भाटभटेनीका एक दर्जन स्टोर डढेर खरानी, कतिपय भवननै नयाँ बनाउनु पर्ने अवस्था

175
Shares

काठमाडौं । भाटभटेनी सुपर मार्केटका एक दर्जन स्टोरहरू प्रदर्शनकारीले लगाएको आगलागीबाट पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । भदौ २३ सोमबार जेनजी युवाहरूले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्छ मंगलबार आन्दोन उग्र बनेको थियो ।

मंगलबारको प्रदर्शन उग्र बन्दा देशभर ठूलो धनजनको क्षति भएको छ । देशका प्रमुख शहरमा रहेका सार्वजनिक सम्पत्तिमा प्रदर्शनकारीले आगो लगाउँदा जलेर पूर्ण रुपमा नष्ट भएका छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहित विभिन्न सार्वजनिक सम्पत्तिमा लगाइएको आगो आज पनि कतिपय स्थानबा बलिरहेको छ ।

अनियन्त्रित उग्र भिडले केही व्यवसायीलाई लक्षित गर्दै उनीहरूको व्यवसायमा समेत आगजनी गरे । विशेष गरी भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र चौधरी ग्रुप आन्दोलनकारीको निशासनमा परेका छन् ।

भाटभटेनीको देशभर रहेका स्टोहरूमा सामान्यदेखि पूर्ण रुपमा क्षति पुगेको छ । भाटभटेनीको ११ वटा स्टोर र मुख्य गोदाम पूर्णरुपमा क्षतिग्रस्त भएको भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले बताए ।

कोशी प्रदेशमा रहेको भाटभटेनीका विर्तामोड, दमक, विराटनगर, धरानमा रहेका स्टोरहरू पूर्णरुपमा क्षतिग्रस्त भएको भाटभटेनी सुपरमार्केटका सञ्चाल गुरुङले बताए । यस्तै हेटौंडा, पोखरा र भरतपुरको स्टोर पनि पूर्णरुपमा क्षति भएको छ ।

उपत्यका बाहिर रहेका भाटभटेनीका ७ वटा स्टोर जलेर पूर्णरुपमा ध्वस्त भएका छन् । ति स्टोरमा रहेका सामान मात्रै नभएर भवन समेत काम नलाग्ने अवस्थामा पुगेको हो ।

काठमाडौं उपत्यकामा बालुवाटारमा रहेको मुख्य गोदाम, टंगालको सबैभन्दा पुरानो स्टोर, महाराजगञ्ज, कोटेश्वर र बौद्ध चुच्चेपाटीमा रहेको स्टोर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको सञ्चालक गुरुङले बताए ।

‘देशभरका सबैजसो स्टोरमा तोडफोड र लुटपाट भएको छ । ११ वटा स्टोरहरू भने भवन पुननिर्माण गर्नुपर्ने अवस्था भएको हो,’ उनले भने ।

कति रकम बराबरको क्षति भयो भन्ने एकिन तथ्यांक संकलन नभइसकेको गुरुङले बताए । ‘टंगालको स्टोरमा नै ६०/७० करोड रुपैयाँको स्टक थियो । हरेक स्टोरमा ठूलो स्टक हुन्छ । त्यो पूर्णरुपमा क्षति भएको छ,’ गुरुङले भने, ‘आगलागी भएका स्टोरका भवन नै शून्यबाट सुरु गर्नुपर्छ ।’