माघमा बढ्यो महँगी दर, मध्यपूर्वको तनावले अब कस्तो पर्ला असर ?

0
Shares

काठमाडौं । पछिल्लो केही महिनायता करिब १ प्रतिशतको नजिक रहेको मूल्यवृद्धि बढ्न लागेको छ । विशेष गरी चुनावअघि माघमा मूल्यवृद्धि केही बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

२०८२ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ को माघ महिनाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो ।

गत वर्षको तुलनामा मुद्रास्फीति केही कम भए पनि पछिल्ला महिनाहरूको तुलनामा बढेको हो । चालु आर्थिक वर्ष सुरु भएयता नै लगातार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २ प्रतिशतभन्दा तल रहेकोमा माघमा आएर केही बढेको देखिएको हो ।

तर, मूल्य सूचकाङ्क हेर्ने हो भने गएको मंसिर र माघमा बराबर रहेको देखिन्छ । मंसिरमा उपभोक्ता मूल्य सूचकाङ्क १०६.५० रहेको थियो । उपभोक्ता मूल्य सूचकाङ्क पुसमा केही घटेर १०६.२९ मा झरेको थियो । माघमा पुनः बढेर १०६.५० नै पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको माघमा उपभोक्ता मूल्य सूचकाङ्क कात्तिक, मंसिर र पुसको तुलनामा घटेको थियो । कात्तिकमा नै १५०.२० सम्म पुगेको उपभोक्ता मूल्य सूचकाङ्क मंसिरमा १०४.७९ र पुसमा १०३.७८ थियो । माघमा थप घटेर १०३.१६ सम्म झरेको थियो । सोही आधारमा चालु आर्थिक वर्षको माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति केही उच्च देखिए पनि मूल्य सूचकाङ्कका आधारमा भने खासै महँगी बढेको देखिँदैन ।

माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत रहेको छ । गत आवको माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा पदार्थ समूहको मुद्रास्फीति ३.७४ प्रतिशत थियो ।

पछिल्लो समय खाद्य तथा पेय पदार्थ समूहको महँगी दर न्यून र गैर–खाद्य तथा सेवा समूहमा महँगी दर केही उच्च देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना (माघसम्म) को औसत मुद्रास्फीति १.९२ प्रतिशत मात्रै रहेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा महँगी दर ५ प्रतिशतभित्र रहने अनुमान गरेको छ । तर आर्थिक वर्षको ७ महिना सकिँदा लक्ष्यभन्दा तल देखिएको छ । पछिल्लो केही दिनयता मध्यपूर्वमा देखिएको तनावका कारण भने मुद्रास्फीतिमा केही दबाब पर्न सक्ने नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका प्रमुख डा. रामशरण खरेल बताउँछन् ।

माघमा चुनाव र समष्टिगत मागमा पनि सुधार हुँदा मूल्यवृद्धि केही बढ्न लागेको उनले बताए । मध्यपूर्वको तनाव समाधान भएमा मूल्यवृद्धिमा ठुलो दबाब नपर्ने तर लम्बिँदै गएर पेट्रोलियम पदार्थको मूल्यमा अस्थिरता देखिए त्यसको प्रभाव देखिने उनले बताए । विशेष गरी भारतमा महँगी बढेमा त्यसको प्रभाव नेपालमा पर्न सक्ने उनको भनाइ छ । नेपालले मध्यपूर्वका देशमा करिब २ प्रतिशत मात्रै निर्यात र ५ प्रतिशतको करिब आयात गर्ने हुँदा सीधा असर मूल्यमा नपर्ने भए पनि तनाव लम्बिँदै गएर भारतमा असर देखिए त्यसको प्रभाव नेपालमा पर्ने खरेलले बताए ।

माघमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत, घ्यू तथा तेलको ७.६१ प्रतिशत, र फलफूलको ७.४१ प्रतिशतले बढेको छ । गत वर्ष महँगी दर न्यून वा मूल्य नै घटेका यी उपसमूहमा यस वर्ष भने वृद्धि देखिएको हो ।

दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.१९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ प्रतिशत र मरमसलाको २.६१ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २१.९८ प्रतिशत, शिक्षाको ७.४६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२८ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ ।

सञ्चार उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.०८ प्रतिशतले घटेको छ । माघ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.५२ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.५१ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३ प्रतिशत, मधेश प्रदेशको ५.१४ प्रतिशत, बागमती प्रदेशको ३.१० प्रतिशत, गण्डकी प्रदेशको २.४२ प्रतिशत, लुम्बिनी प्रदेशको ३.२९ प्रतिशत, कर्णाली प्रदेशको १.६२ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.६४ प्रतिशत रहेको छ । माघमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४८ प्रतिशत, तराईको ३.६६ प्रतिशत, पहाडको २.६८ प्रतिशत र हिमालको २.५८ प्रतिशत छ ।

२०८२ माघ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ६.२१ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४७ प्रतिशत थियो । माघ महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ०.७२ प्रतिशत रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ९.८३ प्रतिशत र ३.२१ प्रतिशत छ ।

माघ महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क २.०४ प्रतिशतले बढेको छ । सन् २०२६ जनवरी महिनामा भारतमा मुद्रास्फीति २.७५ प्रतिशत रहेको छ । भारतमा मूल्य बढेमा नेपालमा थप महँगी बढ्नेछ ।