अर्जेन्टिनाको चुनौती: के पाको टोलीले मेसीलाई दिलाउन सक्ला ‘परफेक्ट’ बिदाइ ?

औसत उमेर २९ वर्ष, खेलाडीहरूको ऊर्जा कति बाँकी छ भन्नेमा चिन्ता !

112
Shares

एजेन्सी । लियोनेल स्कालोनीको अर्जेन्टिना प्रशिक्षकको रूपमा त्रुटिहीन रेकर्ड छ । तीन प्रतियोगिता, तीनवटा उपाधि-जसमा ला अल्बिसेलेस्टेको २०२१ र २०२४ को कोपा अमेरिका जितको बीचमा २०२२ को विश्वकपको सफलता समावेश छ । आफ्नो पहिलो व्यवस्थापकीय भूमिकामा रहेका प्रशिक्षकका लागि यो अभूतपूर्व उपलब्धि हो ।

लगातार दुईवटा विश्वकप जित्नु अभुपूर्व कुरा त होइन, तर यो असाध्यै दुर्लभ उपलब्धि हो ।

इटालीले विश्वकपको सुरुवाती चरणमा सन् १९३४ र १९३८ मा यो सफलता हात पारेको थियो । तर त्यसपछि युवा पेलेबाट प्रेरित ब्राजिलले मात्र सन् १९६२ मा आफ्नो उपाधि रक्षा गर्न सफल भएको थियो ।

वास्तवमा, हालका समयमा डिफेन्डिङ च्याम्पियनको रूपमा विश्वकपमा सफल हुनु धेरै गाह्रो साबित भएको छ । सन् २०२२ मा फ्रान्स यस शताब्दीमा समूह चरण पार गर्ने दोस्रो डिफेन्डिङ च्याम्पियन बनेको थियो ।

अर्थात विश्वकप विजेता भएपछिको अर्को विश्वकपमा जर्मनी (२०१८), स्पेन (२०१४), इटाली (२०१०) र फ्रान्स (२००२) मा पहिलो चरणबाटै बाहिरिएका थिए । डिडियर डेश्याम्प्सको टोली फाइनलसम्म पुगेको थियो-जुन सन् १९९८ मा ब्राजिलपछि अघिल्लो संस्करणको विजेताले गरेको पहिलो उपलब्धि थियो ।

नयाँ ४८-टोलीको ढाँचा र अनुकूल ड्रका कारण अर्जेन्टिनाले २०२६ मा त्यस्तो नियति भोग्नुपर्ने सम्भावना कम छ । तर के स्कालोनीले आफ्नो उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय फुटबलको यो सर्वोच्च पुरस्कारका लागि अर्को योजना बुन्न सक्लान् ? त्यसका लागि उनले अर्जेन्टिनाका नयाँ पुस्ताका स्टारहरू तर्फ टोलीलाई अघि बढाउनु पर्ने हुन सक्छ ।

परिचित अनुहारहरू

अर्जेन्टिना कान्सास सिटीस्थित आफ्नो प्रशिक्षण शिविरमा प्रायः ती खेलाडीहरूसँग ओर्लिएको छ जसले ४ वर्षअघि कतारमा सफलता दिलाएका थिए । उनीहरूको २६ सदस्यीय टोलीका १७ जना खेलाडी २०२२ को टोलीमा थिए ।

लुसेलमा फ्रान्स विरुद्ध सुरुवाती ११ मा रहेका खेलाडीहरूमध्ये केवल एन्जेल डी मारिया मात्र टोलीमा छैनन्, जसले २०२४ को कोपा अमेरिका फाइनलमा ‘प्लेयर अफ द म्याच’ जितेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

