
काठमाडौं । पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रममा सबैभन्दा धेरै बजेट चितवनमा खर्च गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको यो वार्षिक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जिल्ला चितवनमा मात्रै १ अर्ब १८ करोड ५७ लाख रुपैयाँ बजेट परेको छ ।
चितवनमा विनियोजित पर्यटन मन्त्रालयको बजेटमध्ये सबैभन्दा धेरै विमानस्थलका लागि छ । भरतपुर विमानस्थलको विस्तार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत ७५ करोड रुपैयाँ र भरतपुर विमानस्थल विस्तारकै प्रयोजनका लागि जग्गाको सोधभर्नाबापत नेपाली सेनालाई दिनुपर्ने २५ करोडसहित १ अर्ब रुपैयाँ यो विमानस्थलमा खर्च गर्न बजेट विनियोजन भएको छ । विमानस्थलका लागि छुट्याइएको यो बजेट सरकारले सेयर तथा ऋण लगानीका रूपमा खर्च गर्न लागेको पर्यटन मन्त्रालयले सार्वजनिक गरेको वार्षिक कार्यक्रममा उल्लेख छ ।
पर्यटन मन्त्रालयले सार्वजनिक गरेको वार्षिक कार्यक्रममा १८ करोड रुपैयाँ खर्च गर्ने गरी चितवनका लागि थप ७ वटा कार्यक्रम तय भएका छन् । यस्ता कार्यक्रमका लागि माडीको अयोध्याधाम बृहत्तर धार्मिक परियोजनाका लागि ७ करोड, राममन्दिर देवघाट त्रिवेणीधामका लागि ५ करोड, चितवनमा पुतली बगैँचा (ब्युटी गार्डेन) बनाउन ३ करोड, साइकल ट्रेलका लागि ३ करोड, त्रिपुरासुन्दरी भगवती मन्दिर बनाउन ४० लाख, साइकल ट्रेल र जङ्गल सफारी सम्भाव्यता अध्ययनका लागि १६ लाख रुपैयाँ विनियोजन भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा ऐतिहासिक सम्पदाको पुनर्निर्माण, विमानस्थल विस्तार र नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचानलाई प्राथमिकता दिइएको भए तापनि बजेट खर्चका हिसाबले भने चितवनमा बढी बजेट विनियोजन भएको देखिएको हो ।
चितवन जिल्लाका कार्यक्रम र बजेट
| क्र.स. | कार्यक्रम / क्रियाकलाप | बजेट (रु. लाखमा) |
| १ | अयोध्याधाम बृहत्तर धार्मिक परियोजना, माडी-९ | ७००.४२ |
| २ | भरतपुर विमानस्थल विस्तार (EIA सहित पूर्वाधार निर्माण) | ७५००.०० |
| ३ | भरतपुर विमानस्थल विस्तारका लागि जग्गा शोधभर्ना (नेपाली सेनालाई) | २५००.०० |
| ४ | राम मन्दिर-देवघाट-विवेणीधाम धार्मिक पर्यटन प्रवर्द्धन | ५००.०० |
| ५ | चितवन Butterfly Garden (पुतली बगैँचा) निर्माण तथा विकास | ३००.०० |
| ६ | त्रिपुरासुन्दरी भगवती मन्दिर, भरतपुर-१ ठिमुरा संरक्षण | ४०.०० |
| ७ | चितवनका विभिन्न पर्यटकीय क्षेत्र जोड्ने साइकल ट्रेल (Cycle Trail) निर्माण | ८.४० |
| ८ | चौराहा देखि सौराहा सम्म जंगल सफारीको लागि अध्ययन | ८.४० |
बागमती प्रदेशको प्रमुख पर्यटकीय हब चितवनमा यस वर्ष ठूला परियोजनाहरू सञ्चालन गर्न नयाँ पर्यटकीय गतिविधीमा खर्च गर्न लागिएको उल्लेख छ ।
आगामी आर्थिक वर्षमा चितवन जिल्लालाई धार्मिक, साहसिक र प्रकृतिको संगमस्थलको रूपमा विकास गर्न मन्त्रालयले उल्लेख्य बजेट विनियोजन गरेको देखिएको छ ।
