
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मंसिर १ देखि मंसिर १० गतेसम्म दल दर्ताका आवेदन खुलायो । मंसिर १० नजिकिँदै गर्दा नयाँ दलका साथमा पुराना र ठूला मानिएका दलले पनि आयोग पुगेर आफ्नो दल दर्ता गर्ने काम गरे ।
निर्वाचन हुने/नहुने अन्यौलपूर्ण स्थितिमा ठूला तथा पुराना भनिने दल पनि आयोगमा दर्ताका लागि पुगेसँगै सरकारले तोकेको फागुन २१ मा निर्वाचन हुने हो कि भन्ने आशा मानिसमा जगायो । जेनजी प्रदर्शनपछि विगठित संसद पुन:स्थापना गर्ने आवाज उठाउँदै आएको नेकपा एमालेले पनि मंसिर ९ गते आयोगमा गएर आफ्नो दल दर्ता गरायो ।
नयाँ पुराना दल दर्ताको लहर चलिरहेको समयमा नै आयोगले मंसिर १० सम्मका लागि तोकेको दल दर्ताको अवधि बढाएर मंसिर १४ सम्म थप्ने निर्णय गर्यो । खासगरी, आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेसँगै नयाँ पुराना दलले निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरे जसले सेयर बजारका लगानीकर्तामा पनि केही हदसम्मको सकारात्मक सन्देश फैलियो ।
अर्थात्, यहि कारण सेयर बजारमा केही सकारात्मक ‘मुभ’हरु पनि देखा परे । मंसिर ४ गते बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक (नेप्से) २५६० बिन्दुमा थियो । यसपछि, मंसिर ७ गते नेप्से ३९.९२ अंक र मंसिर ८ गते ५०.४४ अंकले बढ्यो । त्यसपछिका तीन कारोबार दिन पनि नेप्से लगातार उकालो नै लाग्यो ।
मंसिर ७ पछिको पाँच कारोबार दिनमा पाँचै दिन बढेको नेप्से मंसिर ११ मा पुग्दा ११६ अंकको वृद्धिका साथ २६७६ बिन्दुमा कायम भयो । तर, बजारको यो लय कायम भने रहन सकेन । मंसिर ११ पछिको ६ कारोबार दिनमा नेप्से ६ दिन नै घट्दै ७० अंकको गिरावटका साथ मंसिर २२ मा आईपुग्दा सूचक २६०६ बिन्दुमा खुम्चियो ।
त्यसपछि, मंसिर २३ गते ७.२३ अंकले बढेको बजार फेरि, सो यताका तीन कारोबार दिनमा तीनै दिन घटेर २६०० बिन्दु तल झरेको छ । पछिल्ला १० कारोबार दिनमा एक दिन बढेर ९ दिन घटेको नेप्से मंसिर २८ गते आइतबार सम्म आईपुग्दा २५९४ बिन्दुमा सीमित भएको छ ।
पछिल्लो समय नेप्सेमा गिरावट मात्रै आएको छैन, कारोबार रकम पनि निकै संकुचित अवस्थामा छ । पछिल्लो ४० कारोबार दिनमा अधिकांश कारोबार दिन नेप्सेमा तीन देखि ५ अर्ब रुपैयाँको मात्रै कारोबार भएको छ भने पछिल्लो तीन कारोबार दिनमा पनि नेप्सेमा चार अर्ब रुपैयाँ मुनिको मात्रै कारोबार भएको छ ।
स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट अहिले बजार निरासामा धकेलिएको बताउँछन् । ‘राजनीतिक दलहरुले निर्वाचनका लागि पार्टी दर्ताहरु धमाधम गरेको बेलामा पाँच कारोबार दिन नेप्से लगातार बढ्यो । तर, सँधै त्यहि एउटा सकारात्मक खबरले मात्रै लामो समय काम गर्ने कुरा भएन,’ रानाभाट भन्छन्, ‘यहि कारण बजार अहिले सकारात्मक लयमा अगाडि बढ्न सकेको छैन ।’
सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेपनि समयमा निर्वाचन हुन नसक्ने विषयहरु उठिरहेका छन् । तोकिएको समयमा निर्वाचन हुन नसके मुलुक थप राजनीतिक अस्थिरता र समस्यामा फस्ने त्रास फैलिएको छ । जसकारण पनि लगानीकर्तामा लगानीको कन्फिडेन्ट बढ्न सकेको छैन ।
