३५ हजारबाट व्यवसाय सुरु गरेका मिनबहादुरको भाटभटेनीको कारोबार २५ अर्ब, १४ अर्ब ऋण



काठमाडौं । भाटभाटेनी सुपरमार्केट अर्थात् नेपालमा सुपरमार्केटको कल्चर बनाउने संस्था । त्यसका सञ्चालक हुन् मिनबहादुर गुरुङ ।

सुपरमार्केटका ट्रेन्ड सेटरसमेत रहेका गुरुङ छिट्टै अर्बपति हुने व्यवसायीको सूचिमा परेका थिए । सफल व्यवसायीको पहिचान बनाएका गुरुङ कारोबारको आकार बढेसँगै विवादास्पद बने ।

तल्लो वर्गबाट एक्कासी माथिल्लो बर्गमा उक्लिँदाको भारले उनलाई नराम्रोसँग थिच्यो । कहिले नक्कली भ्याट बिल काण्ड त कहिले किर्ते गरी सरकारी जग्गा आफ्नो स्वामित्वमा पारेको अभियोग ।

सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बिल प्रयोग गरेर भ्याट छली र त्यसका आधारमा आयकर समेत छली गरेको आधारमा ८० करोड रुपैयाँ राजस्व तिर्नुपर्ने फैसला २०७६ साल पुस अन्तिममा गरेको थियो ।

उनै गुरुङलाई यही असार १२ गते नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीले बालुवाटारस्थित ललिता निवासको २९ रोपनी १५ जग्गा किर्ते गरी हडपेर आफू र आफ्नो परिवारमा ल्याएको अभियोगमा पक्राउ गर्यो । सीआइबीले थुनामा राखेर उनीमाथि अनुसन्धान गरिरहेको छ ।

यही प्रकरणमा गुरुङ २०७६ सालमा पनि पक्राउ परेका थिए । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ललिता निवासको १ सय १३ रोपनी जग्गा हिनामिना भएको भन्दै गुरुङसहित १७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । पहरीले पक्रियो । केही दिन हिरासतमा बसे पनि । विशेष अदालतले उनलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दियो । र, उनी हिरासतमुक्त भएका थिए ।

अहिले फेरि प्रहरीले उनलाई ललिता निवास जग्गा प्रकरणमा पक्राउ गरेको छ । यस पटक थप प्रमाण जुटाएर प्रहरी सक्रिय भएकाले पहिलाजस्तो सजिलो नभएको देखिन्छ ।

‘यसबीचमा हामी निरन्तर अनुसन्धान गरिरहेका थियौं, कसूरदारीविरुद्ध हामीले थप धेरै प्रमारणहरु जुटाएका छौं,’ सीआइबी प्रमुख किरण बज्राचार्यले क्लिकमान्डुसँग भनिन्, ‘किर्ते गरी हडपिएको सरकारी जग्गा फिर्ता ल्याउनू र अपराधमा संलग्नलाई कारबाही गरेरै छाड्नु हाम्रो मूल ध्येय हो । यसपटक हामी सफल हुन्छौं ।’

खोटाङबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका गुरुङ काठमाडौंमा खर्च धान्न व्यवसाय सुरु गरे । २०४१ सालमा भाटभाटेनी मन्दिर छेउमै १० वाई १२ को एउटा सानो कोठामा ३५ हजार रुपैयाँ लगानी गरेर एउटा किराना पसल खोले । र, त्यो बढ्दै गएर अहिले २५ अर्ब रुपैयाँ बराबर पुगेको छ । गुरुङ अर्बौंको सम्पत्तिका मालिक भएका छन् ।

देशभर भाटभटेनीका २३ वटा स्टोरहरु सञ्चालन गरिरहेका छन् । थप २ स्टोर सञ्चालनको अन्तिम तयारीमा छन् । भाटभाटेनीले प्रत्यक्षरुपमा करिब ५ हजार कर्मचारीलाई रोजगारी दिएको छ । देशका प्रायजसो आर्थिक हबमा भाटभटेनीको उपस्थिति छ । भाटभटेनी र गुरुङले बैंक तथा वित्तीय संस्थाबाट मात्रै झन्डै साढे १३ अर्ब रुपैयाँ ऋण लिएका छन् । उनलाई नजिकबाट चिन्नेहरुका अनुसार सहकारी र व्यक्तिसँग पनि उनले ठूलो रकम ऋण तथा सापटीको रुपमा चलाएका छन् । यस आधारमा विश्लेषण गर्दा गुरुङसाग् १४ अर्ब रुपैयाँको हाराहारीमा ऋण भएको हुनसक्छ ।

‘गुरुङजीले देशका कहलिएका व्यक्तिहरुको पनि मोटो रकम चलाउनु भएको छ,’ उनलाई नजिकबाट चिन्ने एक व्यवसायीले भने, ‘त्यसरी चलाउन पाएको पैसाले नै उहाँ यति छिट्टै अर्बपति बन्नु भएको हो ।’

