सिटिजन्स बैंकको वेबसाइट र मोबाइल बैंकिङमार्फत एसआईपी आवेदन दिन सकिने


काठमाडौं । सिटिजन्स सदाबहार योजना एसआईपी अब ग्राहकहरूले डिजिटल माध्यमबाट सहज रूपमा आवेदन दिन सक्ने भएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण लगानीकर्ताहरूमा नियमित तथा दीर्घकालीन लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एसआईपीमा आवेदन दिन सहज बनाइएको हो ।
ग्राहकहरूले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको डिजिबैंक सेवामार्फत बैंकको आधिकारिक वेबसाइट तथा मोबाइल बैंकिङ बाट नै प्रत्यक्ष रूपमा एसआईपी आवेदन दर्ता गरी लगानी प्रक्रिया सुरु गर्न सक्नेछन । यस सुविधाले एसआईपी आवेदन प्रक्रियालाई अझ सरल, छिटो तथा सुरक्षित बनाउनुका साथै ग्राहकहरूलाई आफ्‌नो वित्तीय लक्ष्यअनुसार नियमित लगानी गर्न थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ ।

नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ३७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।