतमको केही प्रतिशत सेयर किंग्सबरीमा अझै बाँकी छ । नयाँ सञ्चालक धिताल बिर्तामोड, भैरहवा र भारतको गोवामा क्यासिनो व्यवसाय गर्दै आएका व्यक्ति भएको बताइएको छ ।

गौतमले बिर्तामोडको किंग्सबरी होटल बिक्री गरेर विराटनगर बसपार्क नजिक किंग्सबरी नामकै पाँच तारे होटल निर्माण सुरु गरेका छन् । त्यसका लागि गौतमले होटल रत्नासँग जोडिएको व्यवसायी दिपक मल्होत्राको ४१ कठ्ठा र साझेदारको नाममा रहेको ७ कठ्ठा गरी कुल ४८ कठ्ठा जमिन गत पुसमा १ अर्ब २५ करोडमा खरिद गरेका थिए । मल्होत्राले आफ्नो मात्र स्वामित्वमा रहेको ४१ कठ्ठा जमिन गौतमलाई १ अर्ब ७ करोडमा बिक्री गरेका थिए ।

गौतमले गत शिवरात्रिका दिन होटलको शिलान्यास गरेर निर्माण सुरु गरेको म्यानेजर रुपेश गणेशले क्लिकमान्डुलाई बताए ।

विराटनगरमा पाँचतारे किंग्सबरी बन्ने जग्गा

करिब ४ अर्ब रुपैयाँको लागतमा २ बिघा ८ कठ्ठा क्षेत्रफलमा निर्माण सुरु गरिएको विराटनगरको पाँचतारे किंग्सबरी होटल दुईदेखि अढाई वर्षभित्रमा सञ्चालनमा ल्याउने तयारी भएको म्यानेजर रुपेश गणेशले जानकारी दिए । उनका अनुसार बिर्तामोडको किंग्सबरीमा गौतमको अझै २० प्रतिशत सेयर बाँकी छ । विराटनगरमा निमार्ण सुरु गरिएको यो होटलमा क्यासिनोसहित तारे होटलमा हुने सबै सेवा उपलब्ध हुने छ।

हाल कोशी प्रदेशमा झापा विर्तामोडमा किंग्सबरी, काँकडभिट्टामा मेची क्राउन र सुनसरीको इटहरीमा सोल्टी क्राउन पाँच तारे होटल सञ्चालनमा छन् । प्रदेश होटल व्यवसायी संघका अध्यक्ष राजन श्रेष्ठकाअनुसार यो प्रदेशमा थप ८ वटा पाँच तारे होटल पाइपलाइनमा छन्।

त्यसमध्ये झापामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको एट्रियमसहित तीन, विराटनगरमा पाँच र सुनसरीको इटहरीमा एक पाँच तारे होटल निर्माण हुने र निर्माणधीन अवस्थामा छन् । उनकाअनुसार विराटनगरमा उद्योगी मोती दुगडको सेन्चुरी र विकास चौधरी समूहको लेमन ट्री पाँचतारे होटल निर्माण भएर सञ्चालनको अवास्थामा छन्।

त्यसैगरी प्रकाश गौतमको किंग्सबरी, विजयकुमार चौधरीको एक्सीस र उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत अध्यक्ष रहेको शिवम् समूहको पाँचतारे होटल निर्माण हुने क्रममा छन् । त्यस्तै इटहरीमा देशवन्धु बस्नेत समूहको रमडा होटल सञ्चालनका लागि तयारी अवस्थामा छ।

कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगरमा अहिलेसम्म पाँच तारे होटल सञ्चालनमा आएको छैन।

दुगडको सेन्चुरी र चौधरी समूहले लेमन ट्री  होटल सञ्चालनमा आएपछि विराटनगरमा पाँचतारे होटलको सुरुवात हुने छ। गौतमको किंग्सबरी, चौधरीको एक्सिस र शिवम समूहको पाँचतारे होटल सञ्चालन हुन कम्तीमा २ वर्ष लाग्ने बताइएको छ ।

प्रदेश राजधानी विराटनगर र आसपासमा यसबेला रत्ना, विग, स्वागतम, एशियाटिक, स्टन स्टार, ह्यारिसन तथा करिव २० किलोमिाटर उत्तरमा पर्ने विराटचोकको नेपालीरिकसहित झण्डै दुईदर्जन चार तारे र तीन तारेस्तरका होटल सञ्चालनमा छन् ।

सरकारी झमेला र राजस्वको लफडाका कारण ती होटलले तारे होटलको सुविधा लिएका छैनन् । त्यसमध्य अढाई अर्बको लागतमा सञ्चालन हुँदै आएको विराटचोकको नेपालीरिका होटलले चाँडै पाँच तारेमा स्तरोन्नतिको तयारी भइरहेको होटलको सेल्स म्यानेजर विनोद बिमलीले बताए ।

तारे होटल सञ्चालनका लागि कम्तीमा डेढ अर्बदेखि अढाई अर्ब रुपैयाँसम्म लगानी लाग्छ । त्यो स्तरका होटल अहिले कोशीमा झण्डै १० वटा सञ्चालनमा छन् । ती मध्ये ३ वटाले मात्रै पाँच तारेको स्वीकृती लिएका छन् । श्रेष्ठले भने- ‘बाँकीले सरकारी झमेला र राजश्वको लफडाका कारण स्वीकृती लिएका छैनन्।’

त्यसबाहेक पर्यटकस्तरीय होटल सञ्चालन गर्न कम्तिमा ५०-६० करोड लगानी लाग्छ । यो प्रदेशमा मेची क्राउन, किंग्सबरी, सोल्टी, विराटनरको बिग र रत्नाले क्यासिनो खेलाउने स्वीकृती लिएका छन् । एक होटल व्यवसायीका अनुसार मोरङ, सुनसरी, झापा र इलाम पशुपतिनगरका केही होटलले पनि स्थानीय प्रहरी प्रशासनसँगको मिलोमतोमा स्वीकृती नलिई क्यासिनो सञ्चालन गर्दै आएका छन् ।

कोशी प्रदेशमा पर्यटकस्तरीय होटल ५०० भन्दाबढी छन् । त्यसबाहेक साधारण तर पर्यटक बस्न लायकका ३५०० भन्दा बढी होटल छन् । ती सबै होटल भारतीय पर्यटकमा निर्भर रहेको संघका वरिष्ठ उपाध्यक्ष तथा कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविश श्रेष्ठले बताए । कोशी प्रदेशका होटलमा एक रातमा १० हजारसम्म पर्यटक राख्न सक्ने क्षमता छ ।

मोरङको जोगवनी, सुनसरीको भीमनगर, झापाको काँकडभिट्टा र इलामको पशुपतिनगर नाकाबाट भारतीय पर्यटक भित्रिन्छन्। ती नाकाबाट सवारी साधन प्रयोग गरेर दैनिक सरदर ५०० भारतीय पर्यटक भित्रिन्छन् । खुला सिमाबाट दैनिक सरदर ५०० भारतीय नागरिक आउने गरेको अनुमान छ । होटल तथा पर्यटन व्यवसायीसमेत रहेका श्रेष्ठले क्लिकमान्डुसँग भने, ‘त्यसबाहेक छिटपुट आन्तरिक पर्यटक यस क्षेत्रका होटलका मुख्य ग्राहक हुन् ।’