ग्यास सिलिन्डर सञ्चिति नगर्न निगमको आग्रह, ४ बुँदे चेतावनी

0
Shares

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास(एलपी) आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट गर्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सिलिन्डर सञ्चिति नगर्न आग्रह गरेको छ।

बुधबार प्रेस विज्ञप्ति जारि गर्दै निगमले ग्यासको सहज आपूर्ति र नियमित वितरण भइरहेको जानकारी दिएको छ।

मध्यपूर्व क्षेत्रमा देखिएको समस्याका कारण हालसम्म नेपालमा ग्यास आपूर्तिमा प्रत्यक्ष असर नपरेको निगमले प्रस्ट पारेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको बिक्री–वितरण तथा प्रयोगमा विभिन्न देशहरूले सावधानीका उपाय अपनाइरहेका भए पनि नेपालमा ग्यासको आपूर्ति सामान्य अवस्थामै रहेको निगमले जनाएको छ।

निगमले सम्भावित जोखिमलाई ध्यानमा राख्दै उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास प्रयोग गर्न र अनावश्यक सञ्चिति नगर्न आग्रह गरेको छ। निगमले पेट्रोलियम पदार्थ तथा ग्यास आवश्यक परिमाणमा मात्र खरिद र प्रयोग गर्ने आग्रह गरेको छ । यस्तै मासिक एक सिलिन्डरले पुग्ने अवस्थामा थप सिलिन्डर सञ्चिति नगर्न आग्रह गरेको छ ।

अनावश्यक भण्डारण नगर्न भन्दै निगमले ग्यासको सट्टा बिजुलीको खपत बढाउन, ग्याससँगै बिद्युतीय ऊर्जाको प्रयोग बढाउन, राइड सेयरिङको सुविधा उपभोग गर्न र विद्युत लागि जेनरेटर प्रयोग गर्न आग्रह गरेको छ ।

उद्योग क्षेत्रलाई पनि आग्रह गर्दै निगमले औद्योगिक प्रयोजनमा पेट्रोलियम पदार्थ तथा ग्यासको खपत कम गर्न र आवश्यक परिमाणमा मात्रै खरिद गर्न उद्योगहरूलाई आग्रह गरेको छ। हाल एलपीजी आयात तथा बिक्री–वितरण नियमित रूपमा भइरहेको र आगामी दिनमा पनि निरन्तरता पाउने भएपनि विश्वभर परेको प्रभावबाट नेपाल पनि अछुतो रहन नसक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक परिमाणमा मात्रै इन्धन तथा ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न औद्योगिक क्षेत्रलाई आग्रह गरेको छ ।

निगमले अनावश्यक रुपमा ग्यास सिलिण्डरको भण्डारण गरेको पाइएमा, बढी मूल्यमा बिक्री गरेको पाइएमा , नयाँ सिलिण्डरको बजारीकरण गरेको पाइएमा कानूनअनुसार कडा कारवाही गर्ने सूचना सार्वजनिक गरेको छ ।