नेपालसँग रहेको विदेशी मुद्राले डेढ वर्षको आयात धान्न पर्याप्त

98
Shares

काठमाडौं । नेपालसँग डेढ वर्षको आयात धान्न पुग्न विदेशी मुद्रा रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालसँग ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ विदेशी मुद्रा छ जुन एक महिनामै ६० अर्ब रुपैयाँले बढेको हो ।

अमेरिकी डलरमा हिसाब गर्दा नेपालको ढुकुटीमा २२ अर्ब ७६ करोड डलरबराबरको विदेशी मुद्रा छ ।

यति विदेशी मुद्राले नेपालको १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । अर्थात् पछिल्लो ७ महिनाको आयातलाई आधार मान्ने र यही दरमा आयात हुने हो भने नेपालले १८ महिनासम्म १ रुपैयाँ पनि विदेशी मुद्रा प्राप्त नगरे पनि आयात गरेरै खान पुग्न पुग्छ ।

नेपालले निर्यात, रेमिट्यान्स, विदेशीहरु नेपाल घुम्न आउँदा हुने खर्च, वैदेशिक सहायता आदिबाट विदेशी मुद्रा प्राप्त गर्दछ । यदी यी सबै गतिविधि रोकिए पनि १८ महिनाको वस्तु र सेवा आयात (वैदेशिक भ्रमण, शैक्षिक खर्च आदि) गर्न नेपाललाई अप्ठेरो पर्ने छैन । यदी वस्तुमात्र आयात गर्ने हो भने ३३ खर्ब २ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राले २१.३ महिनाको आयात धान्नेछ ।

चालु आर्थिक वर्षको ७ महिनामा विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले बढेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८२ माघ मसान्तमा ३३ खर्ब २ अर्ब ६६ करोड पुगेको हो । अमेरिकी डलरमा हिसाब गर्दा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा ७ महिनामा १६.७ प्रतिशतले बढेको हो । अमेरिकी डलर बलियो बन्दा नेपाली मुद्रामा विदेशी विनिमय सञ्चिति धेरैले बढेको हो ।

नेपालसँग रहेको विनियम मुद्रामध्ये सबैभन्दा धेरै नेपाल राष्ट्र बैंकमा छ । राष्ट्र बैंकमा २९ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ विदेशी मुद्रा छ भने बैंक तथा वित्तीय संस्थामा ३ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा छ । नेपालमा रहेको विदेशी मुद्रामध्ये भारतीय मुद्रा २१.५ प्रतिशत छ ।