
काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३ कारोबार दिनपछि २७०० बिन्दुभन्दा तल झरेको छ । मंगलबार नेप्से २६.१६ अंकले घट्दै २६७४.४८ बिन्दुमा खुम्चिएको हो ।
यसअघि २०८२ चैत २२ गते नेप्से २६७६ बिन्दुमा रहेको थियो । त्यसदिन नेप्सेमा नकारात्मक सर्किट ब्रेक लाग्दै १०५ अंकले घटेर २६७६ बिन्दुमा खुम्चिन पुगेको थियो ।
तर, त्यसको भोलिपल्ट नै नेप्से फेरि ८३ अंकले बढेर २७६० बिन्दुमा उक्लियो । जुन समयदेखि नेप्से २७०० बिन्दुभन्दा तल झरेको थिएन । तर, लामो समयदेखि संकुचित बन्दै गइरहेको नेप्से मंगलबार भने २६०० बिन्दुमा खुम्चिन पुगेको हो । अझ रोचक कुरा के छ भने पछिल्लो ४० कारोबार दिन त नेप्से २७०० बिन्दुमा मात्रै कायम थियो ।
यसअघि २०८३ वैशाख ९ गते बुधबार २८०४ बिन्दुमा रहेको बजार त्यसको भोलिपल्ट वैशाख १० गते १७ अंकले घट्दै २७८७ बिन्दुमा खुम्चिन पुग्यो । जुन दिनदेखि अर्थात् पछिल्लो ४० कारोबार दिनदेखि नेप्से २७०० बिन्दुमा नै कायम थियो ।
खासगरी, निर्वाचन परिणामले हौसिएको सेयर बजार रास्वपा सरकार बनेदेखि नै घट्न थालेको थियो । सरकारी कर्मचारीहरुमाथि गरिएको सम्पत्ति छानबिन, धितोपत्र कारोबार तथा बिमा कसुरमा दीपक भट्ट, शुलभ अग्रवालसहित दर्जनौं व्यक्तिमाथि अनुसन्धान र मुद्दा दायर हुनु आदी बजार घट्नुका कारक भएको विश्लेषण लगानीकर्ता तथा बजार विश्लेषकहरुले गरिरहेका छन् ।
यहि क्रममा पूर्व अर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसमेत सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ परेपछि बजार थप नकारात्मक बन्न पुगेको देखिन्छ । किनभने पछिल्लो केही साता यता नेप्सेमा ठूलो अंकको वृद्धि वा गिरावट नभएको भएपनि मंगलबार भने बजार दोहोरो अंकले घट्न पुग्यो ।
अझ, पछिल्लो पाँच कारोबार दिन त नेप्सेमा दोहोरो अंकले समेत घटबढ भएको थिएन । तर, पौडेल पक्राउ परेपछि भने बजार एकै दिन दोहोरो अंकले घटेको हो । मंगलबार बजारको सूचक मात्रै घटेन कारोबार रकममा पनि गिरावट आएको छ ।
विगतको बजार अवस्थालाई हेर्ने हो भने खासगरी विष्णु पौडेलाई सेयर बजारले धेरैजसो स्वागत गर्ने गरेको थियो । २०८० फागुन २१ मा कम्युनिस्ट गठबन्धनको सरकार बन्ने र अर्थमन्त्रीमा पौडेल आउने चर्चा चलेसँगै नेप्सेमा ६ प्रतिशतको वृद्धि हुँदै बजार बन्द भएको थियो । यस दिन नेप्से छ प्रतिशत अर्थात् ११७. ७० अंकले वृद्धि भई २०७८ बिन्दुमा बन्द भएको थियो ।
यस्तै, २०७९ पुस ११ मा पौडेल अर्थमन्त्री भएसँगै सेयर बजारमा उछाल आएको थियो । त्यसबेला नेप्सेमा ५६.८६ अंकको वृद्धि देखिएको थियो । २०७२ सालमा त्यतिबेलाको उच्च बिन्दु कायम गर्दा अर्थमन्त्री पौडेल नै थिए । २०७२ पुसमा त्यसअघिको उच्च अंक ११७५ बिन्दुलाई उछिनेर सूचक अघि बढ्दा अर्थमन्त्री पौडेल थिए ।
तर, २०७३ साउनमा १८८१ अंक पुगेर त्यसबेलाको उच्च अंक कायम गर्दा भने कांग्रेस समर्थनमा बनेको सरकारका अर्थमन्त्री कृष्णबहादुर महरा थिए । २०७९ चैत १९ शुक्रबार अर्थमन्त्री प्रकाससरण महत आएकोमा आइतबार नेप्से भने २० अंकले घटेको थियो ।
त्यसअघि २०६८ मा माओवादी नेता वर्षमान पुन अर्थमन्त्री हुँदा नेप्से सबैभन्दा न्यून २९१ बिन्दुसम्म झरेको थियो । २०७२ सालमा प्रधानमन्त्री केपी ओली नियुक्त हुँदा पनि नेप्से ३६ अंकले बढेको थियो ।
यद्यपि, नेप्सेलाई फर्केर हेर्दा एमाले सत्ताबाट बाहिरिएको ३५ दिन नपुग्दै नेप्सेले २०७८ भदौ २ गते हालसम्मकै उच्च ३१९६ (त्यसदिन ३२२६ सम्म) पुगेको थियो । सो समयमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा अर्थमन्त्री भने जनादर्न शर्मा थिए ।
तर, समग्रमा विगतको बजार ट्रेन्डलाई हेर्ने हो भने अर्थमन्त्रीमा विष्णु पौडेल आउँदा बजार धेरैजसो सकारात्मक बन्ने गरेको थियो ।
हुन त, रास्वपाको नेतृत्वमा शक्तिशाली सरकार गठन भएपनि बजारले त्यसप्रति अविश्वास व्यक्त गर्दै आएको छ । सरकार गठनदेखि लगातार संकुचित बनेको बजार आगामी आर्थिक वर्षको बजेट घोषणाले समेत थोरै पनि सकारात्मक प्रभाव पार्न सकेको छैन ।
तथापि, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने करिब १ खर्ब हाराहारीको वित्तीय अपराधमा अनुसन्धान र मुद्दा दायर भएकाले त्यसको असर बजारमा देखिएको बताउँदै आएका छन् । उनले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने र नीतिगत व्यवस्थामा काम गर्ने धारणा राख्दै आएका छन् ।
‘एक-एक घन्टाको अन्तरमा पुँजी बजार सूचक तल जान्छ कि माथि भनेर हेर्दैनौं । हामी युग युगको लागि दूरगामी नीतिहरूमा काम गरिरहेका छौं,’ प्रतिनिधिसभा बजेटमाथिको छलफलका क्रममा वाग्लेले भने, ‘हाल पुँजीबजार बिमा र सेयरबजारसँग सम्बन्धित एक खर्बभन्दा बढी बिगोको मुद्दा चहिलरको छ जसले गर्दा कतिपय लगानीकर्ता आफूपनि त्यसमा तानिने त्रासमा देखिन्छन् ।’
उनले हालै सार्वजनिक बजेटमा भएका व्यवस्थाका कारण बजारमा बिस्तारै नतिजा आउन थालेपछि भने लगानीकर्ताको आत्मबल बढ्ने र बजारमा सकारात्मक प्रभाव पर्ने समेत बताइरहेका छन् । अर्थमन्त्रीका यस्ता अभिव्यक्ति आएपनि बजार भने झनै संकुचित बनेर गइरहेको छ ।








प्रतिक्रिया