नेपालको सुख्खा वन्दरगाहमा पहिलोपटक रेलवे ट्याङ्क कन्टेनरमार्फत खानेतेल आइपुग्यो

2.2k
Shares

काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाहमा पहिलो पटक रेलवे ट्याङ्कर कन्टेनरमार्फत कच्चा खाने तेल आउन थालेको छ ।

नेपाल इन्टरमोडेल यातायात विकास समितिका अनुसार गत् आइतबार पहिलोपटक ट्याङ्कर कन्टेनरमार्फत कच्चा खाने तेल वीरगञ्जस्थित सुख्खा वन्दरगाहमा आइपुगेको हो ।

वाराको जितपुरस्थित खानेतेल उद्योग शिवशक्ति घीउ उद्योग प्राइभेट लिमिटेडले खरिद गरेको सोयाविन कच्चा तेल(क्रुड आयल) बोकेको २० फुटे ९० वटा ट्याङ्कर कन्टेनर रेलवेमार्गबाट सुख्खा वन्दरगाहमा आइपुगेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

उक्त कन्टेनरमा २० हजार मेट्रिक टन सोयाविन क्रुड आयल अर्जेन्टिनाबाट भारतको हल्दिया पोर्टहुँदै वीरगञ्ज सुख्खा वन्दरगाहमा आइपुगेको हो ।

हालसम्म यस्ता क्रुड आयल सडक मार्गबाट मात्रै ढुवानी हुँदै आएको थियो । रेलमार्गबाट कन्टेनरको सहयोगमा ढुवानी हुँदा सडकमार्गको तुलनामा ढुवानी भाडाका साथै समयमा औषत १५ प्रतिशत बचत हुने तेल उत्पादक उद्योगीहरुले औल्याएका छन् ।

सन् २००४ देखि सञ्चालनमा आएको वीरगञ्ज सुक्खा बन्दरगाहमा शुरुमा कन्टेनर, बल्क, ब्रेक बल्क कार्गो मात्रै आइरहेका थिए । २०८० असार १६ गतेदेखि कोइलाको लुज कार्गो आउन सुरु भएको थियो ।

रेलवे ट्याङ्कर कन्टेनरमार्फत क्रुड आयल आयात हुन थालेपछि नेपाली उद्योगीले व्यापारिक कारोबारमा थप बृद्धि हुने बताइएको छ ।

ट्याङ्क कन्टेनर पूर्णरुपमा शिल भएर आउने हुँदा बाटोमा तेल चोरीका घटनासमेत नियन्त्रण हुने गजुरेलले जानकारी दिए ।