सुजित शाक्यको रि-इन्ट्रीसँगै फेरियो एनआईसी एशियाको रणनीति: कर्पोरेट बैंकिङ गर्ने, कर्जा बढाउने

9.4k
Shares

काठमाडौं । गत कात्तिक १७ गते एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्य नियुक्त भए । नबिल बैंकको सिनियर डीसीईओ रहेका शाक्य सीईओमा बढुवा भएर ८ वर्षपछि एनआईसी एशियामै फर्किए

तीन दशक लामो यात्रामा एनआईसी एशिया बैंक अहिले सबैभन्दा कठिन अवस्थामा गुज्रिरहेको छ । विगतमा आक्रामक भएर अन्धाधुन्ध कर्जा बिस्तार गरेको एनआईसी एशियाले त्यही कर्जा उठ्न नसक्दा कठिन परिस्थिति बेहोरिरहेको छ । अधिकांश सूचकमा एनआईसी एशिया वाणिज्य बैंकहरुको सूचीमा अन्त्यतिर छ । व्यवसायको आकार लगातार घटाइरहेको छ ।

२०७८ असारमा बैंकको निक्षेप २ खर्ब ९० अर्ब र कर्जा २ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको थियो । अहिले निक्षेप बढेको छ भने कर्जा घटेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा निक्षेप ३ खर्ब ३७ अर्ब ३१ करोड र कर्जा घटेर २ खर्ब १२ अर्ब २२ करोड रुपैयाँमा झरेको छ ।

बैंककै भविष्य के होला भन्ने चिन्ता र चासोबीच यसलाई सम्हाल्ने जोश र अठोट बोकेर ८ वर्षपछि कमान्डरको जिम्मा लिएर फर्किएका छन् उनी । शाक्य राम्रैसँग चलिरहेको नबिल बैंकको सिनियर डीसीओको पद छाडेर संकटउन्मुख एनआईसी एशियामा किन गए होलान् भन्ने आम प्रश्न छ ।

तर, सीईओ शाक्य भन्छन्- ‘एनआईसी एशियामात्रै होइन, नेपालको बैंकिङ क्षेत्र नै कठिन मोडमा छ । एनआईसी एशिया जति बिग्रनु थियो बिग्रिसक्यो, अब सुध्रने मात्रै हो ।’

यसअघि एनआईसीमा आफूले १२ वर्ष काम गरिसकेकाले सिनियर म्यानेजमेन्टसँगको राम्रो सम्बन्धका साथै लगानीकर्तासँग पनि राम्रो घुलमिल गरेकाले आफूलाई काम गर्न सहज हुने उनको बुझाइ छ ।

यो अवस्थाबाट बैंकलाई बाहिर निकाल्न नवनियुक्त सीईओ शाक्यले खासगरी दुईवटा रणनीति बनाएका छन् ।

बिगतमा बैंक कर्पोरेट बैकिङ छाडेर रिटेल (खुद्रा) मा केन्द्रित रह्यो । जुन त्यसबेलाका लागि ठिकै रणनीति थियो । तर अर्थतन्त्रमा देखिएको संकुचनले सबैभन्दा बढी प्रभाव साना तथा मझौला उद्योगमा पर्यो । घरजग्गामा मन्दी आयो, जसको सबैभन्दा बढी असर एनआईसी एशियामा पर्यो । पछिल्ला २/३ वर्षमा दैनिकजसो सबैभन्दा बढी धितो लिलामीका सूचना निकाल्ने पहिलो नम्बरमा पर्छ यो बैंक ।

घरजग्गामा आएको मन्दीले लिलामीका धितोहरु अपेक्षितरुपमा बिक्री हुन सकिरहेका छैनन्, जसकारण बैंकको खराब कर्जा बढ्दै गएको छ भने नबिकेको धितो बैंक आफैंले गैरबैंकिङ सम्पतिका रुपमा बुक गरेको छ । गत असोज मसान्तमा एनआईसी एशियाको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।

यो बैंकको ९० प्रतिशत बढी कर्जा खुद्रा छ । बैंकको ५ लाख, १ करोड, २ करोड रुपैयाँ बराबर अर्थात् ५ करोड रुपैयाँभन्दा कमको कर्जा ८० प्रतिशतभन्दा बढी छ। यो बैंकले ५ करोड रुपैयाँभन्दा ठूलो कर्जालाई कर्पोरेट कर्जा मान्दै आएको छ।

