एमाले सचिव महेश बस्नेतविरुद्ध मुद्दा दायर

0
Shares

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ।

अधिवक्ता लबन न्यौपानेले बुधबार सर्वोच्च अदालतमा बस्नेतविरुद्ध अवहेलनाको निवेदन दायर गरेका हुन्।

जेनजी आन्दोलनलगत्तै विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला न्यायाधीशहरूप्रति सार्वजनिक रूपमा अभिव्यक्ति दिएको आरोप बस्नेतमाथि लगाइएको छ।

निवेदकका अनुसार बस्नेतले ‘प्रधानन्यायाधीशलगायत न्यायाधीशहरू लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायिक प्रक्रिया डर, दबाब वा प्रलोभनका कारण ढिला हुने’ जस्ता अभिव्यक्ति दिएका थिए।

त्यस्तै ‘देश वैदेशिक आक्रमणमा परेको छ र सर्वोच्च, उच्च तथा जिल्ला अदालत मात्र होइन, समग्र न्याय प्रणाली नै जलेको अनुभूति हुन्छ’ भन्दै न्यायपालिकाको हुर्मत लिने खालको अभिव्यक्ति दिएको पनि निवेदनमा उल्लेख गरिएको छ।

सर्वोच्च अदालतले उक्त मुद्दाको पेसी चैत १ गतेका लागि तोकेको छ।