त्यसो त पछिल्ला वर्षहरुमा उनको ब्यापारको पारो ठाडो उकालो मात्रै लाग्दै आएको थियो । सन् २०१७ मा ११ अर्ब १७ करोड कारोबार गरेको भाटभटेनीले सन् २०२० मा १९ अर्ब ३६ करोड रुपैयाँको कारोबार गरेको थियो । केही समयअघि क्लिकमान्डुलाई गुरुङले बताए अनुसार सन् २०२२ मा भाटभटेनीले २५ अर्ब रुपैयाँको कारोबार गरेको छ ।

भाटभटेनीमा गुरुङको ६० प्रतिशत तथा उनकी श्रीमति सावित्री गुरुङ घलेको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । भाटभटेनीले ३७ प्रतिशत लगानी काठमाडौं स्टिलमा गरेको छ । उक्त कम्पनीमा नेपाल बैंकले डेढ अर्ब रुपैयाँ लगानी गरेको छ । उक्त लगानीको सावाँब्याज नियमितरुपमा असूली भइरहेको नेपाल बैंकका सीइओ कृष्ण अधिकारीले जानकारी दिए । यसबाहेक मिनबहादुर गुरुङले विभिन्न बैंक तथा वित्तीय संस्थामा समेत लगानी गरेका छन् ।

५० अर्बको कारोबारपछि आइपीओ निकाल्ने योजना अब के होला ?

भाटभटेनीका संस्थापक गुरुङले ५० अर्बको कारोबारपछि सर्वसाधारणलाई सेयर जारी गर्ने बताएका थिए । ‘अहिले हाम्रो कारोबार २५ अर्ब रुपैयाँ पुगेको छ, ५० अर्ब भएपछि सर्वसाधारणलाई सेयर निष्कासन हुन्छ,’ गुरुङले केही समय अगाडि क्लिकमाण्डूसँग भनेका थिए ।

के होला भाटभटेनीको भविष्य ?

फस्ट जेनेरेशनका व्यवसायीहरु विवादमा आउँदा वा कुनै सजायको भागेदारी हुँदा उसले खडा गरेको साम्राज्य भताभुंग भएका धेरै उदाहारण छन् नेपालमा । सुधीर बस्नेत, इच्छाराज तामाङ हुन् वा कमल ज्ञवाली । उनीहरु पक्राउ परेपछि उनीहरुले खडा गरेका साम्राज्य ढलेका छन् । कमल ज्ञवाली जेल परेपछि त्यसबेलाको चर्चित किष्ट बैंकले आफ्नो अस्तित्व प्रभु विकास बैंकमा विलय गर्यो । त्यस्तै, सुधीर बस्नेतका कारण ओरियन्टल सहकारी मात्रै डुबेन, निर्माणाधीन भेगास सिटी लगायतका थुप्रै रियलस्टेट प्रोजेक्टहरु समाप्त भए । त्यस्तै, इच्छाराज तामाङ जेल परेपछि सिभिल सहकारी पतनको बाटोमा गयो भने उनी अध्यक्ष रहेको सिभिल बैंक आफ्नो अस्तित्व समाप्त गदैए हिमालयन बैंकमा बिलय भयो । उनीहरुका निजी व्यवसाय बन्द छन् ।

फस्ट जेनेरेशनका व्यवसायीको प्रणली बनिसकेको हुँदैन । उनीहरु एक्लैले सबै निर्णय गर्छन् । र, व्यक्ति डुब्दा सबै संस्था पनि डुब्ने गरेको देखिन्छ । मिनबहादुर गुरुङ पनि त्यस्तै हुन् । भाटभटेनीमा उनको एकल निर्णय चल्थ्यो ।

गुरुङ तत्कालै हिरासतबाट मुक्त भएनन् भने उनले बैंकबाट लिएको ऋणको सावाँब्याज भुक्तानी गर्न सक्दैनन् । र, बैंकले उनका सम्पत्ति लिलामी गरेर असूल गर्नुपर्ने बाध्यता आउछ । त्यो बेला गुरुङको इज्जत मात्रै होइन, सम्पत्ति पनि शून्यमा झर्ने देखिन्छ ।

गुरुङकी श्रीमती सावित्री गुरुङ, छोरा कल्याण गुरुङ, भाई पहलमान गुरुङ र छोरी कामना सबैजना भाटभाटेनीको व्यवसाय हेर्न सक्रिय छन् । उनीहरुमध्ये कतिपयको नाम बालुवाटार जग्गा प्रकरणमा जोडिएको छ । यदि उनीहरु पनि पक्राउ परे र जेल सँजाय भोग्ने अवस्था आयो भने व्यवसायमा ‘जसरी उदाएका गुरुङको साम्राज्य उसैगरी अस्ताउने’ निश्चित छ ।


क्लिकमान्डु