पोखरा–भैरहवा चलाउन सकस

‘आकर्षक छुटमासमेत भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान ठप्प हुनु सरकारको नालायकी’

सेवा सुविधा अभावले पुरस्कार दिए पनि विदेशी एयरलाइन्स उडान गर्न अनिच्छुक

441
Shares

सरकारले पोखरा र भैरहवा विमानस्थलमा छुट छ, उडान गर मात्रै भन्ने तर त्यहाँ हुनुपर्ने न्यूनतम पूर्वाधारका सुविधा नदिँदा काठमाडौं नआई कुनै पनि यात्रु सीधै उतैबाट उडान अवतरण गर्न सक्दैनन् । जसले गर्दा ती विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडान ठप्प छ ।

काठमाडौं । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) चलाउन सरकारलाई सकस परेको छ । अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई आकर्षक छुट दिँदासमेत यी दुबै विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान ठप्प छ ।

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र पर्यटकीय सेवा सुविधा दिने नेपाल पर्यटन बोर्डले लिने सबै प्रकारको शुल्कमा छुट छ । यी दुई विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको सेवा दिने नेपाल वायुसेवा निगम र इन्धनको सेवा दिने नेपाल आयल निगमले पनि अधिकतम छुट दिएका छन् ।

तर, पनि सरकारले यी दुई विमानस्थलमा काठमाडौं सरहको सेवा सुविधा दिन नसकेको, सरकारी निकायकै गतिविधि सुस्त भएको, विमानस्थलका लागि आवश्यक न्यूनतम बाहिरी पूर्वाधार पूरा नगरेको र सरकारले सरोकारवाला निकायसँग जोडिएका सबै सेवा सुविधामा छुट दिन लगाउँदा अन्तर सरकारी निकायको समन्वयसँगै १३ प्रतिशतको भ्याट भने छुट दिन नसकेकोसहितका कारणले यी दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प छ ।

हाल पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानबाट पाउने शुल्क सम्पूर्ण छुट दिइएको छ । नेपाल वायुसेवा निगमले दिने ग्राउण्ड ह्याण्डलिङ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नु पर्दैन । यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको छुट तथा सहुलियत सरकारले २०८१ साउन २८ देखि दिएकोले छुट तथा सहुलियतको केबल निरन्तरता भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २३ मा विज्ञप्ति निकालेको छ ।

यद्यपि, सरकारले गत वर्ष २०८१ को साउन २८ मै निर्णय गरेर तीन वर्षसम्म (२०८३ भदौ)सम्मलाई सरोकारवाला निकायको सेवा सुविधा शुल्कमा न्यूनमत मात्रै लिनेदेखि पूर्ण छुटको निर्णय भइसकेको छ ।

सरकारले गत वर्ष साउन २८ मै ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना’ अनुसार छुट दिएको छ । यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु ३ हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ ।

यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्याण्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छूट छ । नेपाल पर्यटन बोर्डले पाउने १ हजार रुपैयाँको पर्यटन सेवा शुल्कमा पूर्ण छुट छ । यी दुई विमानस्थलमा नेपाल वायुेवा निगमले दिने ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ७५ प्रतिशत छुट छ । यी दुई विमानस्थलमा नेपाल आयल निगमले दिने इन्धनमासमेत काठमाडौंभन्दा झन्डै २ सय डलरसम्म सस्तो छ ।

हाल काठमाडौंभन्दा पोखरामा १८१ डलर र भैरहवामा १९१ डलर प्रतिकिलो लिटरले अन्तर्राष्ट्रिय तर्फको हवाई उडानमा इन्धन सस्तो छ । अहिले काठमाडौंमा आयल निगमले ९७३ डलर प्रतिकिलोलिटर अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्री गर्छ भने यस्तो मूल्य पोखरामा ७९२ डलर र भैरहवामा ७७६ डलर प्रतिकिलोलिटरको छ ।

निगमले यो सुविधासँगै पोखरा र भैरहवाबाट नागरिक उड्डयन प्राधिकरणले पाउनुपर्ने शुल्क पूर्ण छुट भएकोले कर्मचारी सञ्चालन खर्चसमेत प्राधिरकणले नै व्यहोर्नुपरेको छ । प्राधिकरण, आयल निगम, पर्यटन बोर्ड र वायुसेवा निगम आफैं कमाएर खानुपर्ने संस्थाबाट सरकारले छुट र सहुलियत दिलाउन बाध्य पारिहेको हुँदासमेत अन्तर्राष्ट्रिय उडानका वायुसेवा आएका छैनन्।

