
काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले दुईवटा गाडीको मूल्य परिवर्तन गरेको छ ।
समायोजन भएको मूल्यअनुसार यसअघि ४५ लाख ९५ हजार रुपैयाँमा बिक्री हुँदै आएको बीवाईडी ‘एटो टु’ को मूल्य ३ लाख ४ हजार रुपैयाँले बढेर ४८ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, ‘एटो थ्री’ (एड्भान्स्ड भेरियन्ट) को मूल्य दुई लाख रुपैयाँले वृद्धि गरिएको छ । यसअघि ५९ लाख ९९ हजार रुपैयाँ रहेको यस गाडीको मूल्य हाल ६१ लाख ९९ हजार रुपैयाँ कायम भएको छ ।
बीवाईडीका अनुसार एटो–१ को मूल्य भने परिवर्तन भएको छैन । खासगरी, सरकारले नयाँ बजेटमार्फत व्यवस्था गरेको भन्सार महसुल र हरित पूर्वाधार शुल्कका कारण मूल्य समायोजन गरिएको बताइएको छ ।
बीवाईडी ‘एटो टु’ को २०० एमएम ग्राउन्ड क्लियरेन्स छ । ५१ किलोवाट आवरको ब्याट्री क्षमता भएको एटो टुले एकपटकको फुल चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ । यस्तै, यसमा १०० किलोवाटको मोटर रहेको छ ।
बीवाईडी एटो थ्रीमा ६०.४८ किलोवाट आवरको ब्याट्री क्षमता छ, जसले ४२५ किलोमिटर रेन्ज प्रदान गर्दछ । यसमा पनि १०० किलोवाटकै मोटर जडान गरिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५० लाखभन्दा कम मूल्यका विद्युतीय सवारी साधन (ईभी) को मूल्य घट्ने दाबी गरिरहँदा बीवाईडीले भने सस्तो कारको मूल्य बढाएको हो । बजेट लगत्तै आयोजित एक कार्यक्रममा बोल्दै उनले भनेका थिए, ‘५० लाखभन्दा घटिका ईभीमा मूल्य घट्छ यसपालि । २० लाख सीआईएफ (लागत, बीमा र ढुवानी खर्च) कारोबार मूल्य भएका गाडीमा सबै ट्याक्सहरू थुपार्दा पनि ४२/४३ लाखमा आउन सक्छ ।’
अर्थमन्त्री वाग्लेमाथि बजेटमा करको दर बढ्ने सूचना चुहाएको आरोप पनि छ । अर्थ मन्त्रालयबाट चुहिएको सूचका आधारमा बीवाईडीले बीवाईडीले बजेट भाषणको अघिल्लो दिनसम्म मुस्ताङको कोराना नाकाबाट कुल ६४९ वटा ईभी जाँचपास भएको आरोप लगाइएको छ । यद्यपि अर्थ मन्त्रालयले नै गठन गरेको छानबिन समितिले ती कार वैध रूपमा आयात गरिएको निष्कर्ष निकालेको छ ।








प्रतिक्रिया