
काठमाडौं । एनआईसी एशिया बैंकले सुन कर्जा (गोल्ड लोन) लाई आक्रमक रुपमा सुरु गर्ने भएको छ । बैंकले सुन धितोमा र सुन किन्नका लागि आक्रमक रुपमा कर्जा विस्तार गर्न यही साता ३१ जना गोल्ड टेस्टर (सुन जाँच्ने) कर्मचारी माग गर्दै आवेदन मागको छ ।
यसअघि साना तथा मझौला (एमएसएमई) व्यवसायलाई लक्षित गरी आक्रामक कर्जा विस्तार गरेको बैंक त्यही कारणले समस्यामा परेपछि कर्जा नीति फेरेको हो ।
हालैमात्र प्रमुख कार्यकारीका रुपमा सुजित शाक्य नियुक्ति भएपछि उनले बैंकको कर्जा नीति परिवर्तन गर्दै कर्पोरेट बैंकिङ र सुन कर्जा लगायतका नयाँ सोच अघि सारेका हुन् ।
एनआईसी एशिया बैंकमा सुन धितो कर्जा (गोल्ड लोन) को लागि विशेष बैंक बनाउने योजना रहेको सीईओ सुजित कुमार शाक्य बताउँछन् । सोही योजनाअनुसार बैंकले ३१ जना गोल्ड टेस्टर माग गरेको हो ।
भारतको मुथुत फाइनान्सको उदाहारण दिँदै उनले उस्तै साँस्कृतिक र धार्मिक परिवेश पनि भएकाले नेपालमा पनि सुन कर्जा एउटा राम्रो प्रोडक्ट बनाउन सकिने विश्वास व्यक्त गरे ।
दशकअघि शाक्यले एनआईसी एशिया छोडेर सिभिल र जनता हुँदै मर्जरपछि ग्लोबल आईएमई बैंकमा पनि काम गरे । त्यसपछि नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत काम गरेका शाक्यले एनआईसी एशियाको सीईओ नियुक्त भएसँगै बैंकलाई नयाँ रुपमा अगाडि बढाउन अठोट बनाएका छन् ।
अब एनआईसी एशिया रिटेल बैंकिङ नभएर कर्पोरेट बैंकिङ र गोल्ड लोनको लागि पनि पहिचान बनाउने उनले बताए ।
नेपालमा विशेषगरी सुन कर्जा दिने सोचसहित चौधरी ग्रुपको लगानी रहेको युनाइटेड फाइनान्सले भारतको मुथुत फाइनान्सलाई २०७५ चैतमा ज्वाइन्ट भेञ्चरको रुपमा ल्याएर गोल्ड लोन दिने संस्थाको रुपमा अगाडि बढाउन खोजेको थियो । युनाइटेड फाइनान्सले प्रतिकित्ता १ सय ९० रुपैयाँका दरले मुथुत फाइनान्सलाई २१ लाख कित्ता सेयर बिक्री गरेको थियो । जसअनुसार युनाइटेडको ८० करोड ५ लाख रुपैयाँ चुक्ता पुँजीमा मुथुतले ३९ करोड ९० लाख रुपैयाँ लगानी गरेको थियो ।
तर, उक्त लगानी आएको केही समयमै चौधरी ग्रुपकै लगानी रहेको नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्यो । नबिल बैंकले मर्जरपछि पनि गोल्ड लोनको विशेष फिचर ल्याए पनि त्यसमा खासै सफल हुन सकेको देखिएन । नबिल बैंककै उच्च व्यवस्थापनमा रहेर काम गरेर मुथुतको सिस्टम बुझेका शाक्य एनआईसी एशियाले सुन कर्जाका लागि विशेष बैंकको रुपमा पहिचान बनाउने बताउँछन् ।