‘यी दुई विमानस्थल नियामक र सेवाप्रदायकले दिएको छुट नपुगेर अन्तर्राष्ट्रिय वायुसेवा नआएका होइनन्’, नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता तथा सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘सरकारले आफैंले दिनुनपर्ने भ्याट छुटमा नदिने, काठमाडौं विमानस्थलसरह भिसा, श्रम, मेडिकल, सडक पूर्वाधार, सार्वजनिक यातायातसहितका जेजे सेवासुविधा छन् त्यसलाई वेवास्ता गर्ने अनि विमानस्थल चलेन भनेर रोइलो मात्रै गरेर हुँदैन ।’

‘सरकारले विशेष प्याकेज ल्याएर काठमाडौंमा नआई सिधै उतैबाट बाहिरिने र भित्रने व्यवस्था किन गर्न नसकेको ?’ भुलले प्रश्न गरे । ‘सरकारको गरेको यो हदसम्मको वेवास्ताले त यी दुई विमानस्थलमा छुट हैन्, प्रतिउडान २ हजार डलर पुरस्कार दियो भने पनि अन्तर्राष्ट्रिय उडानका वायुसेवा आउँदैनन्’ उनले भने ।

यसअघि काठमाडौं विमानस्थलमा धावनमार्गको मर्मत र विस्तारका काठमाडौं बाहिर जान गरिएको आग्रह र व्यवस्थालाई प्राधिकरणले जबरजस्ती गर्‍यो भनेर भन्ने सरकारी निकायहरु अहिले पूरै नजरअदाज गरेर बसेका छन् ।

यसअघि नै भइसकेको व्यवस्थामा पर्यटन मन्त्रालले २३ साउनमा प्रेस विज्ञप्ति जारी गरेर नाटक मात्रै गरेको छ । मन्त्रालयले यस अघि नै भएको व्यवस्था र हवाई उडानमा भइरहेकै छुटलाई केवल काम देखाउन मात्रै विज्ञप्ति जारी गरेको जस्तो देखिएको छ । यो सरकारको पूरा नालायकी भएको सरोकारवालाको भनाइ छ ।

पर्यटन मन्त्रालका सूचना अधिकारी उपाध्याय भने गत वर्षदेखिकै सेवा सुविधा र छुटलाई निरन्तरता गरेको सूचना मात्रै जारी भएको बताए । उनले भएकै सेवा सुविधा र छुटलाई आगामी वर्षसम्मको लागि छ है भनेर सूचित गराएको बताए ।

सरकारकै वेवास्ताका कारण सन् २०२३ जनावरी १ बाट सञ्चालनमा आएको पोखरा र सन् २०२२ को मे १८ देखि सञ्चालनमा आएको भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प छ । यी दुई विमानस्थल केबल आन्तरिक उडानले मात्रै धानेका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि पोखरा र भैरहवा उडान काठमाडौंको तुलनमा सस्तो मात्रै नभएर सम्बन्धित वायुसेवालाई हरेक उडानमै कम्तिमा उड्डयन प्राधिकरण र वायुसेवा निगमलाई तिर्ने शुल्कमा मात्रै ७ लाख भन्दा बढी लाभ छ ।

हाल पोखरा वा भैरहवामा आउने १५० सिट क्षमता भन्दा न्यारोबडीको जहाजबाट लिन सक्ने शुल्कमा प्राधिकरणले करिब ४ हजार डलर प्रति उडानमा र नेपाल वायुसेवा निगमले लिने शुल्कमा करिब ५५ सय डलरमा ७५ प्रतिशत छुट छ । यस्तो छुट नेपाली रुपैयाँमा प्रतिउडान नै ७ लाख रुपैयाँभन्दा बढी हुने हुन्छ ।

पोखरा र भैरहवामा हुने उडानमा समस्या छुटको नभएर बजारीकरणको भएको औंल्याइएको छ । यसका लागि सरकारले नै बढी गम्भीर भएर ध्यान दिनुपर्ने पनि दुई विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजनामा उल्लेख छ । त्यसो त सरकारले नै पोखरा र भैरहवा चलाउन गत वर्ष जारी गरेको २१ बुँदे कार्ययोजना नै कार्यान्वयन गर्न नसकेको आरोप लागेको छ ।

नियामक र सेवाप्रदायकबाट पूर्ण कार्यान्वयन हुने, सरकार र सरकारी मातहतका सम्बन्धित कार्यालय र निकायबाट हुने काम नभएको कारण यी दुई विमानस्थल सञ्चालन हुन नसकेको देखिएको छ ।

यस्तो छ, नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना’