
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउन–जेठ) सम्म नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै बढेका छन् । यो वर्ष आयातको ४ वर्ष पुरानो तथा निर्यात तर्फ गत वर्षको रेकर्ड तोडिने भएको हो ।
तर निर्यातको तुलनामा आयातको वृद्धि उच्च रहेकाले व्यापार घाटा झन् फराकिलो बनेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा आयात १६ खर्ब ४४ अर्ब ७९ करोड ७६ लाख रुपैयाँ रहेको थियो । यस आधारमा आयात १५.१६ प्रतिशत ले बढेको देखिन्छ ।
यही अवधिमा नेपालबाट २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको ११ महिनामा निर्यात २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँ थियो । यसरी निर्यात १२.२८ प्रतिशत ले वृद्धि भएको छ ।
तर आयातको तुलनामा निर्यात निकै कम रहेकाले व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख रुपैयाँ पुगेको छ । व्यापार घाटा यो हाराहारीमा नाघ्नु अर्थतन्त्रका लागि ठूलो चुनौती हो ।
आयातको तुलनामा निर्यातको हिस्सा निकै न्यून रहनुले देशको विदेशी मुद्रा सञ्चितिमा दबाब सृजना गरेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७ प्रतिशतभन्दा माथि र निर्यातको हिस्सा करिब १३ प्रतिशत मात्रै रहनुले नेपाल आयातमुखी अर्थतन्त्रमा परिणत भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ थियो । यसरी व्यापार घाटा १५.६७ प्रतिशतले बढेको छ ।
कुल वैदेशिक व्यापार (आयात तथा निर्यात) भने २१ खर्ब ७२ अर्ब ६ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.७८ प्रतिशत बढी हो ।
आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्बको वस्तु आयात भएयता त्यति धेरै आयात कहिल्यै भएको थिएन । सो आव २ खर्ब ३ करोडको वस्तु निर्यात भएको थियो ।
त्यसयता आव २०७९/८० मा १६ खर्ब ११ अर्बको आयात हुँदा १ खर्ब ५७ अर्ब बराबरको निर्यात, आव २०८०/८१ मा १५ खर्ब ९२ अर्बको आयात हुँदा १ खर्ब ५२ अर्ब बराबरको निर्यात र आव २०८१/८२ मा १८ खर्ब ४ अर्बको आयात हुँदा २ खर्ब ७७ अर्ब बराबरको निर्यात भएको थियो ।
आयात–निर्यात अनुपात झन् असन्तुलित
तथ्यांकले नेपालको व्यापार संरचना अझै आयातमुखी रहेको देखाएको छ । समीक्षा अवधिमा आयात–निर्यात अनुपात ६.८१ गुणा पुगेको छ ।
अर्थात् नेपालले निर्यात गरेको प्रत्येक १ रुपैयाँ बराबरको वस्तुको सट्टा ६.८१ रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । कुल व्यापारमा निर्यातको हिस्सा १२.८० प्रतिशत मात्रै रहेको छ भने आयातको हिस्सा ८७.२० प्रतिशत छ ।
सबैभन्दा धेरै आयात भएका १० वस्तु
समीक्षा अवधिमा नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थ, खाद्य तेलका कच्चा पदार्थ, फलामजन्य सामग्री, मोबाइल फोन तथा औषधिजन्य वस्तु आयात गरेको देखिन्छ ।
मूल्यको आधारमा शीर्ष १० आयातित वस्तुमा सबैभन्दा माथि डिजेल परेको छ । ११ महिनाको अवधीमा डिजेल १ खर्ब ५२ अर्ब ६७ करोड ९९ लाखको आयात भएको छ । यस्तै कच्चा सोयाबिन तेल १ खर्ब १९ अर्ब ६३ करो २ लाख रुपैयाँ, पेट्रोल ६८ अर्ब १७ करोड ८८ लाख रुपैयाँ, फलामजन्य उत्पादन ५३ अर्ब ६९ करोड १० लाख, एलपी ग्यास ५२ अर्ब २१ करोड ६६ लाख, स्मार्टफोन ४३ अर्ब ४५ करोड ४८ लाख रुपैयाँबराबरको आयात भएको छ ।
यस्तै हट रोल्ड फलाम तथा स्टिल क्वाइल २६ अर्ब ४६ करोड ९२ लाख, औषधीजन्य तयारी औषधी २६ अर्ब १० करोड २९ लाख, सुन २५ अर्ब ७८ करोड ५० लाख र डीएपी रासायनिक मल २२ अर्ब ३८ करोड ९३ लाख रुपैयाँबराबरको आयात भएको छ ।
निर्यातमा सोयाबिन तेलको दबदबा
निर्याततर्फ भने प्रशोधित खाद्य तेलले ठूलो हिस्सा ओगटेको छ । विशेषगरी भारततर्फ हुने प्रशोधित सोयाबिन तथा अन्य वनस्पति तेलको निर्यातले कुल निर्यातको ठूलो भाग धानेको छ ।
मूल्यका आधारमा सबैभन्दा बढी निर्यात भएका वस्तुहरुको अग्रस्थानमा प्रशोधित सोयाबिन तेल परेका छन् । ११ महिनाको अवधीमा सबैभन्दा बढी अर्थात १ खर्ब १३ अर्ब १८ करोड ३२ लाख रुपैयाँबराबरको सोयाबिन तेल भारत निर्यात भएको छ ।
यसपछि १२ अर्बको ठूलो अलैंची, ७ अर्ब ९९ करोड ३२ लाखको सनफ्लावर तेल, ६ अर्ब १४ करोड २ लाखको प्रशोधित पाम आयल, ६ अर्ब ७ करोड ४२ लाखको ऊनी गलैंचा, ५ अर्ब ७८ करोड ३८ लाखकोे जुटजन्य कपडा निर्यात भएको छ ।








प्रतिक्रिया