बजेटका हिसावले चितवनमा धेरै बजेट देखिएको भएपनि कार्यक्रममा हिसावले भने पोखरमा पर्यटन मन्त्री खडक राज पौडेलले बजेट लगेका छन् । पोखराका पौडेलले कास्की जिल्लामा मात्रै १५ वटा कार्यक्रम परेका छन । यी कार्यक्रममा ८ करोड ५७ लाख रुपैयाँ खर्च गर्ने गरी बजेट विनियोजन भएको छ ।
कास्कीमा गएको पर्यटन मन्त्रालयको बजेटमा वात्सायन आश्रम तथा स्वामी नारायण मन्दिर एकीकृत विकासलाई र दिपाङ ताललाई मनोरञ्जन क्षेत्र बनाउन ५/५ करोड, अर्धनारेश्वर धार्मिकस्थल निर्माणर खास्टे न्युरेनी तालमा फुटट्रयाक निर्माण र कास्की लिपेनी/थुम्सीकोट/भाचोक/लम्तरी साइकल ट्रेल बनाउन ३/३ करोड रुपैयाँको बजेट विनियोजन भएको छ ।
पञ्चासे/धम्पुस अर्किड पार्क तथा ट्रेल बनाउँन २ करोड, भद्रकाली मन्दिर परिसरमा वाटर पार्क निर्माण सम्पन्न गर्न १ करोड रुपैयाँ विनियोजन भएको छ भने अरु कार्यक्रम ८ देखि ५० लाख रुपैयाँसम्मका छन् । यो बाहेक सरकारले गत वर्षको कार्यक्रमकै निरन्तरताका लागि काँडे बराह क्षेत्र पूर्वाधारको ८ करोड ५७ लाख र सम्पदा यातायात विस्तार गर्न ६२ लाख रुपैयाँसमेत कास्की लागि दिएको छ ।
कास्की जिल्लाका कार्यक्रम र बजेट
| क्र.स. | कार्यक्रम / क्रियाकलाप | बजेट (रु. लाखमा) |
| १ | वात्सायन आश्रम तथा स्वामी नारायण मन्दिर एकीकृत विकास | ५००.०० |
| २ | दिपाङ ताललाई मनोरञ्जन क्षेत्र (Recreational Area) को रूपमा विकास | ५००.०० |
| ३ | अर्धनारेश्वर धार्मिकस्थल निर्माण तथा विकास, पोखरा-२८ | ३००.०० |
| ४ | खास्टे न्युरेनी तालमा फुटट्रयाक निर्माण योजना, पोखरा | ३००.०० |
| ५ | कास्की लिपेनी-थुम्सीकोट-भाचोक-लम्तरी साइकल ट्रेल निर्माण | ३००.०० |
| ६ | पञ्चासे-धम्पुस अर्किड पार्क तथा ट्रेल (Trail) विकास | २००.०० |
| ७ | भद्रकाली मन्दिर परिसरमा वाटर पार्क निर्माण सम्पन्न गर्ने | १००.०० |
| ८ | काँडे बराह क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण (गत वर्षको दायित्व समेत) | ८५७.३४* |
| ९ | रुपा मस्जिद निर्माण, कास्की | ५०.०० |
| १० | शिवालय मन्दिर तथा ठाँटी संरक्षण, भाटथर, माछापुच्छ्रे | १२.०० |
| ११ | शिद्देश्वर शिव मन्दिर संरक्षण, मादी-३ तप्राङ्ग | ९.०० |
| १२ | झप्राङ्ग कोट संरक्षण कार्य, पोखरा-१६ | ९.०० |
| १३ | वेगनाशकोट काली मन्दिर संरक्षण, पोखरा-३१ | ९.०० |
| १४ | वराह, काली भैरव मन्दिर जीर्णोद्धार, माछापुच्छ्रे-४ | ९.०० |
| १५ | साइकल ट्रेल निर्माण अध्ययन (लिपेनी-करापु) | ८.४० |
*नोट: ८५७.३४ लाखको बजेटमा कास्कीको काँडे बराहका साथै सल्यान र डोटीका आयोजनाहरू पनि समावेश छन्।
यी बाहेक संस्कृति प्रवद्र्धन कार्यक्रम अन्तर्गत १ देखि ३ लाख सम्मका ४१ वटा कार्यक्रम छन । त्यसमध्ये पर्यटन मन्त्रालको कार्यक्रममा ११ वटा कार्यक्रम २ देखि ३ लाखका छन भने एकदेखि २ लाखका कार्यक्रम ७ वटा छन । पुरातात्विक स्थल संरक्षण गर्ने कार्यक्रमका लािग १४ वटा कार्यक्रम १ देखि २ लाखको छ ।
पर्यटनका अन्य मुख्य कार्यक्रमा देशभरका ७ वटै प्रदेशमा सिर्जनाग्राम निर्माणका लागि ४ करोड ९० लाख रुपैयाँ विनियोजन भएको छ ।






प्रतिक्रिया