
काठमाडौं । नेपाल वायुसेवा निगमको आम्दानी डेढ अर्ब रुपैयाँले घटेको छ । निगमको चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो ८ महिना (साउन–फागुन)को आम्दानी गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा १ अर्ब ५४ करोड ४७ लाख रुपैयाँले घटेको छ । निगमको यस्तो आम्दानी १६ प्रतिशतले घटेको देखिएको छ ।
वायुसेवा निगमले चालु आर्थिक वर्षका पछिल्लो ८ महिनामा ३ लाख ४६ हजार ५०४ यात्रुलाई हवाई उडान सेवावापत गरेको आम्दानी ८ अर्ब ७५ करोड ४५ लाख रुपैयाँ रहेको छ । निगमले गत आर्थिक वर्षको यो अवधिमा ४ लाख ३ हजार २८६ यात्रुमार्फत १० अर्ब २९ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
निगमको आम्दानी पछिल्लो समय घट्दै गएको छ । अघिल्लो महिनाको तथ्यांकमा पनि निगमको आम्दानी घटेको देखिएको थियो । निगमले गरेको यस्तो आम्दानी अन्तर्राष्ट्रिय उडानका यात्रु तथा कार्गो सेवाबाट मात्रै भएको आम्दानी हो । निगमको आन्तरिक उडानको आम्दानीको हिस्सा भने नगन्य छ ।

मासिक अधिकतम २ हजार जनासम्म मात्रै यात्रु उडान गर्दै आएको निगमले पछिल्लो तीन महिनादेखि भएका २ वटा आन्तरिक उडानका जहाज उडाउन नसकेका कारण पछिल्लो तीन महिनादेखि यसको तथ्यांकमै आन्तरिक उडान शून्य छ ।
पछिल्लो समय निगमको आन्तरिक उडान ठप्प भएकोले पनि यसको आम्दानीमा योगदान नै छैन् । आन्तरिक उडान भइरहदा पनि सेवामूलक मात्रै भएका कारण यसले आन्तरिक उडानबाट नाफा भने कमाउन सकेको छैन् । निगमसँग भएको दुइवटा आन्तरिक उडानका जहाजमध्ये एक ट्वीनअटर ४ दिन अगाडि मात्रै उडानमा आएको छ । यसको अर्को जहाज भने अझै उडानको टुंगो छैन ।
निगमको तथ्यांक आनुसार मासिक औषतमा ४० हजार यात्रुलाई सेवा दिएको छ । निगमले गरेको आम्दानी पनि औषतमा एक अर्ब रुपैयाँ नै देखिएको छ । यस्तो आम्दानी गत वर्ष भने मासिक औषत सवा अर्ब रुपैयाँभन्दा बढी थियो ।
निगमले यो वर्ष साउनमा ३९ हजार यात्रु बोकेर ९४ करोड, भदौमा २८ हजार यात्रुबाट ६८ करोड, असोजमा ४४ हजार यात्रुबाट १ अर्ब ४२ करोड रुपैयाँ आम्दानी अन्तर्राष्ट्रिय उडानबाट गरेको छ । निगमले कात्तिकमा ४६ हजार यात्रु बोक्दा १ अर्ब ४५ करोड, मंसिरमा ५१ हजार यात्रुलाई सेवा दिँदा १ अर्ब ७३ करोड, पुसमा ४४ हजार यात्रु बोक्दा १ अर्ब ३० करोड, माघमा ४५ हजार यात्रुबाट १ अर्ब १५ कराड र फागुनमा ४७ हजार यात्रुलाई दिएको सेवाबाट १ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको निगमले सार्वजनिक गरेको पछिल्लो ८ महिनासम्मको तथ्यांकले देखाएको छ ।
वायुसेवा निगमका प्रवक्ता रमेश पौडलका अनुसार वाइडबडी र न्यारोबडी पालैपालो सिचेकका लागि इटली गएकोले त्यतिबेला उडान सेवा कमजोर भएको थियो । जसका कारण निगमले यात्रु उडान गर्न नसकेका कारण आम्दानी पनि घट्न पुगेकोपनि पनि उल्लेख छ ।

यो वर्ष निगमको एउटा जहाज ८० दिनमा सिचेकबाट फर्कंदा अर्कोले पनि सोही समय लगाएकोले पछिल्लो ६ महिनामा निगमको चारवटा अन्तर्राष्ट्रिय उडानका जहाजमध्ये पूर्ण क्षमतामा उपयोग नै हुन नपाएकोले आम्दानी घटेको उल्लेख छ ।
निगमको एक महिनालाई भनेर पठाएको जहाज पालोपालो ८० दिन भन्दा लामो समय सिचेकका नाममा इटलीमा गएर बस्नुले पनि निगमको ब्यालेन्ससीट बिग्रएको निगमकै प्रवक्ता पौडेलले बताएका छन । उनले भनेका छन्, निगमको आम्दानी घट्नुको प्रमुख कारण नै वायुसेवा निगमले दिने यात्रु सेवामा कमी हो । निगमले अघिल्लो वर्षको पहिलो ८ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा यात्रु सेवा नै ५६ हजार ७८२ जनाले कम यात्रु बोकेको छ ।
यो वर्ष निगमको एउटा वाइडबडी सम्पूर्ण मर्मत (सिचेक)को लागि १२ भदौ (अगस्ट २८) मा इटली पठाएको थियो । उक्त जहाज ८३ दिनपछि (३ मंसिर)मा मात्रै काठमाडौं फर्किएको थियो । निगमको ए३३०–२०० सिरिजको ९एन एएलजेड (मकालु) नामक उक्त वाइडबडी जहाज झन्डै तीन महिनासम्म मर्मतमा गएर बसेकोले यसको असर निगमको अर्थवार्षिक ब्यालेन्ससीटमा परेको हो ।
यसअघि निगमको एउटा न्यारोबडी ए३३०–२०० सिरिजको ९एन एएलजेड जहाज पनि २७ कात्तिक (१२ नोभेम्बर)मा मात्रै मर्मतबाट फर्किएको थियो । उक्त जहाज पनि असार ८ मा मर्मतमा गएर ८० दिनपछि मात्रै फर्किएको थियो ।
निगमको जहाज उडाएर लाभ दिनसक्ने न्यारोबडी र वाइडबडी जहाज पालैपालो साढे दुई महिनाभन्दा बढी समय थन्कनुको प्रत्यक्ष असर आम्दानीमा परेको वायुसेवा निगममा परेको हो ।
निगम नेतृत्वले गरेको कमजोरीका कारण एकातिर यात्रुसेवाबाट बञ्चित हुनुपर्यो भने अर्कोतिर आम्दानीसँगै निगमको शाखा पनि घटेको हो । निगमका कर्मचारी नेतृत्वको अक्षमताले जहाज उड्नेभन्दा थन्कने समय बढी हुँदा आम्दानी घट्न पुगेको दाबी हवाई क्षेत्रका जानकारको छ ।
निगमको आम्दानी घट्दा एकातिर नेतृत्वको अक्षमता उजागर भइरहेको छ भने अर्कोतर्फ ऋणको भारले थप थिलथिलो हुँदै गइरहेको छ । निगमले वाइडबडी लिँदा लिएको ऋण बढ्दै गएका कारण निगमलाई थप समस्या हुँदै गएको पनि उल्लेख छ ।
प्रतिक्रिया