यसले स्कालोनीको सफल युगको आधार बनेको छनोटको स्थिरतालाई झल्काउँछ । उनको वर्तमान टोलीका १६ जना खेलाडी उनको पहिलो प्रतियोगिता २०२१ को कोपा अमेरिका जित्दाका सदस्य हुन् । यसको विपरीत, ब्राजिलको पाँच वर्षअघिको टोलीका केवल ११ जना खेलाडी अहिले उत्तर अमेरिकामा छन्, जसमा तीनजना गोलकिपर समावेश छन् । त्यस्तै, इंग्ल्याण्डले उही समयमा युरो कपको फाइनल पुग्दाको टोलीका केवल ९ जना खेलाडीलाई मात्र कायम राखेको छ ।

ढल्किँदो उमेर

एक अर्कासँगको यो परिचितताले अर्जेन्टिनी टोलीमा दाजुभाइको जस्तो सम्बन्ध विकास गर्न मद्दत पुर्याएको छ, तर उमेरले उनीहरूलाई गलत समयमा धोका दिन सक्ने चिन्ताले सताउन सक्छ ।

टोलीका ९ सदस्यहरू ३० वर्ष नाघिसकेका छन् । जसमा एमिलियानो मार्टिनेज, रोड्रिगो डी पल र पक्कै पनि लियोनेल मेसी जस्ता मुख्य खेलाडीहरू समावेश छन्, जो आफ्नो कीर्तिमानी छैटौँ विश्वकपको समयमा ३९ वर्षका हुनेछन् ।

अर्कोतर्फ, फ्रान्को मास्टान्टुआनो र अलेहान्ड्रो गार्नाचो जस्ता खेलाडीहरूलाई बेवास्ता गरिएपछि जुलियानो सिमियोनी, भ्यालेन्टिन बार्को र निको पाज गरी तीनजना खेलाडी मात्र २५ वर्ष मुनिका छन् ।

थकित शरीर

औसत उमेर २९ वर्ष हुनुका साथै, पछिल्ला केही वर्षहरूको निरन्तर खेल तालिकाका कारण स्कालोनीका केही मुख्य खेलाडीहरूको ऊर्जा कति बाँकी छ भन्नेमा पनि चिन्ता छ । २०२४ को कोपा अमेरिकाका साथै, उनका ११ खेलाडीहरूले गत समरको क्लब विश्वकपमा पनि भाग लिएका थिए, जसको अर्थ कतिपयका लागि पछिल्ला तीन सिजनहरू विश्रामविहीन रहेका छन्।

२०२४-२५ सिजनको सुरुदेखि नै मुख्य मिडफिल्डर एन्जो फर्नान्डेज र स्टार स्ट्राइकर जुलियन अल्भारेजले क्लब र देशका लागि १२१-१२१ खेल खेलेका छन् । त्यसैले एथ्लेटिको म्याड्रिडको सिजनको अन्तिम हप्ताहरूमा अल्भारेजलाई गोलीगाँठोको समस्याका कारण सावधानीपूर्वक खेलाइएको थियो भने अचम्म मान्नु पर्दैन । एन्जो फर्नान्डेज २५ वर्षको उमेरमा शारीरिक रूपमा फिट भए पनि उनले खेलेका धेरै खेलहरूको असर कुनै न कुनै समयमा देखिनु स्वाभाविक हुनेछ ।

निश्चय नै एलेक्सिस म्याक एलिस्टरको प्रदर्शनमा आएको गिरावटमा उनले खेलेका धेरै खेलहरूको भूमिका देखिन्छ । क्लब विश्वकप नखेले पनि लिभरपुलका यी मिडफिल्डरले पछिल्ला दुई सिजनमा क्लब र देशका लागि ११९ खेल खेलिसकेका छन् ।

उनले नेपाली समय अनुसार बुधबार(भोलि) बिहान पौने ७ बजे अल्जेरिया विरुद्धको पहिलो खेलमा सुरुवाती भूमिका निभाउने अपेक्षा गरिएको छ । तर प्रिमियर लिगमा पछिल्लो नौ महिनाको उनको प्रदर्शनलाई हेर्ने हो भने, स्कालोनीले उनलाई धेरै समय दिने छैनन् र विकल्प खोज्न बाध्य हुनेछन्।

