जीवन बिमा कम्पनीका सबै सीईओसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले किन लियो बयान?

हिमालयन रिको बदमासीः सिधै लिएको बिजनेसलाई ब्रोकरमार्फत् आएको देखाएर एलियन्टको खातामा कमिसन, चकित परे सीईओ


काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल बिमा प्राधिकरणमार्फत् एक बिमा कम्पनीका सीईओलाई ‘एलियन्ट पुनर्बिमा ब्रोकरबारे विशेष कुरा गर्नु छ’ भन्दै बोलायो । एलियन्ट ब्रोकरसँग सिधै कारोबार नगरेका र कुनै चिनाजान वा सम्पर्क नभएका उनी बोलाउनूको उदेश्य सुनेर चकित परे ।

प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेका दीपक भट्टकी सासूआमाको नाममा दर्ता भएको एलियन्ट ब्रोकरका विषयमा कुरा गर्नु छ भनेर विभागले बोलाएपछि चकित र त्रसित हुनु स्वाभाविक नै थियो ।

सम्पत्ति शुद्धीकरणले नियामक बिामा प्राधिकरणमार्फत् बोलाएपछि ती सीईओ विभाग पुगे । केही विषयमा सोधपुछ गर्न ‘मलाई मात्रै बोलाएको होला’ भन्ने ठानेर उनी एक्लै विभागमा पुगेका थिए ।

तर, त्यहाँ पुगेपछि छक्क उनी परे । कारण थियो त्यहाँ उनको मात्रै उपस्थिति थिएन ।

‘मलाई मात्र बोलाएको होला भनेर गएको त सबै लाइफ इन्स्योरेन्स कम्पनीका सीईओलाई त्यहीँ भेटें । यो गत शुक्रबारको कुरा हो,’ जीवन बिमा कम्पनीका ती सीईओले क्लिकमान्डुसँग भने । उनका अनुसार सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा १४ वटै बिमा कम्पनीका सीईओहरुलाई बोलाइदिने काम भने प्राधिकरणले गरेको थियो ।

व्यवसायी दीपक भट्टबारे सम्पत्ति शुद्धीकरणको विषयमा भइरहेको अनुसन्धानमा उनको सासूको नाममा रहेको एलियन्ट ब्रोकरबारे प्रहरीले खोजतलास सुरु गरेको छ । यसै सिलसिलामा सम्पत्ति सुद्धीकरण विभागले बिमा कम्पनीका सीईओहरुलाई समेत बोलाएर बयान लिएको हो ।

बिमा क्षेत्रमा सीमित व्यक्ति तथा समूहको यति धेरै गैरकानुनी धन्दा हुँदा पनि नियामक प्राधिकरणले देखाउँदै आएको अस्वभाविक मौनतामाथि पनि प्रश्न उठेको छ ।

खासगरी, नेपालका जीवन बिमा कम्पनीले हिमालयन रिइन्स्योरेन्समा बढीमा ४० प्रतिशत र बाँकी नेपाल पुनर्बिमा कम्पनीमा पुनर्बिमा गर्ने ट्रिटी (सम्झौता) गरेका छन् । कसैले नेपाल बिमा प्राधिकरणले निर्देशन गरेअनुसार न्यूनतम मात्र नेपाली पुनर्बिमा कम्पनीमा जोखिम सारेका हुन्छन् । तर, जीवन बिमा कम्पनीले पुनर्बिमाका लागि ब्रोकर राख्नु पर्दैन । अर्थात् बीचमा पुनर्बिमा एजेन्टको प्रयोग नगरी जीवन बिमा कम्पनीले सिधै पुनर्बिमा कम्पनीसँग सम्झौता गर्छन् ।

‘जीवन बिमा कम्पनीले पुनर्बिमाका लागि ब्रोकर राख्न पाउँदैन । तर, अनुसन्धानका क्रममा हिमालयन रिले उक्त प्रावधान विपरित एलियन्ट ब्रोकर एजेन्टको रुपमा रहेको उल्लेख गर्दै ब्रोकर कमिसनका रुपमा एलियन्टको खातामा पैसा पठाइदिएको भेटिएको रहेछ,’ जीवन बिमा कम्पनीका अर्का एक सीईओले क्लिकमान्डुसँग भने, ‘सोही विषय बुझ्न हामीलाई बोलाइएको रहेछ।’

उनका अनुसार नियमअनुसार जीवन बिमा कम्पनीहरूले हिमालयन रिसँग सीधै पुनर्बिमा सम्झौता गर्छन्, जसमा ब्रोकर राख्न पाइँदैन । तर, हिमालयन रिले बिमा कम्पनीहरूलाई जानकारी नै नदिई ‘एलियन्ट ब्रोकर’मार्फत् व्यवसाय आएको कागजात बनाएर उक्त ब्रोकरको खातामा रकम (कमिसन) पठाएको अनुसन्धानका क्रममा पाइएको छ ।

