
एजेन्सी । सधैं नै धनी र शक्तिशाली रहँदै आएका विश्वका डलर अर्बपतिहरूको प्रभाव झन् बढ्दै गएको छ । अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिका रूपमा निर्वाचित भएसँगै उनले अर्बपतिलाई सरकारमा झन् धेरै प्रभाव पार्ने मौका दिए ।
ट्रम्पका मुख्य सल्लाहकार विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । ट्रम्प प्रशासनमा कम्तीमा १० अर्बपति र अर्बपतिका सहयात्री छन् । मेटाका मार्क जुकरबर्गदेखि फ्रेन्च लक्जरी ब्रान्डका मालिक बर्नार्ड अर्नोल्टसम्मका व्यवसायी ट्रम्पको समर्थनमा छन् ।
अमेरिकाबाहेक अन्य देशहरूमा पनि अर्बपतिहरूको संख्या बढ्दै गएको छ । सन् २०२५ को फोर्ब्स विश्व अर्बपति सूचीमा ३ हजार २८ जना परेका छन्, जुन गत वर्षभन्दा २४७ जना बढी हो । विश्वमा पहिलो पटक अर्बपतिको संख्या ३ हजार नाघेको हो । यी अर्बपतिको कुल सम्पत्ति १६.१ ट्रिलियन अमेरिकी डलर पुगेको छ, जुन गत वर्षको तुलनामा २ ट्रिलियन डलरले वृद्धि भएको छ ।
अर्बपतिहरूको कुल सम्पत्ति अमेरिका र चीनबाहेक अन्य सबै देशहरूको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा बढी हो । अहिले एक अर्बपतिको औसत सम्पत्ति ५.३ अर्ब डलर पुगेको छ, जुन २०२४ को तुलनामा २०० मिलियन डलरले बढेको हो ।
३ अर्बपतिको सम्पत्ति २०० अर्ब डलरभन्दा बढी
पहिलो पटक ३ जना अर्बपतिको सम्पत्ति २०० अर्ब डलरभन्दा बढी भएको छ । फोर्ब्सको सूचीमा १०० अर्ब डलरभन्दा बढी सम्पत्ति भएका अर्बपतिहरू १५ जना छन् । यी १५ जना अर्बपतिको कुल सम्पत्ति २.४ ट्रिलियन डलर छ, जुन सूचीमा रहेका अन्तिम १,५०० अर्बपतिहरूको कुल सम्पत्तिभन्दा बढी हो ।
विश्वकै धनी व्यक्ति: एलन मस्क
फोर्ब्सको सूची अनुसार एलन मस्क ३४२ अर्ब डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्ति हुन् । उनले आफ्नो अन्तरिक्ष कम्पनी स्पेसएक्स र एआई कम्पनी एक्सएआईको सफलताबाट १४७ अर्ब डलर थप आर्जन गरेका छन् । उनले हालै आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई एक्सएआईसँग गाभेका छन् । टेस्लाका सेयरमा केही उतारचढाव आए पनि मस्कले सम्पत्ति बढाउन सफल भएका हुन् ।
दोस्रो स्थानमा २१६ अर्ब डलर सम्पत्तिका साथ मेटाका मार्क जुकरबर्ग रहेका छन् । अमेजनका संस्थापक जेफ बेजोस २१५ अर्ब डलर सम्पत्तिका साथ तेस्रो स्थानमा छन् । ओराकलका मालिक ल्यारी एलिसन १९२ अर्ब डलर सम्पत्तिसहित चौथो स्थानमा छन् भने बर्नार्ड अर्नोल्ट १७८ अर्ब डलरसहित पाँचौं स्थानमा झरेका छन् ।
सबैभन्दा धेरै अर्बपति भएको देश