फेब्रुअरीमा म्यानचेस्टर सिटीसँग लिभरपुल पराजित हुँदा सामाजिक सञ्जालमा म्याक एलिस्टरको आलोचना गरेपछि ‘टकस्पोर्ट’सँग कुरा गर्दै पूर्वविङ्गर जर्मेन पेनेन्टले भनेका थिए, ‘मैले खेल हेरिरहेको थिएँ र म निराश थिएँ, त्यसैले मैले ट्वीट गरेँ । म रिसाएको थिएँ, तर त्यो रचनात्मक रिस थियो । मैले यो कुरा उठाएको थिएँ कि चोटपछि मैदान फर्किएपछि तपाईं आफ्नो छाया मात्र बन्नुभएको छ; लाग्छ तपाईंको खुट्टामा पहिलेको जस्तो बल छैन। सिटी विरुद्धको खेलमा उनी केवल एक दर्शक जस्तै थिए ।’

विश्वास कायम राख्दै

कुनै दबाब बिना, स्कालोनीले फेरि पनि त्यही मुख्य समूहमा विश्वास राख्ने तयारी गरेका छन् जसले उनको नेतृत्वमा अहिलेसम्म कुनै पनि ठूलो प्रतियोगितामा असफलता भोगेको छैन ।

२०२२ को फाइनल खेल्ने सातजना खेलाडीहरू अल्जेरिया विरुद्ध एरोहेड स्टेडियममा सुरुवाती ११ मा हुनेछन् । यदि अल्भारेज, निकोलस टाग्लियाफिको र नाहुएल मोलिना घाइते नभएका भए यो संख्या १० सम्म पुग्न सक्थ्यो ।

क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फर्नान्डेज, डी पल, म्याक एलिस्टर र मेसीले आफ्नो पुरानै भूमिका निभाउनेछन्, जबकि २०२४ को कोपा अमेरिका गोल्डेन बुट विजेता लाउटारो मार्टिनेजले अल्भारेजको स्थान लिनेछन् । यो टोलीलाई कसरी जित्ने भन्ने राम्रोसँग थाहा छ-तर अर्जेन्टिनालाई फेरि पनि उपाधि नजिक पुर्याउन के स्कालोनीले जोखिम मोलेर युवा खेलाडीहरूमाथि भरोसा गर्नुपर्ला ?

परिवर्तनको अवसर

जोखिम मोल्न नचाहने स्कालोनीको स्वभाव अल्जेरिया विरुद्धको खेलका लागि लेफ्ट-ब्याकको छनोटमा प्रष्ट देखिन्छ । टाग्लियाफिको बाहिरिएपछि हालैका मैत्रीपूर्ण खेलहरूमा प्रभावशाली प्रदर्शन गरेका बार्को टोलीमा आउने अपेक्षा गरिएको थियो।

स्ट्रासबर्गका यी खेलाडी, जो यो समरमा चेल्सीमा आबद्ध हुने व्यापक चर्चा छ, उनले अर्जेन्टिनाका पछिल्ला तीनमध्ये दुई खेलमा गोल गरेका छन् ।

बार्को वास्तवमा लेफ्ट-ब्याक हुन् र २१ वर्षीय यी खेलाडीको ऊर्जाले यो पाको उमेरको अर्जेन्टिनी टोलीलाई नयाँ गति दिन सक्छ।

यसको सट्टा, स्कालोनीले म्यानचेस्टर युनाइटेडका लिसान्द्रो मार्टिनेजलाई अल्जेरियाका दिग्गज खेलाडी रियाद महरेजलाई रोक्ने जिम्मा दिने देखिएको छ । मार्टिनेज रक्षात्मक रूपमा बार्को भन्दा पक्कै बलिया छन्, तर सेन्टर-ब्याकको रूपमा खेल्ने उनको शैलीका कारण उनी अगाडि बढेर आक्रमणमा उति धेरै सहयोग गर्न सक्दैनन् ।

