डिशहोमको ‘डिगो’ नेपालको पहिलो अनुमति प्राप्त ओटीटी, विश्वव्यापी प्रसारण अधिकार पनि प्राप्त


काठमाडौं । डिशहोम डिजिटलअन्तर्गत सञ्चालित ओटीटी प्लेटफर्म ‘डिगो’ नेपालको पहिलो आधिकारिक लाइसेन्स प्राप्त ओटीटी बनेको छ । डिशहोमले डिगोमार्फत आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रीमिङ अधिकार प्राप्त गर्दै आफ्नो अन्तर्राष्ट्रिय डिजिटल उपस्थितिलाई थप सुदृढ बनाएको हो ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागबाट प्रचलित राष्ट्रिय प्रसारण नियमावली बमोजिम डिगोले ओटीटी प्रसारण सेवाका लागि आवश्यक इजाजत पत्र प्राप्त गरेको छ । यो इजाजतसँगै डिगोले नेपालको प्रचलित कानुनी तथा नियामक व्यवस्था अनुरूप आधिकारिक रूपमा सेवा सञ्चालन गरिरहेको तथ्यलाई थप पुष्टि गरेको कम्पनीले जनाएको छ ।

यस प्लेटफर्मले आधिकारिक विश्वव्यापी स्ट्रीमिङ अधिकार प्राप्त गरेसँगै नेपाली डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त, विश्वसनीय र सक्षम बनाउने लक्ष्य राखेको छ । सदस्यतामा आधारित यस डिजिटल स्ट्रीमिङ प्लेटफर्ममा दर्शकहरूले चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र र बाल सामग्री लगायतका विविध गुणस्तरीय सामग्रीहरू सुरक्षित र सहज रूपमा हेर्न पाउनेछन् ।

डिशहोम डिजिटलका अनुसार, अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप डिजिटल सामग्री वितरण गर्ने क्षमता र दीर्घकालीन प्रतिबद्धताले नेपाली ओटीटी बजारलाई विश्वव्यापी मनोरञ्जन बजारसँग जोड्न महत्वपूर्ण आधार तयार गरेको छ । आधिकारिक विश्वव्यापी स्ट्रीमिङ अधिकारसहित सञ्चालन हुनु नेपाली डिजिटल मनोरञ्जन उद्योगकै लागि एक ठूलो उपलब्धि मानिएको छ ।

आगामी दिनमा अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव र अन्तर्राष्ट्रिय साझेदारीमार्फत दर्शकलाई विश्वस्तरीय सेवा प्रदान गर्ने डिगोको योजना छ । कम्पनीले डिगोलाई विश्वभरका दर्शकका लागि भरपर्दो र प्रतिस्पर्धी नेपाली डिजिटल स्ट्रीमिङ प्लेटफर्मको रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

Skip This