मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा वैशाख मसान्तमा नआउने, गभर्नरले गरे कार्यविधिमा संशोधन



काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा वैशाख मसान्तमा नआउने भएको छ । नेपाल राष्ट्र बैंकले आफ्नै कार्यविधिमा संशोधन गर्दै समीक्षा गर्ने अवधि बढाएको हो । नयाँ व्यवस्थाअनुसार केन्द्रिय बैंक जेठ १५ गतेअघि समीक्षा सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।

मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) अनुसार त्रैमासिक समीक्षा त्रैमास सकिएको ३० दिनभित्र गरिसक्नु पर्ने व्यवस्था थियो । जसलाई गभर्नर महाप्रसाद अधिकारीले गत माघ २८ गते नै संशोधन गरेर ४५ दिन बनाएका हुन् । अबदेखि त्रैमासिक तथा अर्धवार्षिक समीक्षा त्रैमास सकिएको डेढ महिनापछि तथा वार्षिक मौद्रिक नीति आर्थिक वर्ष सुरू भएको १५ दिनभित्र आइसक्नेछ । यसअघि वार्षिक मौद्रिक नीति आव सुरू भएको एक साताभित्र ल्याइसक्नुपर्ने व्यवस्था थियो ।

राष्ट्र बैंकका अनुसार तोकिएको समयभित्रै समीक्षा सार्वजनिक गर्न केही असहज भएपछि कार्यविधिको संशोधन गरिएको हो । गभर्नर अधिकारीको अध्यक्षतामा बसेको बैंकको व्यवस्थापन समितिको वैठकले व्यवस्था संशोधन गरेको हो । जसअनुसार त्रैमास समाप्त भएको १५ दिनभित्र मौद्रिक नीतिका लागि आवश्यक राय सुझाव मागिने र प्राप्त रायसुझावउपर आवश्यकताअनुसार अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल हुनेछ ।


क्लिकमान्डु