‘मुथुत फाइनान्सले भारतमा गोल्ड लोनमा कसरी काम गरेको छ, कसरी सफल भएको छ भन्ने नजिकबाट बुझेको छु,’ शाक्यले क्लिकमान्डुसँग भने, ‘मुथुत फाइनान्स गोल्ड लोनबाट नै त्यति ठूलो ब्रान्ड र वित्तीय संस्थाको रुपमा स्थापित भएको छ । नेपालमा पनि सम्भव छ ।’

मुथुत फाइनान्सको सन् २०२५ को वार्षिक प्रतिवेदनमा १० खर्ब ३० अर्ब भारतीय रुपैयाँको गोल्ड लोन दिएको उल्लेख छ । करिब १० खर्ब ८६ अर्ब कुल कर्जामध्ये १० खर्ब ३० अर्ब रुपैयाँ गोल्ड लोन नै छ । सन् २०२४ मा ७ खर्ब ७० अर्ब रहेको संस्थाको कर्जा एक वर्षमा ३ खर्ब रुपैयाँभन्दा धेरैले वृद्धि भएको छ । सन् २०२५ मा ४ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ५२ अर्ब रुपैयाँ नाफा कमाएको छ । फाइनान्सको रिजर्भ २ खर्ब ८० अर्ब भारतीय रुपैयाँ रहेको छ ।
प्रतिकित्ता अंकित मूल्य १० भारतीय रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२९.५४ भारतीय रुपैयाँ छ । मुथुत ग्रुप भारतको केरलबाट सुरु भएको थियो। हाल भारतका २९ प्रदेश तथा केन्द्र शासित क्षेत्रमा मुथुलत फाइनान्सका ४ हजार ८ सय ५५ शाखा सञ्जाल छन् । दैनिक २ लाखभन्दा बढी ग्राकलाई सेवा प्रदान गर्ने गरेको कम्पनीको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
भारतको केरलमा सन् १८८७ मा मुथुत ग्रुपको सुरुवात भएको थियो भने सन् १९३९ मा मुथुतले पहिला गोल्ड लोन शाखा केरल राज्यमा नै सुरु गरेको थियो । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाबाट वित्तीय कारेबारको इजाजत नलिए पनि कम्पनी गोल्ड लोनको कारोबार गर्दै आएकामा सन् २००१ मा आएर आरबीआईले कम्पनीलाई गैरबैंकिङ वित्तीय संस्थाको इजाजत दिएको थियो ।
करिब ८०० वर्षको इतिहास बोकेको मुथुत समूहको स्थापना भारतमा १८८७ मा स्व. निनान माथाई मुथुतले गरेका थिए । भारतको केरल राज्यमा एउटा सानो व्यापारिक संस्थाका रुपमा सुरु भएको मुथुत ग्रुप केही दशकपछि उनका छोरा एम जर्ज मुथुतले गोल्ड-लोनको अवधारणा संस्थागत रूपमा शुरू गर्दै १९३९ मा मुथुत फाइनान्स लिमिटेड स्थापना गरेका थिए ।
गोल्ड-लोन नयाँ अवधारणा नभए पनि, मुथुत समूहले प्रक्रियालाई व्यवस्थित बनायो । यही एक कदमले वित्तीय परिदृश्यलाई नयाँ मोड दियो । १९७८ मा एमजी जर्ज मुथुतले परिवारको व्यवसायमा आबद्ध भएर उनले मुथुत समूहलाई दक्षिण भारतको सीमित बजारबाट निकालेर उत्तर भारततर्फ विस्तार गरे । त्यसपछि कम्पनीले क्रमशः देशका विभिन्न राज्य तथा केन्द्र शासित प्रदेशमा शाखा विस्तार गर्दै भारतकै अग्रणी गोल्ड-लोन दिने कम्पनी बन्न सफल भयो ।
एनआईसी एशिया बैंकले एक दशक अघिसम्म सुन कर्जा दिँदै आएको थियो । कुनै एक शाखाका कर्मचारीका कारण सुन धितोमा दिएको कर्जा बिग्रिएपछि गोल्ड लोनको प्रोडक्ट नै बन्द गरेको थियो ।
