आगजनीको डेढ महिनासम्म ‘नमिठो गन्ध’ फालिरहेको भाटभटेनी

2.4k
Shares

काठमाडौं । जेनजी प्रदर्शनका नाममा नक्साल भाटभटेनीमा तोडफोड, लुटपाट र आगजनी भएको डेढ महिना बितेको छ । मुलुकको महत्वपूर्ण प्रशासनिक संरचनाको रुपमा रहेको बालुवाटारस्थिति प्रधानमन्त्री निवास नजिकैको यस भाटभटेनीमा अहिले हरियो पर्दा टाँगिएको छ भने पर्खालहरु भाताभुंग अवस्थामा छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा पूर्ण क्षति पुगेको यस भाटभटेनीको पर्खाल केही समयमा नै भत्किएर ढल्न सुरु गरेको थियो । यसपछि, कात्तिक १ गते शनिबार छातेगणेश-नक्साल-भाटभटेनी मार्गमा सवारीसाधनलाई अस्थायीरूपमा डाइभर्सन गराएर जोखिमयुक्त पर्खाल डोजर लगाएर भत्काइयो, जुन डोजर अहिले पनि त्यहिँ छ ।

भाटभटेनी छेउका कपडा तथा अन्य पसलहरु सञ्चालनमा छन् भने त्यहिँको सडक हुँदै सयौंको संख्यामा सवारीसाधनहरु ओहोरदोहोर गरिरहन्छन् । उक्त सडकमा यात्रा गर्नेहरुको नजर एक छिनलाई भएपनि भाताभुंग भाटभटेनीमा पुग्ने गरेको छ । खासगरी, आगजनी भएको डेढ महिना बितिसक्दा पनि त्यहाँबाट आगोले डढेको नमिठो गन्ध फैलिरहेको छ, जसकारण पनि उक्त भवनमा मानिस एक झलक हेर्न पुग्छन् ।

जेनजी प्रदर्शनका क्रममा देशभरका २८ भाटभटेनी स्टोरमध्ये ७ वटा जोगिँदा २१ शाखामा क्षति पुगेको थियो । १२ स्टोरमा लुटपाटपछि आगो लगाइएको थियो भने ९ स्टोरमा तोडफोड र लुटपाट गरिएको थियो । तर, भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङका लागि अन्य स्टोरका तुलनामा नक्साल भाटभटेनी स्टोर केही फरक छ ।

नक्साल भाटभटेनी स्टोर नेपालको सबैभन्दा पहिलो स्टोर हो । नेपालभर अन्तर्राष्ट्रियस्तरको स्टोर बनाउने कार्यको थालनी गुरुङले नक्साल भाटभटेनीबाटै गरेका थिए । अझ, यो भन्दा पनि विशेष के छ भने गुरुङको पहिलो व्यवसायिक यात्राको सुरुवात पनि यही स्थान (नक्साल)बाट नै भएको थियो ।

गुरुङले करिब चार दशक अघि २०४१ सालमा नक्साल भाटभटेनी मन्दिर नजिकै सामान्य सटरबाट किराना पसल सुरु गरेका थिए । सामान्य सटर भाडामा लिएर किराना पसल चलाएका उनले त्यसको एक दशकमै नक्सालमै ३ हजार स्क्वायर फिटको भाटभटेनी सुपर मार्केट सञ्चालनमा ल्याउँदै नेपालमा अन्तर्राष्ट्रियस्तरको सुपर मार्केट भित्र्याएका थिए ।

तर, भदौ २४ गते प्रदर्शनका क्रममा नक्साल भाटभटेनीमा सुरुमा ढुंगामुढा प्रहार भयो । त्यसपछि, सामूहिक रुपमा भित्र पसेर सामानहरु लुटपाट गर्ने र बोकेर घर लैजाने गरियो । कुर्सीदेखि कपडा र अन्य सामानहरु मानिसले बोक्दै हिँड्दै गर्न थाले ।

प्रदर्शनमा उत्रिएका युवायुवतिको साथमा सोही स्थान वरीपरीका अन्य महिला/पुरुषसमेत स्टोरभित्र पसेर कपडा तथा अन्य सामानहरु बोक्दै हिँड्ने काममा सक्रिय बने । यसरी, सामान लुटपाट गरिसकेपछि भने भाटभटेनीमा आगो लगाउने काम भयो, जुन आगो करिब तीन दिनपछि मात्रै पूर्णरुपमा निभेको थियो ।

भाटभटेनी सुपर स्टोरका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार नक्साल भाटभटेनी स्टोरमा सबैभन्दा बढी क्षति पुगेको थियो । धेरै दिनसम्म आगजलागी हुँदा पर्खाल समेत आफैं भत्किने अवस्थामा पुग्यो । त्यसैले, सडक छेउमै रहेको पर्खाल भत्किएर क्षति पुग्ने देखिएपछि डोजर चलाएर त्यसलाई पन्छाउने काम गरिएको हो ।