बैंकले अब आफ्नो पहिचान बदल्ने रणनीति लिएको छ ।

‘एनआईसीले खुद्रा बैंकिङ गर्छ भन्ने पहिचान बदलेर कर्पोरेटमा अब्बल बन्छौं,’ सीईओ शाक्यले क्लिकमान्डुसँग भने, ‘मसँग कर्पोरेट बैंकिङको अनुभव छ । मेरो नियुक्तिसँगै ठूला व्यवसायीहरु एनआईसी एशियासँग ऋण लिन इच्छुक छन् । केही समय लाग्ला तर हामी कर्पोरेटमा बलियो उपस्थिति बनाउँछौं । मेरो पीआरलाई भरपूर उपयोग गर्छु ।’

अर्थतन्त्रमा समस्या देखिँदा पनि कर्पोरेट ग्राहकले नियमितरुपमा सावाँब्याज तिरिरहेकै छन् । तर कतिपय साना तथा मझौला उद्यमीहरु बन्द गरेर भागेका छन् । यो यथार्थलाई नजिकबाट नियालेका सीईओ शाक्यले कर्पोरेट बैंकिङमा आक्रामक ढंगले अघि बढ्ने रणनीति बनाएका हुन् ।

तर तत्कालै एनआईसी एशियालाई कर्पोरेट बैंकिङ गर्न त्यति सजिलो भने छैन ।

किनभने, पहिलो कारण हो- एनआईसी एशियाले कोरोना महामारीका बेला कर्पोरेटलाई ऋण तिर्न ताकेता गर्यो । कोरोना महामारीपछि एनआईसीले सबै ठूला कर्जोरेटहरुलाई दिएको ऋण फिर्ता मागेको थियो । त्यसपछि यो बैंकले व्यापक मात्रामा शाखा विस्तार गर्यो । र धितोमा आधारित खुद्रे कर्जा आक्रामक ढंगले विस्तार गर्यो । जसकारण यो बैंकसँग कर्पोरेट जगत रिसाएको छ ।

दोस्रो कारण हो, यो बैंकको आधार दर सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा धेरै अर्थात् ६.६० प्रतिशत छ । राष्ट्रियस्तरका विकास बैंकको भन्दा पनि धेरै छ । यसको अर्थ के हो भने एनआईसी एशियाबाट कर्जा लिन निकै महँगो पर्छ ।

केही वर्ष अघिमात्रै कर्पोरेट कर्जा बन्द गरेर आक्रामक रुपमा खुद्रा बैंकिङ गरेको एनआईसी एशिया बैंक अब फेरि कर्पोरेट र निर्माण क्षेत्रमा फर्कन लागेको हो ।

नवनियुक्त सीईओ शाक्यले सबै विभागीय प्रमुखहरुलाई रणनीति बदलेर जाने प्रष्ट निर्देशन दिइसकेका छन् ।

खुद्रे कर्जामा क्रान्ति नै गरेको एनआईसी एशियाको बैंकिङ मोडल अर्थतन्त्रमा देखिएको सुस्तताले असफल बनाइदिएको छ । घरजग्गाको भाउ घट्दो छ भने सेयर बजार पनि बढ्न सकेको छैन । कोरोना महामारीपछि बढ्दो युवा पलायन र अर्थतन्त्रमा देखिएको संकटले साना तथा मझौला उद्योगी टिक्न सक्ने अवस्था रहेन । साना र मध्यम वर्गका ऋणीहरु गम्भीर संकटमा फसे । उनीरुले बैंकबाट लिएको ऋण तिर्न सकेनन् । बैंकले धमाधम धितो लिलामी गर्यो । तर उक्त धितो बिकेन । जसले एनआईसी एशियालाई नै संकटमा पुर्याएन मात्रै, रिटेल बैंकिङबाट कर्पोरेट बैंकिङमा फर्कन बाध्य बनायो । तत्कालीन सीईओ रोशन न्यौपानेले लिएको रिटेल बैंकिङको मोडल असफल भएपछि कार्यकाल बाँकी रहँदै उनले जागिर गुमाउनुपर्यो ।

यसैबीच कर्पोरेट बैंकिङको दशकौंको अनुभव भएका सुजित शाक्य सीईओ बनेर कर्जा नीति बदल्दैछन् ।

‘हामीले विगतमा छाडेको कर्पोरेट बैंकिङ फेरि सुरु गर्दैछौं, निर्माण क्षेत्रमा पनि जाँदैछौं,’ शाक्य भन्छन्, ‘कर्पोरेटमा ऋणीहरुसँग अर्थतन्त्रमा आउने धक्काहरु सहनसक्ने उच्च क्षमता रहन्छ । एउटा व्यापार बिग्रियो भने पनि अर्को कम्पनीको आम्दानी ल्याएर ऋण तिर्छन् ।’