अमेरिकामा हाल ९०२ अर्बपति छन्, जुन विश्वमा सबैभन्दा धेरै हो । चीनमा ५१६ अर्बपति छन् र भारतमा २०५ अर्बपति छन् । यी तीन देशका अर्बपतिले सूचीमा आधा स्थान ओगटेका छन् । यो वर्ष पहिलो पटक अल्बानियाबाट पनि अर्बपति सूचीमा परेका छन् । साउदी अरेबियाका १५ अर्बपति फोर्ब्सको सूचीमा फर्किएका छन् । उनीहरुलाई २०१८ मा सरकारले नियन्त्रण गरेपछि हटाइएको थियो ।
नयाँ अर्बपतिहरू
यस वर्ष २८८ जना नयाँ अर्बपति फोर्ब्सको सूचीमा परेका छन् । संगीतकार ब्रुस स्प्रिङस्टिन (१.२ अर्ब डलर), चलचित्र अभिनेता अर्नोल्ड श्वार्जनेगर (१.१ अर्ब डलर) र हास्य कलाकार जेरी सेइनफेल्ड (१.१ अर्ब डलर) जस्ता सेलिब्रिटी अर्बपति बनेका छन् । साथै, क्रिप्टो व्यापारी जस्टिन सन (८.५ अर्ब डलर), एआई कम्पनीहरू एन्थ्रोपिक, कोरवेभ र डिपसिकका संस्थापकहरू तथा काभा, चिपोटल, जर्सी माइक्स र जाक्सबाइज जस्ता लोकप्रिय रेस्टुरेन्ट चेनका मालिकहरू पनि अर्बपतिको सूचीमा परेका छन् ।
सबैभन्दा धनी महिला अर्बपति
४०६ महिला अर्बपतिहरू फोर्ब्सको सूचीमा परेका छन् । उनीहरूको कुल हिस्सा १३.४% रहेको छ। अर्बपति महिलाहरूको सूचीमा सबैभन्दा धनी एलिस वाल्टन (१०१ अर्ब डलर) रहेकी छिन् । उनले लोरियलकी उत्तराधिकारी फ्रान्स्वा बेटनकोर्ट मेयर्स (८१.६ अर्ब डलर) लाई उछिनेकी छिन् । स्विजरल्याण्डकी व्यवसायी राफाएला अपन्टे-डायमेन्ट (३७.७ अर्ब डलर) संसारकै सबैभन्दा धनी ‘सेल्फ-मेड’ महिला बनेकी छिन् ।
सबैभन्दा कान्छो अर्बपति
सबैभन्दा कान्छा ‘सेल्फ-मेड’ अर्बपति २८ वर्षीय अलेक्जान्डर वाङ हुन् । वाङले स्कले एआई कम्पनी स्थापना गरेका थिए । ३० वर्ष वा सोभन्दा कम उमेरका जम्मा २१ अर्बपति सूचीमा छन् । उनी हाल विश्वकै कान्छा अर्बपति १९ वर्षीय जोहान्स भोन बाउम्बाच (५.४ अर्ब डलर) हुन् । उनी जर्मनीका औषधि उद्योगका उत्तराधिकारी हुन् । १०३ वर्षीय अमेरिकी व्यवसायी जर्ज जोसेफ (१.९ अर्ब डलर) भने सूचीमा परेका सबैभन्दा जेठा अर्बपति हुन् ।
डोनाल्ड ट्रम्पको सम्पत्ति एक वर्षमै दोब्बर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति एक वर्षमै दोब्बर भएको छ । राष्ट्रपतिका रूपमा दोस्रो कार्यकाल सम्हाल्नुअघि उनले क्रिप्टो उद्योगमा लगानी गरी ठूलो नाफा कमाएका थिए । ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप सार्वजनिक भएपछि उनको सम्पत्ति २.३ अर्ब डलरबाट बढेर ५.१ अर्ब डलर पुगेको छ ।
धनीबाट गरिब भएकाहरू
१०७ जना अर्बपतिहरू गत वर्षको सूचीमा परे पनि यो वर्ष सूचीमा समावेश हुन सकेनन् । एएमडी कम्पनीकी सीईओ लिसा सु, सुपरमाइक्रोकी सह-संस्थापक सारा लिउ र हेर्मेस लक्जरी ब्रान्डका उत्तराधिकारी निकोलस पुइच सूचीबाट हटेका छन् ।
– फोर्ब्सबाट अनुवादित
प्रतिक्रिया