जेनजी प्रदर्शनपछि बजारका लगानीकर्ता अतालिएको अवस्था देखेर अर्थमन्त्री रामेश्वर खनालले चार सदस्यीय कार्यदल गठन गरी बजारलाई लयमा फर्काउने पर्यत्न नगरेका पनि होइनन् । असोज २ गते नेप्सेमा भारी अंकको गिरावट आएसँगै असोज ३ मा खनालले नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्य रहेको कार्यदल गठन गरेका थिए जसले प्रतिवेदनसमे बुझाइसकेको छ ।
उक्त प्रतिवेदनलाई कार्यान्वयनमा लग्न अर्थ मन्त्रालयले निर्देशनसमेत दिइसकेको अवस्थामा पनि त्यसको प्रभाव बजारमा देखिएको छैन । कतिपय लगानीकर्ताले सामाजिक सञ्जालबाटै धितोपत्र बोर्डले नियामकिय भूमिका निर्वाह नगर्दा बजार संकुचित बनेको विषय पनि उठाउँदै आएका छन् ।
पछिल्लो केही समय यता धितोपत्र बोर्डले आईपीओ निष्कासन अनुमति भने धमाधम दिइरहेको छ । ‘अहिले धितोपत्र बोर्डले दिनहुँजसो आईपीओ निष्कासनका लागि स्वीकृति दिइरहेको छ । धमाधम आईपीओ आउँदा एक हजार लगानी गर्ने र छोटो समयमा नै कम्तिमा सात आठ हजार बजारबाट निकाल्ने अवस्था हुन्छ,’ रानाभाटले भने, ‘यसबाट पनि स-सानो गर्दै बजारबाट ठूलो रकम निस्किने गर्दछ ।’ यो कारणले पनि आंशिक रुपमा बजार सुस्त बनाउन मद्दत पुगेको उनले उल्लेख गरे ।
सेयर बजारमा बढी मात्रामा कारोबार गर्नेले आईपीओ बिक्री गरेको पैसा पनि बजारमै लगानी गर्ने गर्दछन् । तर, आईपीओ मात्रै भर्नेहरुले भने परेको छोटो समयमा नै बिक्री गरेर पैसा निकाल्ने गर्दछन् ।
जसले गर्दा पनि बजारको पैसा बाहिर जाने गरेको लगानीकर्ताको विश्लेषण छ । यसर्थ, आईपीओ निष्कासन अनुमति पनि एकै पटक नभई केही समयको अन्तरालमा दिनुपर्ने तर्क लगानीकर्ताहरु गर्छन् ।
गत वर्षको तुलनामा हालको समूहगत सूचक (इन्डेक्स)लाई हेर्ने हो भने पनि अधिकांश न्यून बिन्दुमा नै देखिन्छ । गत वर्षको तुलनामा हाल (आइतबार) माइक्रोफाइनान्स इक्डेक्स ०.१९ प्रतिशत, जलविद्युत् ७.६० प्रतिशत, बैंकिङ समूह ०.०५ प्रतिशत र निर्जीवन बिमा समूह १३.७२ प्रतिशतले तल छ ।
यस्तै, फाइनान्स समूह २१.३९ प्रतिशत र व्यापार समूह १२.८४ प्रतिशतले न्यून बिन्दुमा हुँदा होटल तथा पर्यटन समूह ५.२९ प्रतिशत, उत्पादन समूह २३.६० प्रतिशत, म्युचअल फन्ड समूह ०.४५ प्रतिशत, जीवन बिमा समूह ३.९५ प्रतिशत र व्यापार समूह सूचक २.०६ प्रतिशतले माथि छ । पछिल्लो एक साताको समूहगत सूचकलाई हेर्ने हो भने पनि अधिकांश न्यून बिन्दुमा नै छन् ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल राजनीतिक अस्थिरतारको त्रास अन्त्य नहुँदा सम्म बजारले गति लिन नसक्ने बताउँछन् ।
‘जेनजी प्रदर्शनपछि राजनीतिक माहोल अझै ढुक्क हुने अवस्थाको बनेको छैन । निर्वाचन पनि तोकिएको समयमा नहुने आशंकाहरु भइरहेका छन् । यस्तो अवस्था कायम रहँदासम्म बजारमा लगानीकर्ताको मनोबल बढ्न सक्दैन,’ अध्यक्ष ढकाल भन्छन्, ‘लगानीकर्तामा लगानीको कन्फिडेन्ट नआएसम्म बजार लयमा फर्कन कठिन हुन्छ ।’
तथापि, अधिकांश नीतिहरु बजारको पक्षमा भएको, पर्याप्त तरलता रहेको, अर्थतन्त्रका बाह्य तथा आन्तरिक सूचकहरु पनि सकारात्मक रहेको र बजार लामो समय माथिल्लो बिन्दुमा नपुगेकाले पनि जुनसुकै समयमा बजारले गति लिन सक्ने तर्क कतिपय लगानीकर्ताहरुले गरिरहेका छन् ।







प्रतिक्रिया