बिमा कम्पनीहरुले इस्योरेन्स पुलमार्फत पनि पुनर्बिमा गराउँछन्। यसरी पुलमार्फत हिमालयन रिमा गएको बिजनेशलाई पनि हिमालयन रिले एलियन्ट ब्रोकरबाट आएको भनेर उसको खातामा कमिसन पठाएको छ ।

एलियन्टले कमिसनका रुपमा लिएको पैसाको हिस्सा सीईओमा पुगेको आशंका

सम्पत्ति सुद्धीकरणले गैरकानुनी रुपमा एलियन्टको खातामा गएको कमिसन रकमको विषयमा मात्रै बुझ्न बिमा कम्पनीका सीईओहरुलाई बोलाएको थिएन । बरु, एलियन्टले कमिसनका रुपमा लिएको पैसाको केही हिस्सा सीईओसम्मै पुगेको हुनसक्ने आशंकामा समेत बोलाएको थियो ।

‘हामीले पुनर्बिमाका लागि हिमालयन रिसँग सिधा सम्झौता गरेका हुन्छौं । बीचमा कुनै ब्रोकर वा एजेन्टको कुरै आउँदैन । तर, उहाँहरुले भित्रभित्रै हामीले दिएको बिजनेस ब्रोकरमार्फत् लिएको भनेर देखाउनु भएछ,’ ती सीईओले भने, ‘यसरी एलियन्टलाई कमिसन दिएको पाइएपछि विभागले हामीलाई समेत शंकाको घेरामा राखेको रहेछ ।’

बयानका क्रममा सीईओहरूले एलियन्टसँग आफ्नो कुनै सम्झौता नभएको र हिमालयन रिले भित्रभित्रै ब्रोकर घुसाएर कमिसन स्वरुप पैसा दिएको हुनसक्ने धारणा राखे । यद्यपि, विभागले भने यो कमिसनको केही हिस्सा सीईओहरूले व्यक्तिगत रूपमा लिएको हुन सक्ने आशंकासहित बयान लिने काम गरेको हो ।

‘यतिसम्म कि मर्जरमा गएका छुट्टाछुट्टै जीवन बिमा कम्पनीले पनि एलियन्ट ब्रोकरमार्फत् नै बिजनेस दिएको भनेर हिमालयन रिले देखाएको रहेछ,’ ती सीईओले भने, ‘हामीले मात्र होइन, १४ वटै जीवन बिमा कम्पनीले ब्रोकरमार्फत् पुनर्बिमा गरेका छैनन् । यहि कुरा हामीले विभागमा पनि राख्यौं ।’ ती सीईओका अनुसार बयान लिएपछि विभागले ल्याप्चेसमेत लगायो जसलाई उनले ‘करियरमै पहिलोपटक यसरी बयान दिएको’ भनेर सुनाए ।

कसरी घुम्यो सीईओतर्फ शंकाको सुई ?

हुन त सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिमा कम्पनीहरुलाई एलियन्टसँग कुनै सम्झौता गरे नगरेको वा ब्रोकर कमिसन कारोबार भए नभएको जानकारी मागेको थियो ।

उक्त जानकारी माग गर्दै विभागले लेखेको पत्रमा भनिएको छ, ‘त्यहाँ बिमा कम्पनीले पुनर्बिमा गर्ने क्रममा एलियन्ट ब्रोकरसँग कुनै पनि सम्झौता गरेको वा ब्रोकेज कमिसन कारोबार भए नभएको उल्लेख गरी यदि कारोबार भएको भए सोको लेजर वा ट्रिटी खुल्ने कागजात समेत तत्काल उपलब्ध गराउनू । साथै, सोको जानकारी नेपाल बिमा प्राधिकरणलाई समेत उपलब्ध गराई अनुसन्धानमा सहयोग गर्नू ।’

विभागले लेखेको उक्त पत्रको जवाफ पठाउँदै जीवन बिमा कम्पनीहरुले ‘एलियन्टसँग कुनै पनि सम्झौता नगरेको’ जानकारी दिए ।

तर, विभाग यतिमै सन्तुष्ट भएन । त्यसपछि उसको आशंका सीईओहरुतर्फ मोडियो, ‘कतै सीईओहरुले एलियन्टबाट सुटुक्क पैसा लिइरहेका त छैनन् ? यसमा सीईओहरु कै मिलेमतो त छैन ?’ सोही आशंकासहित विभागले जीवन बिमा कम्पनीका सीईओहरुको बयानमा बोलाएको थियो ।

त्यसपछि बिमा कम्पनीका सीईओहरुले विभागमा पुगेर ‘कम्पनीको पुनर्बिमा नीतिमा नै पुनर्बिमा गर्दा कुनै पनि ब्रोकर प्रयोग नगर्ने स्पष्ट नीति रहेको र कम्पनी र एलियन्टबीच पुनर्बिमा गर्न कुनै पनि सम्झौता नगरेको’ भन्ने बयान दिएका हुन् ।

