
एजेन्सी । उत्तर अमेरिकाका तीन देशहरू अमेरिका, मेक्सिको र क्यानडामा जारी २०२६ फिफा विश्वकप अहिले आफ्नो सबैभन्दा रोमाञ्चक चरणमा प्रवेश गरेको छ । पहिलो नकआउटमा क्यानडले दक्षिण अफ्रिकामाथि १-०को जित निकाली अन्तिम १६ मा प्रवेश गर्ने पहिलो राष्ट्र बनेको छ ।
ह्युस्टनको गर्मीदेखि मियामीको तट हुँदै टोरन्टोसम्मको यात्रामा पोर्चुगलले आफ्नो दाबेदारी कायम राखेको छ ।
समूह ‘के’ मा मिश्रित नतिजाका बाबजुद नकआउट चरणमा प्रवेश गरेको रोबर्टो मार्टिनेजको टोलीलाई यसपटक विश्वकै उत्कृष्ट मध्येको एक मिडफिल्ड र क्रिष्टियानो रोनाल्डोको अनुभवले पहिलो पटक ऐतिहासिक उपाधि दिलाउन सक्ने फुटबल पण्डितहरूको दाबी छ ।
पोर्चुगलको विश्वकप इतिहासलाई फर्केर हेर्दा यो टोलीले चुकचुकाउनुपर्ने नतिजा भने निकालेको छैन अर्थात् विजेता हुन नसक्दा पनि यो टोलीले उपविजेतामा चित्त बुझाउने अवस्थासम्म भने पुग्न सकेको छैन ।
सन् १९६६ मा एउसेबियोको नेतृत्वमा तेस्रो स्थान हासिल गर्नु पोर्चुगलको अहिलेसम्मकै सर्वश्रेष्ठ प्रदर्शन हो ।
त्यसपछि सन् २००६ मा लुइज फिलिपे स्कोलारीको प्रशिक्षणमा टोली चौथो स्थानसम्म पुगेको थियो । पछिल्लो पटक २०२२ को कतार विश्वकपमा प्रतिभावान् टोली भएर पनि क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित हुँदा पोर्चुगाली समर्थकहरू स्तब्ध बनेका थिए। तर, ६ दशक लामो त्यो तिर्खा यसपटकको टोलीले मेट्ने अपेक्षा गरिएको छ ।
यस विश्वकपको समूह चरणमा पोर्चुगलले केही उतारचढावपूर्ण खेलहरू खेल्यो । डीआर कंगोसँग १–१ को बराबरी र कोलम्बियासँगको कठिन गोलरहित संघर्षपछि कतिपयले टोलीको आलोचना पनि गरे । तर, उज्बेकिस्तानमाथि हात पारेको ५–० को शानदार जितले पोर्चुगलको वास्तविक सामर्थ्यलाई विश्वसामु छर्लङ्ग पारिदियो ।
सोही खेलमा ४१ वर्षको उमेरमा पनि रोनाल्डोले दुई गोल गर्दै फुटबल इतिहासमा आफ्नो नाम अझ गाढा अक्षरले लेखाए । देश र क्लबका लागि ९७५ गोल गरेका रोनाल्डो ६ वटा फरक विश्वकपमा गोल गर्ने विश्वकै पहिलो र एक मात्र खेलाडी बनेका छन्।
साउदी प्रो लिगमा सर्वाधिक गोलकर्ता बनेर विश्वकपमा ओर्लिएका उनको उपस्थितिले मात्र पनि विपक्षी डिफेन्डरहरूमा त्रास पैदा गर्ने सामर्थ्य राख्छ ।
पोर्चुगलको यो यात्रालाई धेरैले सन् २०२२ मा अर्जेन्टिनाले तय गरेको बाटोसँग तुलना गरिरहेका छन् । सन् २०२२ को विश्वकप अन्तर्गत लिग चरणका खेलहरूमा मेस्सी मैदानमा धेरै नदौडिने र हिँडडुल मात्र गर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको थियो। आलोचकहरूले उनले डिफेन्समा मद्दत नगरेको र खेलमा पर्याप्त ऊर्जा नदेखाएको भन्दै प्रश्न उठाएका थिए ।
कतार विश्वकपमा उपाधि दाबेदार मानिएका मेस्सीले सुरुवाती खेलमा साउदी अरेबियासँग हार व्यहोरेका थिए भने लिग चरणको अन्तिम तथा निर्णायक खेलमा पोल्याण्ड विरुद्ध मेस्सीले पेनाल्टीमा गोल गर्न सकेका थिएनन्। तर मेस्सीले त्यसपछि लय लिए। चर्को आलोचनाका बाबजुद उनले जसरी आफ्नो टोलीलाई नेतृत्व दिँदै उपाधि दिलाए, रोनाल्डोका लागि २०२६ को यो संस्करण त्यस्तै ‘मोक्ष’ प्राप्त गर्ने मञ्च बन्न सक्छ।
