बहुपक्षीय असर देख्दादेख्दै हिमालयन रिको नयाँ व्यवसाय रोक्ने निर्णयमा किन पुग्यो प्राधिकरण ?

व्यवसाय ठप्प हुँदा गम्भीर असर पर्ने, स्वदेशी बिमक अन्योलमा

1.3k
Shares

काठमाडौं । नेपालको निजी क्षेत्रको एकमात्रै पुनर्बिमा कम्पनी ‘हिमालयन रि–इन्स्योरेन्स’ अहिले नयाँ व्यवसाय गर्न नपाउने स्थितिमा छ । नेपालमा मात्रै नभएर विदेशमा समेत पुनर्बिमाको व्यवसाय गर्ने हिमालय रि माथि प्राधिकरणले नयाँ पुनर्बिमा व्यवसायमा रोक लगाएसँगै उसको व्यवसाय थप्ने काम ठप्प छ ।

प्राधिकरणले बिमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बिमा व्यवसाय गर्न रोक लगाएको छ । जसमा पुनर्बिमा दावी भुक्तानी गर्ने कार्य र यसअघि भए गरेका पुनर्बिमा व्यवसायका लागि रेट्रोसेसन गर्ने कार्यबाहेक कम्पनीले नयाँ व्यवसाय थप्न नपाउने भनिएको छ ।

तर, अहिले बिमा प्राधिकरणको नयाँ व्यवसाय रोक लगाउने निर्णयमाथि प्रश्न उठिरहेको छ । विदेशबाट समेत व्यवसाय भित्र्याउने कम्पनीमाथि अन्य कारबाहीको विकल्प हुँदाहुँदै व्यवसाय गर्नै रोक लगाउँदा त्यसले समग्र नेपाली बिमा क्षेत्रदेखि विदेशीले नेपाली कम्पनीलाई हेर्ने दृष्टिकोणमा समेत असर परेको छ ।

अर्थात्, नेपालबाट पुनर्बिमा कम्पनीको रुपमा विस्तारै अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान बनाउँदै गएको कम्पनीलाई प्राधिकरणले गरेको कारबाहीले उसको प्रतिष्ठा धुमिलिन पुगेको छ । नेपालमा वार्षिक केही मात्रामा भए पनि विदेशबाट व्यवसाय भित्र्याउने गरेको एकमात्रै कम्पनीलाई नयाँ व्यवसायमा रोक लगाएसँगै बाहिरबाट आउने व्यवसाय रोकिएको छ ।

‘अन्तर्राष्ट्रिय स्तरमा राम्रो रेटिङ पाएको र विदेशबाट सानै भएपनि व्यवसाय भित्र्याउने गरेको ब्रान्डमाथि नयाँ व्यवसायमा रोक लगाउँदा बाहिर नेपालको छवि बिग्रिन्छ भने नेपालमा जे पनि हुन सक्छ भन्ने अनिश्चितता उनीहरुले अनुभूति गर्न सक्छन्,’ बिमा क्षेत्रका एक जानकारले क्लिकमान्डुसँग भने, ‘गलत गर्ने नेतृत्व र व्यक्तिलाई कारबाही गर्नुपर्नेमा कम्पनीलाई नै कारबाही गर्दा यसले समग्र बजारको विषयमा सकारात्मक सन्देश प्रवाह हुँदैन ।’ उनले यो विषयलाई प्राधिकरणले विचार नै नपुर्याई कारबाही गरेको बताए ।

हुन त हिमालयन रिमा सर्वसाधारणको करिब ३ अर्ब रुपैयाँ लगानी छ । यदि, उसले नयाँ व्यवसाय गर्न नपाउने र हालको स्थिति कायम रहने हो भने सर्वसाधारणको सो लगानी नै जोखिममा पर्ने खतरा हुन्छ । त्यसैले प्राधिकरणले यदि सो कम्पनीमा रिस्क कन्सन्ट्रेसनका कुराहरूमा कमजोरी भएको थियो भने तथ्यांक माग गरेर अनुगमन गर्दै कानुनी दायरामा ल्याउने सक्ने बाटो थियो ।