त्यसपछि रिटेल बिजनेसमा एनआईसी एशिया आक्रामक ढंगले अघि बढेको थियो । बैंकले भारतको आईसीआईसीआई बैंकको नक्कल गर्दै आक्रामक ढंगले व्यवसाय विस्तार गरेको थियो । एनआईसी एशिया बैंक नेपालको सबैभन्दा बढी ग्राहक भएको बैंक हो । बैंकसँग ४२ लाख ग्राहक छन्, जसमध्ये २२ लाखभन्दा बढी ग्राहक सक्रिय छन् ।
‘सुन धितोमा दिइएको कर्जामा अत्यन्तै न्यून जोखिम हुन्छ,’ सीईओ शाक्यले भने, ‘सानो कर्जामा सेवा शुल्कबाटै राम्रो आम्दानी पनि हुन्छ । हामीसँग सबैभन्दा धेरै ग्राहक भएकाले लाभ लिनसक्ने अवसर पनि छ ।’
एनआईसी एशिया बैंक स्थापना भएको करिब ३० वर्ष पुग्दै गर्दा सम्पत्तिको गुणस्तरका हिसाबले अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । बैंकको सम्पत्तिको गुणस्तर मात्रै बिग्रिएको छैन, पछिल्लो २ वर्षयता लगातार व्यवसायको आकार पनि घटाउँदै लगेको छ । गत असोजमा बैंकको कुल कर्जा ५ वर्ष अघिको भन्दा तल झरेको छ ।
लगातार बढेको निष्क्रिय कर्जाले गर्दा बैंकको पुँजीकोषमा समेत दबाब बढ्दै गएको छ । ३० वर्षको इतिहासकै कठिन मोडमा पुगेको अवस्थामा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानले राजीनामा दिएपछि बैंकको व्यवस्थापकीय नेतृत्वमा आएका छन्, अनुभवी बैंकर सुजित शाक्य । करिब दशकअघि एनआईसी एशियामै काम गरेका शाक्य कठिन मोडमा बैंकको ड्राइभिङ सिट सम्हाल्दै स्टेयरिङ लिन तयार भएका हुन् ।
‘एनआईसी एशियामा अवसर देखेर जिम्मेवारी लिन तयार भएको हूँ,’ उनले भने ।
विगतमा बैंक कर्पोरेट बैकिङ छाडेर रिटेल (खुद्रा) मा केन्द्रित रह्यो । जुन त्यसबेलाका लागि ठिकै रणनीति थियो । तर अर्थतन्त्रमा देखिएको संकुचनले सबैभन्दा बढी प्रभाव साना तथा मझौला उद्योगमा पर्यो । घरजग्गामा मन्दी आयो, जसको सबैभन्दा बढी असर एनआईसी एशियामा पर्यो । पछिल्ला २/३ वर्षमा दैनिकजसो सबैभन्दा बढी धितो लिलामीका सूचना निकाल्ने पहिलो नम्बरमा पर्छ यो बैंक ।
घरजग्गामा आएको मन्दीले लिलामीका धितोहरु अपेक्षितरुपमा बिक्री हुन सकिरहेका छैनन्, जसकारण बैंकको खराब कर्जा बढ्दै गएको छ भने नबिकेको धितो बैंक आफैंले गैरबैंकिङ सम्पत्तिका रुपमा बुक गरेको छ । गत असोज मसान्तमा एनआईसी एशियाको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।
यो बैंकको ९० प्रतिशत बढी कर्जा खुद्रा छ । बैंकको ५ लाख, १ करोड, २ करोड रुपैयाँ बराबर अर्थात् ५ करोड रुपैयाँभन्दा कमको कर्जा ८० प्रतिशतभन्दा बढी छ। यो बैंकले ५ करोड रुपैयाँभन्दा ठूलो कर्जालाई कर्पोरेट कर्जा मान्दै आएको छ।