मेस्सी र रोनाल्डो बीचको ‘गोट’ बहसलाई बिट मार्न यो विश्वकप रोनाल्डोका लागि अन्तिम र निर्णायक अवसर हो। मेस्सीले ३५ वर्षको उमेरमा प्राप्त गरेको सफलता जस्तै ४१ वर्षका रोनाल्डोले पनि आलोचनालाई शक्तिमा बदल्दै टोलीलाई स्वर्ण पदक दिलाउन सक्ने क्षमता राख्छन्।
पोर्चुगलको अर्को बलियो पक्ष यसको मिडफिल्ड लाइनअप हो, जसलाई ‘द गार्डियन’ र ‘ईएसपीएन’ले टुर्नामेन्टकै उत्कृष्ट मानेका छन्। ब्रुनो फर्नान्डेजको रचनात्मकता, बर्नार्डो सिल्भाको बल नियन्त्रण र युवा स्टारहरू भिटिन्हा तथा जोआओ नेभेसको ऊर्जाले टोलीलाई रक्षात्मक र आक्रामक दुवै पक्षमा मजबुत बनाएको छ ।
राफायल लियो र पेड्रो नेटोजस्ता तीव्र गतिका विङ्गरहरूले रोनाल्डोका लागि पर्याप्त अवसरहरू सिर्जना गरिरहेका छन् भने ब्रुनो फर्नान्डेज पनि फर्ममा छन्। समग्रमा भन्दा युरोपेली क्लबहरूमा उत्कृष्ट लयमा रहेका खेलाडीहरूको पोर्चुगिज टिममा वर्चस्व छ।
प्रशिक्षक मार्टिनेजले रोनाल्डोलाई केवल एक स्ट्राइकरको रूपमा मात्र नभई टोलीको ‘रोल मोडल’ र मेन्टरका रूपमा प्रयोग गर्दै युवा र अनुभवको सही मिश्रण तयार पारेका छन् ।
विश्वकपमा उपाधिको लक्ष्यसम्म नपुगे पनि पोर्चुगलले सन् २०१६ मा युरोपियन च्याम्पियनसिप र गत वर्ष स्पेनलाई पराजित गर्दै नेसन्स लिगमा जित हात पारिसकेको छ ।
समूह चरण पार गरेर ३२ देशबीचको नकआउटमा प्रवेश गरेपछि पोर्चुगलका लागि यात्रा निकै चुनौतीपूर्ण छ । राउन्ड अफ ३२ मा अनुभवी लुका मोड्रीचको नेतृत्वमा रहेको क्रोएसियासँगको भेट पोर्चुगलका लागि एउटा ठूलो परीक्षा हुनेछ । यो अवरोध पार गरेमा आगामी चरणमा स्पेन/बेल्जियम र सेमिफाइनलसम्म पुग्दा फ्रान्स/जर्मनी वा नेदरल्याण्ड्स लगायतसँग भेटको बाटो तय हुने देखिएको छ ।
ईएसपीएन एफसीको विश्लेषणले यो ब्र्याकेटलाई प्रतियोगिताकै कठिन मार्ग भनेर व्याख्या गरे तापनि रोनाल्डोको अजेय मनोबल र मिडफिल्डको सिर्जनशीलताले पोर्चुगललाई सेमिफाइनल वा फाइनलसम्म पुर्याउन सक्ने सामर्थ्य राख्छ।
फुटबलका अन्तर्राष्ट्रिय विज्ञहरूका अनुसार पोर्चुगलको उपाधि जित्ने सम्भावना अन्य हेभीवेट टिमहरूभन्दा कम छैन।
रोनाल्डोको यो ‘लास्ट डान्स’ (अन्तिम यात्रा) ले पोर्चुगललाई ६० वर्षको प्रतीक्षापछि पहिलो पटक विश्वकप ट्रफी उचाल्ने अवसर दिन सक्छ ।
कतिपयले अर्को समूहतर्फबाट मेस्सी नेतृत्वको अर्जेन्टिना र रोनाल्डो नेतृत्वको पोर्चुगलबीच फाइनल भिडन्त हुने अनुमान पनि गरिरहेका छन् । मेस्सी यो सिजनमा पनि उच्च फर्ममा देखिएका छन् र उनको नाममा ६ गोल छ भने लिगमा कुनै पनि खेलमा पराजित नभई अर्जेन्टिना राउन्ड अफ ३२ मा पुगेको छ ।
आलोचना र उतारचढावलाई पार गर्दै यदि मिडफिल्डले आफ्नो लय कायम राख्यो र रोनाल्डोले निर्णायक क्षणमा आफ्नो जादु देखाउन सके भने, २०२६ को विश्वकप इतिहासमा पोर्चुगलको पहिलो ऐतिहासिक विजयका रूपमा लेखिनेछ।
मैदानले अब अन्तिम फैसला गर्नेछ, तर पोर्चुगलको यो यात्राले विश्वभरका फुटबल प्रेमीहरूलाई उत्साहित बनाइरहेको छ।






प्रतिक्रिया