तर, हाल प्राधिकरणले गरेको निर्णयले पुनर्बिमाको व्यवसाय नै थप बाहिर जाने स्थिति सिर्जना भएको छ । ‘हामीले नेपाल पुनर्बिमा कम्पनीलाई आधाजसो र हिमालयन रिमा बाँकी पुनर्बिमा गर्ने सम्झौता गरेका थियौं,’ एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले भने, ‘अब यस्तो स्थितिमा कसरी पुनर्बिमा गर्ने भन्ने अन्यौलता थपिएको छ ।’ उनले हिमालय रि कारबाहीमा परेसँगै बिमा कम्पनीमा पनि धेरै विषयमा अन्यौलता थपिएको छ।

हिमालयन रिले इक्रा नेपालमा सन् २०२४ मा गराएको रेटिङअनुसार कम्पनीको कुल व्यवसाय मध्ये करिब ५ प्रतिशत वैदेशिक व्यापारबाट ल्याएको देखिन्छ । साथै, कम्पनीले भारतको बिमा नियामक निकायबाट क्रस बोर्ड रि–इन्स्योरेन्स लाइसेन्स (सीमापार पुनर्बिमा अनुमति पत्र) पनि लिइसकेको थियो ।

यस अनुसार कम्पनीको कारबाहीसँग राष्ट्रिय र अन्तर्राष्ट्रिय पक्षहरू पनि जोडिएका छन् । बाहिरबाट समेत आम्दानी ल्याउने भएकाले यो केवल एउटा कम्पनीको कुरा मात्र नभई विदेशी मुद्रा आर्जनसँग जोडिएको विषय हो । नियामक निकायले असर नपर्ने किसिमका पोर्टफोलियोमा व्यवसाय आर्जन खुला पनि राख्न सक्दथ्यो तर, त्यो निर्णय भएन ।

यसो हुँदा विदेशबाट आउने नयाँ व्यवसाय रोकियो भने नेपालका बिमा कम्पनीले पनि अब विदेशी कम्पनीमा पुनर्बिमा गर्नुपर्ने स्थिति सिर्जना हुँदा यहिँ बस्ने पुँजी पनि बाहिरिने स्थिति भएको छ । अझ, भन्नुपर्दा अब हिमालयन रिलाई बाहिरबाट व्यवसाय दिइरहेकै कम्पनीले पनि शंका गर्ने र आइरहेको व्यवासय पनि बन्द हुनसक्ने स्थिति सिर्जना भएको छ ।

यस्तो स्थितिमा एक संस्थामा केही व्यक्तिको गल्तीका कारण पूरै संस्थालाई नै असर पार्नु भन्दा व्यवस्थापनमा सुधार गर्ने, टिम परिवर्तन गर्ने वा पुनर्संरचना गर्ने जस्ता विकल्पहरु प्राधिकरणले खोज्नुपर्ने जानकारहरु बताउँछन् ।

‘कम्पनीलाई समयमै पैसा भुक्तानी गर्ने र कडा निगरानी राख्ने हो भने व्यवसाय नै ठप्प पार्नु पर्ने अवस्था आउँदैनथ्यो । असार मसान्तसम्मको समय सीमा तोकिए पनि त्यसपछि व्यवसाय खुल्ला नभएमा कम्पनीहरूलाई ठूलो मार पर्नेछ,’ अर्का एक सीईओले भने, ‘तीन–चार महिना मात्र व्यवसाय रोकिँदा पनि वर्षौं लगाएर बनाएको साख गुम्छ र बंगलादेश वा श्रीलंका जस्ता देशबाट आउने व्यापारमा पनि धब्बा लाग्छ ।’

उनले नेपालको विद्यमान नियमअनुसार पुनर्बिमाको ठूलो हिस्सा स्वदेशी कम्पनीमै राख्नुपर्ने प्रावधान रहेकाले एउटा मुख्य पुनर्बिमामा व्यवसाय रोकिँदा कम्पनीहरूले तत्कालै अर्को विकल्प खोज्नुपर्ने बाध्यता सिर्जना भएको छ । यसले गर्दा पुराना त्रैमासिक हिसाबहरूको फछ्र्यौट, बक्यौता व्यवस्थापन र उताबाट आउनुपर्ने स्वीकृतिको प्रक्रियामा समेत अन्योलता थपिएको छ ।

के भन्छ नियामक प्राधिकरण?