अब विगतमा जस्तो धितोमात्रै हेरेर ऋण नदिने उनी बताउँछन् ।

‘अब विगतमा जस्तो धितो मात्रै हेरेर ऋण दिने होइन, नगद प्रवाहलाई प्रमुख आधार बनाएर ऋण दिन्छौं,’ शाक्य भन्छन्, ‘सन्तुलनकारी कर्जा नीतिले मात्रै बैंकलाई सन्तुलित ढंगले दीर्घकालसम्म अघि बढाउन सकिन्छ ।’

बैंकका ४० लाखभन्दा बढी ग्राहक छन्, जसमध्ये २२ लाख सक्रिय प्रयोगकर्ता छन् ।

बैंकले विभिन्न सेवा प्रवाह गर्दा १०/२० रुपैयाँमात्रै सेवा शुल्क लिने हो भने पनि बैंकले अर्बको हाराहारीमा आम्दानी गर्न सक्छ । तर, यसका लागि राष्ट्र बैंकले सहजीकरण गरिदिनु भने पर्छ ।

‘ग्राहकले थाहै नपाउने गरी वा ग्राहकलाई भार नपर्ने गरी सेवा शुल्क बढाउने हो भने मात्रै पनि हामी अर्बको हाराहारीमा आम्दानी गर्न सक्छौं’ उनी भन्छन्- ‘यसका लागि राष्ट्र बैंकले सहजीकरण गरिदिन्छ भन्ने अपेक्षा छ ।’

त्यसैगरी, ५०औं शाखा मर्ज गरेर सेवामा गुणस्तर बढाउनुका साथै बैंकको खर्च घटाउने आफ्नो रणनीति रहेको उनले सुनाए ।

‘कतिपय अधिकृतस्तरका साथीहरु शाखा प्रबन्धक हुन्हुन्छ, कम अनुभव भएका कारण कर्जाको गुणस्तरमा ध्यान पुग्न नसकिरहेको पनि हुन सक्छ’ उनी भन्छन्- ‘दर्जनौं शाखाहरु मर्ज गरेर सिनियर मान्छेलाई शाखा प्रबन्धक बनाउँदा सेवाको गुणस्तरीय पनि बढ्छ र कर्जाको गुणस्तर पनि कायम हुन्छ ।’

राष्ट्र बैंकले सहजीकरण गरेको खण्डमा आफ्नो यो रणनीतिले बैंकलाई सबल र सुदृढ बनाउने उनको विश्वास छ ।

पुँजीकोषमा दबाब परेपछि लिएको कर्जा घटाउने नीतिले बैंकलाई पछि पारेको उनको बुझाइ छ ।

‘विगतमा एनआईसीले जुन रुपमा कर्जा घटायो, त्यसले केही असहज पक्कै पनि बनाएकै हो,’ शाक्य भन्छन्, ‘अब हामी कर्जा बढाउने नीति लिन्छौं ।’

त्यसका लागि हकप्रद सेयरदेखि पर्पेचुअल प्रिफरेन्सियल सेयर जारी गर्ने रणनीति लिएको उनले जानकरी दिए ।

‘पुँजी छैन भनेर व्यवसायको आकार घटाउनुभन्दा पुँजी वृद्धिका उपकरणहरुको भरपूर उपयोग गरी कर्जा बढाउनमा केन्द्रित हुन्छु’ शाक्य भन्छन् ।

विगतमा बैंकले यतिधेरै कर्जा विस्तार गर्यो कि आर्थिक वर्ष २०७८/७९ बाट उसलाई पुँजीको समस्या हुन थाल्यो । बैंकले जति ऋण दिन्छ, त्यसको ११ प्रतिशत पुँजी सेयरधनीले हाल्नैपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

लगानीकर्ताले पुँजी थप गर्न हकप्रद सेयर निष्काशनको प्रस्ताव गरे पनि राष्ट्र बैंकले स्वीकृति दिइरहेको थिएन । राष्ट्र बैंकले एनआईसी एशियालाई तोकिएको न्यूनतम प्राथमिक पुँजी कोष (टायर वान क्यापिटल) कायम गर्न नसकेपछि लाभांश वितरणमै रोक लगायो ।

तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिले पुँजी बढाउन हकप्रद सेयर जारी गर्न दिनेदेखि अन्य उपकरण प्रयोग गर्न दिने व्यवस्था गरेको छ । एनआईसी एशिया बैंकले यसको उपयोग गरी भरपूर फाइदा उठाउन सक्छ ।

Skip This