५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई निर्देशन


काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी तथा भूमिहीनहरूलाई ५ दिनभित्र भवन खाली गर्न अल्टिमेटम दिएको छ ।

समितिले सोमबारदेखि शुक्रबारसम्ममा स्व–व्यवस्थापन गरी केन्द्र खाली गर्न भन्दै सूचना टाँस गरेको हो ।

नदी किनारका जोखिमयुक्त बस्तीहरू हटाइएपछि सरकारले उनीहरूलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेको थियो । हाल कीर्तिपुरको सेन्टरमा ६८ परिवारका २०३ जना बसिरहेका छन् ।

राहत र पुनःस्थापना प्याकेज

समितिले होल्डिङ सेन्टर छाड्ने प्रत्येक परिवारलाई तत्काल ‘स्व-व्यवस्थापन’ खर्च स्वरूप एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । राहत प्राप्त गर्नका लागि पीडित परिवारले आफ्नो बैंक खाता नम्बरसहितको निवेदन पेस गर्नुपर्नेछ । खातामा पैसा जम्मा भएपछि उनीहरूले ५ दिनभित्र ठाउँ खाली गर्नुपर्नेछ ।

यति मात्र नभई, सेन्टरबाट हटेकाहरूमध्ये ‘वास्तविक सुकुम्बासी’ प्रमाणित भएका परिवारलाई सरकारले मासिक १५ हजार रुपैयाँका दरले कोठा भाडा समेत उपलब्ध गराउनेछ । यो सुविधा भूमि आयोगले उनीहरूको स्थायी व्यवस्थापनको टुङ्गो नलगाएसम्म निरन्तर रहने बताइएको छ ।

उपत्यकाका कुल ६ वटा होल्डिङ सेन्टरहरूमा हाल ३८८ परिवार आश्रित छन्। समितिले सुरुमा कीर्तिपुरबाट यो प्रक्रिया थालनी गरेको छ । सूचना अटेर गरी हट्न नमान्नेहरूको हकमा सरकारले अन्य विकल्प वा व्यवस्थापनबारे थप छलफल गर्ने समितिले जनाएको छ ।

नदी किनाराका बस्तीहरू हटाइएपछि २ हजार ६०८ जनाले सुकुम्बासीका रूपमा नाम दर्ता गराएका थिए । उनीहरूको हकमा वास्तविक सुकुम्बासी पहिचान गर्ने कार्यलाई पनि समितिले अघि बढाएको छ । राहत वितरणका लागि समितिले अहिले ३ देखि ४ वटा विशेष टोली खटाएको छ।

Skip This