प्राधिकरणले बिमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बिमा व्यवसाय गर्न रोक लगाएको छ । ऐनको दफा १३६ मा इजाजतपत्र निलम्बन गर्न वा व्यवसाय गर्न रोक लगाउन सक्ने व्यवस्था छ ।

यसको उपदफा (१) मा कुनै बिमकले न्यूनतम् चुक्ता पुँजी कायम नगरेमा, दाबी भुक्तानी वा हानि नोक्सानीको सम्बन्धमा भएको निर्णय तोकिएको अवधिभित्र कार्यान्वयन नगरेमा, बिमकलाई बिमा व्यवसाय सञ्चालन गर्न दिँदा बिमितको गम्भीर अहित हुने भएमा, प्राधिकरणको स्वीकृति बिना बिमा व्यवसाय बन्द गरेमा प्राधिकरणले त्यस्तो बिमकको इजाजतपत्र तोकिएको अवधिको लागि निलम्बन गर्न वा त्यस्तो बिमकलाई बिमा व्यवसाय गर्न आंशिक वा पूर्ण रुपमा रोक लगाउन सक्ने व्यवस्था छ ।

यसका अलावा, ऐन अन्तर्गत बनेको नियम, विनियम तथा प्रचलित कानून बमोजिम निषेध गरिएका अन्य कुनै कार्य गरेमा, प्राधिकरणले दिएको निर्देशन वा आदेश पटक पटक उल्लघंन गरेमा पनि त्यस्तो बिमकलाई बिमा व्यवसाय गर्न आंशिक वा पूर्ण रुपमा रोक लगाउन सक्ने व्यवस्था छ । तर, प्राधिकरणले सूचनामा २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम भने पनि कुन कसुर भन्ने विषय भने खुलाएको छैन ।

यस विषयमा बुझ्दा प्राधिकरणका एक अधिकारीले भने, ‘त्यतिबेला अनुसन्धान गरेको समूहले नयाँ व्यवसायमा पूर्ण रोक लगाउनुपर्ने देखायो जसले गर्दा सामान्य कारबाही गर्ने वा व्यवसायमा आंशिक रोक लगाउने भन्दा पनि नयाँ व्यवसाय पूर्णरुपमा रोक्ने निर्णय भयो। यस विषयमा अझै पनि एउटा इन्फेक्सन टिमले अनुसन्धान गरिरहेको छ ।’

ती अधिकारीका अनुसार लगानीसहित अन्य विविध विषय उल्लंघन देखिएका कारण कम्पनीको नयाँ व्यवसायमा रोक लगाउनेसम्मको निर्णयमा प्राधिकरण पुगेको हो । कारबाहीपछि हिमालयन रिले भने यससँग सम्बन्धित विषयवस्तु विभिन्न निकायहरुमा अनुसन्धानको क्रममा रहेको र कम्पनीले उक्त अनुसन्धानलाई पूर्ण रुपले सहयोग गरिरहेको हुँदा उक्त विषयलाई प्रभावित पार्ने खालको टिकाटिप्पनी नगरिदिन आग्रह गर्दै आएको छ ।

‘उक्त विषयले कम्पनीको कार्य संचालन, वित्तीय अवस्था तथा ग्राहक र सरोकारवालाप्रति रहेका दायित्वहरू गर्ने पूरा कम्पनीको क्षमतामा कुनै प्रभाव पारेको छैन भन्ने कुरा स्पष्ट गर्न चाहन्छौं,’ कम्पनीले भनेको छ, ‘यस हिमालयन रिइन्स्योरेन्सको बलियो वित्तिय अवस्था, स्वस्थ तरलता अनुपात तथा उच्च जोखिम व्यवस्थापनले गर्दा नियामकीय मापदण्डहरू सहज रूपमा पूरा गर्न सक्षम छ र कम्पनीको वित्तिय सूचकहरु सुरक्षित र सुदृढ रहेका छन् ।’

कम्पनीले आउने सबै दाबी तथा दायित्वहरू नियमित प्रक्रियाअनुसार निरन्तर रूपमा भुक्तानी भइरहेको जनाउँदै छन् र कम्पनीले आफ्ना प्रतिबद्धताहरू पूरा गर्दै आफूलाई सबल र सक्षम कम्पनीको रुपमा स्थापित गरिरहेको छ । कुनै कार्यकारी पदाधिकारीको अस्थायी अनुपस्थिति वा विदेश भ्रमणले कम्पनीको सञ्चालन वा सुशासनमा कुनै असर नपारेको र नपर्ने कुरा समेत कम्पनीले उल्लेख गरेको छ ।