सीईओहरूको बयान शिव पोखरेल नाम गरेका अनुसन्धान अधिकारीले लिएका थिए ।

विभागले सबै कम्पनीका सीईओहरुलाई कुन कम्पनीले गरेको पुनर्बिमावापत हिमालयन रिले एलियन्टलाई कति कमिसन दियो भन्नेसम्मको विवरण देखाइदिएको थियो । जुन विवरणअनुसार हिमालयन रिले ‘एलियन्ट ब्रोकर’मार्फत् व्यवसाय आएको भन्दै पठाएको सबै रकम उल्लेख छ ।

हिमालयन रिको वार्षिक प्रतिवेदनअनुसार आव २०७७/७८ मा ९१६ रूपैयाँ ७० पैसा ब्रोकरेज खर्च देखिन्छ । यस्तो खर्च आव २०७८/७९ मा ६ लाख २३ हजार २७५ रूपैयाँ, आव २०७९/८० मा २५ करोड ४ लाख ८७ हजार ४ सय ४९४ रूपैयाँ र आव २०८०/८१ मा ३३ करोड ६२ लाख ६२ हजार २३० रूपैयाँ भएको देखिन्छ ।

जसमध्ये जीवन बिमातर्फ पछिल्ला २ आर्थिक वर्षमा क्रमशः १४ करोड ३३ लाख ९३ हजार ८९५ रूपैयाँ र १५ करोड ७ लाख ५१ हजार ८५४ रूपैयाँ गरी कुल २९ करोड ४१ लाख ४५ हजार ७४९ रूपैयाँ ब्रोकरेज कमिसनका नाममा खर्च भएको छ, जुन खर्च गर्नु नपर्ने कमिसन हो ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अझै बनिसकेको छैन भने अहिले आव २०८२/८३ चलिरहेको छ ।

तर, बिमा क्षेत्रमा सीमित व्यक्ति तथा समूहको यति धेरै गैरकानुनी धन्दा हुँदा पनि नियामक प्राधिकरणले देखाउँदै आएको अस्वभाविक मौनतामाथि पनि प्रश्न उठेको छ ।

बिमा जगतमा भइरहेको बेथिति किन प्राधिकरणको राडारमा परेन र आफूले नियमन गर्ने निकायको लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्दा यस्ता बेथिति किन देखेन ? भन्ने प्रश्न प्राधिकरणमाथि पनि उठेको छ । कतिपयले यी विषयमा प्राधिकरण र यसका नेतृत्वहरुमा पनि सुक्ष्म अनुसन्धान गर्नुपर्ने विषय उठाइरहेका छन् ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीको रकम दीपक भट्टको नाममा सेयर खरिद गर्न दुरूपयोग भएको भन्दै यतिबेला उनीमाथि अनुसन्धान भइरहेको छ । हिमालयन रिइन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र तिनका सहायक कम्पनीहरू (हिमालयन सेक्युरिटिज, हिमालयन क्यापसर्भ आदि) को रकम प्रयोग गरेर व्यक्तिगत सेयर खरिदको राफसाफ (सेटलमेन्ट) गरेको आरोप लगाइएको । भट्टसँगै र सुभी अग्रवालले भृकुटी स्टक ब्रोकिङमार्फत अर्बौंको सेयर खरिद अर्डर दिँदा कोल्याटरल नराखेको र एक रुपैयाँ पनि भुक्तानी नगरी ब्रोकरले उनीहरूको खातामा सेयर पठाइ दिएको पाइएको छ । ब्रोकर नं. ५५ भृकुटी स्टक ब्रोकिङको खातामा व्यवसायी भट्टबाट लिन बाँकी र हिमालयन रिलाई तिर्न बाँकी बराबर देखिएपछि भट्टले सेयर किनेको पैसा हिमालयन रिबाट मिलाइएको हुनसक्ने शंका गरिएको छ ।

यसबाहेक, उनीहरूमाथि ‘इन्साइडर ट्रेडिङ’ र बजारमा चलखेल समेत गरेको सम्म आरोप छ । धितोपत्र बोर्डले यस प्रकरणलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को गम्भीर उल्लंघन मानेको छ ।

व्यवसायी भट्टमाथि बिमा ऐन, २०७९ को कसुरमा पनि अनुसन्धान भइरहेको छ । पुनर्बिमा कम्पनीको रकम दुरूपयोग गरेको भन्दै उनीहरूमाथि अनुसन्धान भइरहेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरणसम्मको कसुरमा अनुसन्धान भइरहेको छ । यस्तोमा एलियन्ट ब्रोकरमार्फत् भएको रकम दुरूपयोगको विषयबारे थप बुझ्न जीवन बिमा कम्पनीहरूको बयान लिइएको हो ।