‘नक्साल भाटभटेनीको पर्खाल आफैं खस्न थालेपछि त्यहाँ जोखिम बढेकाले डोजर चलाएर भत्किन लागेको पर्खाल पन्छाएका हौं। त्यसको निर्माण कार्य नै सुरु भने भइसकेको छैन,’ पौडेल भन्छन्, ‘धेरै क्षति पुगेका अन्य स्टोरमा पनि पुननिर्माणको काम सुरु भइसकेको छैन । अब केही समयमा हुन्छ ।’ उनले क्षति पुगेको अन्य स्टोरहरुमा पनि पुननिर्माणको काम सुरु भइनसकेको बताउँदै अब छिट्टै हुने जानकारी दिए ।

भाटभटेनीमा क्याफे तथा होटलसहित खाद्यान्न, लत्ताकपडा, घरायसी सामग्रीको ठूलो भण्डारण रहेकाले पनि लामो समय आगलागी भएको थियो । क्याफेमा ग्यास हुने तथा स्टोरमा अन्य प्रज्ज्वलनशील वस्तुहरू रहने भएकाले ठूला लप्कासहित आगो लागेको थियो ।

खाद्यान्न, लत्ताकपडा, घरायसी सामग्री जस्ता धेरै कुराहरु जलेका कारण अहिलेसम्म पनि त्यहाँबाट गन्ध आइरहेको हो । सो स्टोर हुँदै आवतजावत गर्दा दिनहुँ जलेका सामाग्रीको गन्ध फैलिरहेको हो । सामाग्री बढी भएकाले नै आगो नियन्त्रणमा आउन पनि बढी समय लागेको थियो ।

प्रदर्शनमा नक्साल भाटभटेनीमा पुगेको क्षतिको शिखर इन्स्योरेन्समा ६६ करोड रुपैयाँ बढीको बिमा दाबी परेको बताइएको छ । स्टोरमा सामानको मात्रै ६० करोड हाराहारीको र भवनको ६ करोड रुपैयाँ बढीको दाबी परेको बताइएको छ । यद्यपि, मूल्यांकनकै क्रममा भएकाले यसको आधिकारीक तथ्यांक भने आइसकेको छैन ।

हुन त नक्साल भाटभटेनीका साथै अन्य ठाउँका स्टोहरुमा पनि ठूलो क्षति पुगेको छ । काठमाडौं चुच्चेपाटीस्थित भाटभटेनीमा लागेको आगो नै करिब चार दिनपघि मात्रै नियन्त्रणमा आएको थियो । अधिकांश स्टोरहरुमा एक्कासी तोडफोड र ढुंगामुढा भएपछि कामदार निस्किने र प्रदर्शनकारी भित्रै पसेर लुटपाट गरी आगजनी गर्ने काम सो दिन भएको थियो ।

प्रदर्शनका क्रममा भाटभटेनीका सबै स्टोरमा गरी १० अर्ब ८५ करोड माथिको क्षति भएको थियो । क्षति पुगेका भाटभटेनीमा ४ अर्ब ४० करोड ६ लाख रुपैयाँ बराबरको क्षति भएको थियो भने ५ अर्ब ९६ करोड ३ लाख रुपैयाँ बराबरका सामग्री पूर्णरुपमा जलाइएका थिए । यस्तै, ४९ करोड ५७ लाख रुपैयाँ बराबरका सामग्री तोडफोड र लुटपाट गरिएको थियो ।

संरचनामाथि यतिको ठूलो क्षति हुँदा पनि आगजनीपछि भाटभटेनी सुपर मार्केटले सन्देश जारी गर्दै भनेको थियो, ‘दुःखद क्षणहरू गुज्रिए , तर आशा हराएको छैन । आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं । हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन् र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन् ।’

यसका साथै सन्देशमा, ‘भाट-भटेनी फेरि उभिने छ । तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं’ भनि संकल्प गरिएको थियो । यद्यपि, क्षति पुगेका भाटभटेनी सुपर स्टोरमध्ये १६ शाखा भने यसअघि नै सञ्चालनमा आइसकेका छन् जानकारी दिइएको थियो ।

भाटभटेनीले उल्लेख गरअनुसार काठमाडौं उपत्यकाभित्र नौ र उपत्यकाबाहिर सात गरी कुल १६ वटा स्टोर भने यसअघि नै सञ्चालनमा आइसकेको थियो । प्रदर्शनका क्रममा मुलुकका महत्त्वपूर्ण सरकारी संरचना, निजी क्षेत्रका व्यवसायीक भवन र सम्पत्तीमा ठूलो नोक्सानी पुगेकाले निजी क्षेत्र त्रसित अवस्थामै देखिन्छ ।