सरकारले ५३ अर्ब खन्याएको पोखरा र भैरहवामा ३ वर्षसम्म अन्तर्राष्ट्रिय उठान ठप्प

हरेक उडानमा ७ लाख मिनाहा गर्दासमेत नचलेपछि फेरि २ वर्ष थपियो छुटको अफर


पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्दा काठमाडौंको तुलनामा नेपाल नागिरक उड्डयन प्राधिकरणले दिने पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क र यात्रु सेवा शुल्कमा छुट छ । नेपाल वायुसेवा निगमको दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट र नेपाल पर्यटन बोर्डले लिने पर्यटन सेवा शुल्क सहित नेपाल आयल निगमले पनि काठमाडौंको तुलनामा ४८१ डलरसम्म छुट दिएको छ ।

काठमाडौं । सरकारले विदेशी ऋणमा निर्माण गरेको र आन्तरिक स्रोतसमेत प्रयोग गरेर करिब ५३ अर्ब रुपैयाँ खन्याएको पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचलेपछि फेरि छुट योजना ल्याएको छ ।

यी दुई विमानस्थलको भाैतिक पूर्वाधारमा मात्रै सरकारले पाेखराका लागि चीनबाट २१ अर्ब र भैरहवाका लागि एसियाली विकास बैंकबाट ७ अर्ब रुपैयाँ ऋणमात्रै लिएको छ । जग्गा अधिग्रहणसहितको लागतका कारण यसमा सरकारले गरेको खर्च ५३ अर्ब रुपैयाँ भन्दा बढी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

बुधबार बसेको बालेन्द्र शाह सरकार नेतृत्वको मन्त्रिपरिषद्को बैठकले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाका लागि २०८५ साल भदौ मसान्तसम्मको उडान अवतरणमा लाग्ने सम्पूर्ण शुल्क छुट दिएको छ ।

सरकारले यी दुई विमानस्थलमा नियमित उडान गर्ने वायुसेवाको पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । यो निर्णयसँगै नेपाल वायुसेवा निगमले यात्रुलाई उडान तथा अवतरण सेवा दिएबापत लिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा समेत ५० प्रतिशत छुट दिएको छ ।

सरकारले यसअघि २०८१ साउन २८ गते गरेको निर्णय अनुसार तीन वर्षसम्मलाई ग्राउन्ड ह्यान्डलिङमा २५ प्रतिशत बाहेक कुनै पनि शुल्क नलिने गरी निर्णय गरेको थियो । यसअघिको सरकारले गरेको निर्णयको अवधि आगामी भदौमा सकिने भएकोले सरकारले फेरि अर्को दुई वर्षलाई यस्तो छुट अवधिको समय लम्बाएको हो ।

तर, यसअघि वायुसेवा निगमले लिने ग्राउन्ड ह्यान्डलिङमा २५ प्रतिशत मात्रै लिएर ७५ प्रतिशत छुट दिने गरी भएको निर्णयमा भने यसपटक संशोधन गरेर ५० प्रतिशत भनिएको छ । अन्य शुल्क भने तीन वर्षदेखि पूर्ण छुट छ । यसलाई आगामी २०८५ को भदौसम्मलाई लम्बाएको हो ।

यी २ विमानस्थलमा हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र पर्यटकीय सेवा सुविधा दिने संस्था नेपाल पर्यटन बोर्डले लिने सबै प्रकारको शुल्कमा छुट यथावत गरिएको छ । यी दुई विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको सेवा दिने नेपाल वायुसेवा निगम र इन्धनको सेवा दिने नेपाल आयल निगमले पनि अधिकतम छुट दिएका छन् ।

यी सबै प्रकारको छुट हुँदा काठमाडौं विमानस्थलको तुलनामा विदेशी वायुसेवाको एउटा न्यारोबडी जहाजलाई पोखरामा उडान तथा अवतरण गर्दा न्यारोबडी प्रकृतिकै जहाजमा लाखौँ फाइदा छ । सम्बन्धित वायुसेवाले पाउने यो फाइदाभन्दा पनि दीर्घकालीन बजारको भविष्य नदेखेका कारण हाल पोखरा र अन्तर्राष्ट्रिय दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प छ ।

सरकारले २०८१ को साउनमै ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना’ समेत ल्याएको थियो । त्यही कार्ययोजनाले यी दुई विमानस्थलमा हुने उडान अवतरणमा आकर्षक छुट दिएको हो । यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु ३ हजार रुपैयाँको यात्रु सेवा शुल्कमा पूर्ण छुट छ ।

यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्याण्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुटले काठमाडौंको तुलनामा सम्बन्धित वायुसेवालाई लागत नै कम पर्न जाने हुन्छ ।

यी दुई विमानस्थलमा नेपाल पर्यटन बोर्डले पाउने १ हजार रुपैयाँको पर्यटन सेवा शुल्कमा पनि पूर्ण छुट छ । यी दुई विमानस्थलमा नेपाल आयल निगमले दिने हवाई इन्धनमा समेत काठमाडौंभन्दा ४८१ डलरसम्म सस्तो छ ।

नेपाल आयल निगमले मूल्य समायोजन गरेर बिक्री वितरण गरिरहेको २०८३ असार १७ देखि काठमाडौंमा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर १५ सय ६६ डलर लिँदा पोखरामा ११ सय र भैरहवामा १ हजार ८५ डलर मात्रै लिँदै आएको छ ।

इन्धनको यस्तो शुल्क अनुसार काठमाडौंमा भन्दा पोखरामा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाले ४६६ डलर सहुलियत पाएका छन् भने भैरहवाको हकमा ४८१ डलर सहुलियत पाएका छन् ।

सरकारले पूर्वाधारमा गरेको ठूला लगानीका योजनामध्ये सन् २०२३ जनवरी १ बाट सञ्चालनमा आएको पोखरा र सन् २०२२ को मे १८ देखि सञ्चालनमा आएको भैरहवा विमानस्थलमा हाल अन्तर्राष्ट्रिय उडान ठप्प छ । यी दुई विमानस्थल केवल आन्तरिक उडानले मात्रै धानिएका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि पोखरा र भैरहवा उडान काठमाडौंको तुलनामा सस्तो मात्रै नभएर सम्बन्धित वायुसेवालाई हरेक उडानमै कम्तिमा उड्डयन प्राधिकरण र वायुसेवा निगमलाई तिर्ने शुल्कमा मात्रै करिब ७ लाख भन्दा बढी लाभ छ । इन्धनमा हिसाब गर्ने हो भने हालको विदेशी विनिमय दर १५४ को हिसाबले पनि करिब ७४ हजार रुपैयाँ छुट छ ।

हाल पोखरा वा भैरहवामा आउने १५० सिट क्षमताभन्दा न्यारोबडीको जहाजबाट लिन सक्ने शुल्कमा प्राधिकरणले करिब ४ हजार डलर प्रति उडानमा र नेपाल वायुसेवा निगमले लिने शुल्कमा करिब ५५ सय डलरमा ५० प्रतिशत छुट छ । यस्तो छुट नेपाली रुपैयाँमा प्रतिउडान नै ७ लाख रुपैयाँभन्दा बढी हुन आउँछ ।