
काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त भएका छन् । सोमबार बिहान बसेको बैंकको सञ्चालक समिति बैठकले शाक्यलाई आगामी ४ वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका तत्कालीन प्रमुख कायृकारी अधिकृत रोशन कुमार न्यौपाने ४ वर्षका लागि दोस्रो कार्यकालमा नियुक्त भएको कार्यकाल पुरा नहुँदै राजिनामा दिएपछि रिक्त भएको प्रमुख कार्यकारी अधिकृत पदमा सुजित कुमार शाक्य नियुक्त भएका हुन् ।
एनआइसी एशिया बैंककै पूर्व कर्मचारी शाक्य सिभिल बैंक, जनता बैंक हुँदै ग्लोबल आईएमई बैंकमा उच्च व्यवस्थापनमा रहेर काम गरेका थिए । हाल नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका शाक्य एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।
बैंकले करिब ३ दशक पार गर्दै गर्दा अहिलेसम्मकै कठिन परिस्थितिमा बैंकको व्यवस्थापकीय नेतृत्वमा शाक्य पुगेका हुन् ।
शाक्यले सोमबारै नबिल बैंकबाट राजीनामा दिएका थिए ।
शाक्यले नबिल बैंकमा ५ वर्ष काम गरिसकेका छन् । त्यसअघि उनी ग्लोबल आईएमई बैंकमा डीसीईओ थिए ।
बैंकिङ क्षेत्रमा २८ वर्षभन्दा बढीको अनुभव संगालिसकेका शाक्यलाई स्ट्राटेजिक (रणनीतिक) व्यक्तित्वको रुपमा चिनिन्छ । बैंकिङ क्षेत्रमा म्यान विथ स्ट्रेटिजिक ब्रेन भनेर चिनिने शाक्य कुशल फाइनान्सियल एनालिस्ट (वित्तीय विश्लेषक) हुन् । कर्जातर्फ कर्पोरेटदेखि साना तथा मझौता उद्यम क्षेत्र र रिटेल बैंकिङका जानकार शाक्यलाई प्रोफेसनल बैंकरका रुपमा चिनिन्छ ।
भारतको डिल्ली युनिभर्सिटीबाट बिकम (अनर्स) गरेका उनले भारतको इन्स्टिच्युट अफ प्रोडक्टिभिटी म्यानेजमेन्ट, लखनउबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट वित्तीय क्षेत्र प्रवेश गरेका उनले विभिन्न वाणिज्य बैंकहरुमा सिनियर लेभलमा काम गरिसकेका छन् ।







प्रतिक्रिया