यसैबीच, सिमियोनीले पहिलो खेलमा सुरुवाती अवसर पाउने देखिएको छ, तर राइट-ब्याकको अपरिचित भूमिकामा । मोलिना र गोन्जालो मोन्टिएल दुवै चोटबाट निको हुने क्रममा छन्, त्यसैले उनीहरू पूर्ण रूपमा फिट नहुन्जेल सिमियोनीले नै सो स्थान सम्हाल्नेछन्।

पाजको पक्षमा तर्क

अर्जेन्टिनाको नयाँ पुस्ताको कुरा गर्दा सबैभन्दा ठूलो बहस २१ वर्षीय पाजको बारेमा भइरहेको छ, जसले कोमोका लागि पछिल्ला दुई सिजन इटालीमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सेस्क फाब्रीगासको प्रशिक्षणमा सिक्दै पाजले यो सिजन १३ गोल र ७ असिस्ट गर्दै आफ्नो टोलीलाई चौथो स्थान र च्याम्पियन्स लिगमा छनोट गराउन मद्दत गरे। उनी सिरी ए को सिजनको उत्कृष्ट मिडफिल्डर घोषित भए र रियल म्याड्रिडले उनलाई यो समरमा फिर्ता किन्ने ‘बाई-ब्याक क्लज’ प्रयोग गर्ने विश्वास गरिएको छ ।

पाजको पास दिने कला, बल नियन्त्रणमा जोखिम मोल्ने आँट र युवा जोश म्याक एलिस्टरको हालैको प्रदर्शन भन्दा निकै फरक छ ।

घुँडाको सानो चोटका कारण उनले सुरुमा बेन्चमा बस्नुपर्ने भए पनि, यदि खेलमा अर्जेन्टिनालाई गाह्रो भयो भने स्कालोनीले नयाँ रगत भित्र्याउन खुल्ला सोच राख्नै पर्छ।

आगामी बाटो

स्कालोनीले यो पहिले पनि गरिसकेका छन्, जब कतारमा समूह चरणको बीचमा २१ वर्षीय फर्नान्डेजलाई मैदान छिराउने उनको निर्णयले प्रतियोगिताको दिशा नै बदलिदिएको थियो। पहिले सफलता दिलाउने खेलाडीहरू प्रतिको उनको वफादारी प्रशंसनीय छ, तर यदि उनले लगातार चौथो सफलता हात पार्नु छ भने कडा निर्णयहरू लिनै पर्नेछ, विशेष गरी अर्जेन्टिनाको फाइनलसम्मको बाटो निकै कठिन हुन सक्छ ।

यदि उनीहरूले अल्जेरिया, अस्ट्रिया र जोर्डन सम्मिलित समूह ‘जे’ जितेमा, अर्जेन्टिनाले अन्तिम ३२ मा समूह ‘एच’ को उपविजेतासँग सामना गर्नेछ-जुन स्पेन वा सम्भवतः उरुग्वे हुन सक्छ। त्यो जितेमा, अन्तिम १६ मा समूह ‘डी’ (अहिले अस्ट्रेलिया) वा समूह ‘जी’ (बेल्जियम, इजिप्ट वा इरान) को उपविजेतासँग खेल्नु पर्नेछ ।

क्वार्टर-फाइनलदेखि भने चुनौती निकै बढ्नेछ। यदि वरीयता अनुसार नतिजा आएमा अर्जेन्टिना र पोर्चुगल बीचको भिडन्त हुने सम्भावना छ, जसले मेसी र क्रिस्टियानो रोनाल्डो बीचको अन्तिम विश्वकपमा ऐतिहासिक भिडन्त तय गर्नेछ।

त्यस समयसम्म स्कालोनीले आफ्नो उत्कृष्ट टोली चिनिसकेका हुनेछन् भन्ने आशा गर्न सकिन्छ, ताकि उनले मेसीलाई सम्भव भएसम्मको उत्कृष्ट बिदाइ दिन सकून् । र धेरै सम्भावना छ कि त्यो टोलीमा नयाँ पुस्ताका एक वा दुई सदस्यहरू पक्कै हुनेछन् ।

(गोल डटकममा प्रकाशित टम मास्टनको लेखको अनुवाद ।)

Skip This