बैंकले अब आफ्नो पहिचान बदल्ने रणनीति लिएको छ ।
आफ्नो अनुभवको अधिकतम् उपयोग गरेर एनआईसीले खुद्रा बैंकिङ गर्छ भन्ने पहिचान बदल्दै कर्पोरेटमा अब्बल बन्ने प्रष्ट योजना छ, शाक्यसँग ।
अर्थतन्त्रमा समस्या देखिँदा पनि कर्पोरेट ग्राहकले नियमितरुपमा सावाँब्याज तिरिरहेकै छन् । तर कतिपय साना तथा मझौला उद्यमीहरु बन्द गरेर भागेका छन् । यो यथार्थलाई नजिकबाट नियालेका सीईओ शाक्यले कर्पोरेट बैंकिङमा पनि आक्रामक ढंगले अघि बढ्ने रणनीति बनाएका हुन् ।
तर, तत्कालै एनआईसी एशियालाई कर्पोरेट बैंकिङ गर्न त्यति सजिलो भने छैन ।
किनभने, पहिलो कारण हो- एनआईसी एशियाले कोरोना महामारीका बेला कर्पोरेटलाई ऋण तिर्न ताकेता गर्यो । कोरोना महामारीपछि एनआईसीले सबै ठूला कर्जोरेटहरुलाई दिएको ऋण फिर्ता मागेको थियो । त्यसपछि यो बैंकले व्यापक मात्रामा शाखा विस्तार गर्यो । र धितोमा आधारित खुद्रे कर्जा आक्रामक ढंगले विस्तार गर्यो । जसकारण यो बैंकसँग कर्पोरेट जगत रिसाएको छ ।
दोस्रो कारण हो, यो बैंकको आधार दर सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा धेरै अर्थात् ६.६० प्रतिशत छ । राष्ट्रियस्तरका विकास बैंकको भन्दा पनि धेरै छ । यसको अर्थ के हो भने एनआईसी एशियाबाट कर्जा लिन निकै महँगो पर्छ।
केही वर्ष अघिमात्रै कर्पोरेट कर्जा बन्द गरेर आक्रामक रुपमा खुद्रा बैंकिङ गरेको एनआईसी एशिया बैंक अब फेरि कर्पोरेट र निर्माण क्षेत्रमा फर्कन लागेको हो ।
खुद्रे कर्जामा क्रान्ति नै गरेको एनआईसी एशियाको बैंकिङ मोडल अर्थतन्त्रमा देखिएको सुस्तताले असफल बनाइदिएको छ । घरजग्गाको भाउ घट्दो छ भने सेयर बजार पनि बढ्न सकेको छैन । कोरोना महामारीपछि बढ्दो युवा पलायन र अर्थतन्त्रमा देखिएको संकटले साना तथा मझौला उद्योगी टिक्न सक्ने अवस्था रहेन । साना र मध्यम वर्गका ऋणीहरु गम्भीर संकटमा फसे । उनीरुले बैंकबाट लिएको ऋण तिर्न सकेनन् । बैंकले धमाधम धितो लिलामी गर्यो । तर उक्त धितो बिकेन । जसले एनआईसी एशियालाई नै संकटमा पुर्याएन मात्रै, रिटेल बैंकिङबाट कर्पोरेट बैंकिङमा फर्कन बाध्य बनायो । तत्कालीन सीईओ रोशन न्यौपानेले लिएको रिटेल बैंकिङको मोडल असफल भएपछि कार्यकाल बाँकी रहँदै उनले जागिर गुमाउनुपर्यो ।
अब विगतमा जस्तो धितोमात्रै हेरेर ऋण नदिने उनी बताउँछन् ।
‘अब विगतमा जस्तो धितो मात्रै हेरेर ऋण दिने होइन, नगद प्रवाहलाई प्रमुख आधार बनाएर ऋण दिन्छौं,’ शाक्य भन्छन्, ‘सन्तुलनकारी कर्जा नीतिले मात्रै बैंकलाई सन्तुलित ढंगले दीर्घकालसम्म अघि बढाउन सकिन्छ ।’







प्रतिक्रिया