पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको एक वर्ष, अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न राज्यसंयन्त्र असफल



फाइल तस्बिर

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । गत वर्ष १ जनावरी २०२२ (१७ पुस, २०७९)मा औपचारिक उद्घाटन भएको यो विमानस्थल सञ्चालनमा आएको सोमबार एक वर्ष पूरा भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेर सञ्चालन सुरु गरेको यो विमानस्थलमा राज्यको करीब २२ अर्ब रुपैयाँ लगानी भएको छ ।

चिनियाँ ऋण सहयोगमा बनेको यो विमानस्थल सञ्चालन भएको एक वर्षसम्म औपचारिक रूपमा व्यवसायीक उडान सञ्चालन हुन सकेको छैन । यो विमानस्थलबाट नगन्य मात्रामा चार्टर उडान भए पनि अझै नियमित उडानको लागि कुनै वायुसेवाले प्रस्तावसम्म गरेका छैनन् ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरेको एक वर्षसम्म कुनै वायुसेवालाई ल्याउन नसक्नु र नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने दुई वायुसेवाबाट समेत एउटा पनि परीक्षण उडानसम्म हुन नसक्नुलाई राज्यसंयन्त्रको कमजारी मानिएको छ ।

यो विमानस्थलबाट पछिल्लो एक वर्षमा ८ लाख ८८ हजार आन्तरिक यात्रु उडेका छन् । यो उडान आन्तरिक उडानको मात्रै भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जशोदा सुवेदीले बताइन् ।

यो विमानस्थलबाट अन्तर्राष्ट्रिय चार्टर उडान जम्मा ७ वटा मात्रै भएको छ । यस्तो उडानबाट जम्मा २९६ यात्रु मात्रै आवतजावत गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । यो विमानस्थलबाट चाइनाबाट ६ वटा र एउटा उडान भुटानको ड्रुकले गरेको छ ।

कुटनीतिक पहल गर्न नसकेको र विमानस्थलमा २२ अर्ब रुपैयाँ भौतिक पूर्वाधारमा मात्रै खन्याएको विमानस्थल राज्यबाटै वेवास्थामा परिरहेको हो ।

यो विमानस्थलमा हाल अन्तर्राष्ट्रिय उडानका लागि कर्मचारी तयारी अवस्थामा छन् । भन्सार विभाग, अध्यागमन विभाग, अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी तयारी अवस्थामा खटिने गरेका छन् तर जहाज आउने टुंगो भने छैन ।

अन्तर्राष्ट्रिय उडानको टुंगो नभएकोले हाल विमानस्थलमा खटिएका ७५ जना कर्मचारी सबै आन्तरिक उडानको सेवामा नै चित्त बुझाएर बसेका छन् ।

विमानस्थल बनाएपछि सञ्चालनमै प्राथमिकता दिनुपर्ने भए पनि ऐन कानुनले दिएको भन्दा माथि जान नसकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

‘हाम्रो काम विमानस्थल सञ्चालनयोग्य बनाउने हो । त्यो हामीले बनाएका छौं । तर, विमानस्थल चलाउने भन्ने विषय हाम्रोमात्रै प्रयासले नहुने रहेछ,’ निरौलाले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न धेरै निकायको सहयोग चाहिन्छ । प्राधिकरणको एकलौटी प्रयासले मात्रै नहुने रहेछ भनेर पछिल्लो एक वर्षले देखाएको छ ।’

यो विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसक्नुमा नेपाली वायुसेवा बलियो नहुनु हो । नेपाल एयरलाइन्सले उडान सञ्चालन गर्न सकेको भए उसैमै आधारित भएर अरु निजी वायुसेवा पनि आउनसक्ने बुझाइ प्राधिकरणको छ ।

हालकाठमाडौं केन्द्रित वायुसेवाका उडान धेरै छन् । काठमाडौंबाट आएका वायुसेवाले बाहिरबाट उडान गर्न चाहेका छैनन् भने राज्यले दिनुपर्ने आवश्यक सेवा सुविधा दिन नसक्दा पनि विमानस्थल सञ्चालन हुन नसकेको बुझाइ उड्डयन प्राधिकरणको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसक्नुमा राज्यका अरु निकायको सहयोग र उपस्थिति नदेखिनु भएको पनि औंल्याएको छ । जसरी काठमाडौं विमानस्थलमा मात्रै १७० भन्दा बढी निकायले काम गरिरहेका छन् ।

काठमाडौंमा जस्तै पोखराबाट पनि श्रम स्वीकृति, भिषाको सहज व्यावस्था, यातायात, मजदुरको सहज आवतजावत, वैदेशिक रोजगारसहितका काम सहजै हुन नसकेकोले पनि विमानस्थल सञ्चालन हुन नसकेको बुझाइ सम्बन्धित सरोकारवालाले बताएका छन् ।

जसरी काठमाडौंमा सबै सुविधा छ त्यहीँ अनुसार बाहिरी विमानस्थलबाट पनि खोजिने भएका कारण बाहिर जानुन्दा काठमाडौंमा नै बाध्य भएर आउने गरेको देखिएको छ ।

पोखरा विमानस्थलमा २४ सै घण्टा तयारी अवस्थामा जनशक्ति घटिएका छन् तर अन्तर्राष्ट्रिय उडान भने कहिले हुन्छ भन्ने पनि टुंगो छैन ।

नेपाल नागरिक उड्डयन प्राधिरकणका अनुसार आगामी मार्चमा भुटानको ड्रुक एयरले उडान गर्ने इच्छा देखाएको छ । यो विमानस्थलमा उक्त एयरलाइन्सले पनि नियमित नभएर चार्टर उडानको चासो देखाएको उड्डयन प्राधिकरणको भनाइ छ ।


राजु बास्कोटा