१२ वर्ष प्रयास गर्दा पनि बीबी एयरले जहाज ल्याउन सकेन, ३ एयरबस ल्याउने अनुमतिको म्याद सकियो

3.1k
Shares

काठमाडौं । नेपाली हवाई क्षेत्रमा आक्रामक सेवा दिने, हवाई उड्डयनमा निजी क्षेत्रको बलियो उपस्थिति जनाउने र वायुसेवा निगमको जहाज किनेर उसैलाई टक्कर दिनेसहितका सपना बोकेर हिँडेका बीबी एयरवेजका अध्यक्ष भवन भट्टको योजनामा फेरि तुसारापात भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बीबी एयरवेजलाई गत वर्ष एयरवसका ३ वटा न्यारोबडी ल्याउन दिएको नो नब्जेक्सन सर्टिफिकेट (एनओसी)को समय करिब सकिएको छ ।

प्राधिकरणले गत वर्ष १२ मार्चमा (फागनु २९ मा) बीबी एयरवेजलाई जहाज ल्याउन दिएको थियो । उक्त अनुमति दुई दिनपछि (२७ फागुन) ११ मार्च २०२५ मा सकिँदै छ ।

अबको २ दिनमा जहाज ल्याउने गरी क्षमता र योजना नबनाएको र तयारी समेत नभएको हुँदा बीबी एयरवेजले १२ वर्षपछि फेरि जहाज ल्याएर उडान गर्ने गरी बनाएको योजनामा तुसारापात भएको हो । नेपाली आकाशमा अन्तर्राष्ट्रिय उडानको सेवा प्रभावकारी बनाउने गैरआवासिय नेपाली भवन भट्टको सपना फेरि भंग भएको छ ।

नेपालको पर्यटन क्षेत्रमा लगानी बढाउँदै जहाज उडाउने योजना बनाएका भट्टले यस पटक पनि आफ्नो जहाज उडाउने योजनालाई सफल बनाउन सकेनन् । उनलाई प्राधिकरणले एक वर्षको समय दिएर जहाज ल्याउन अनुमति दिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बीबी एयरवेजलाई दिएको नो अब्जेक्सनको समयसीमा सकिएकोले यसले अब फेरि नयाँ प्रक्रियाबाट जानुपर्छ । यो कम्पनीले जहाज ल्याउन नसकेको र पटक पटकको प्रयास असफल भएको देखिएको छ ।

बीबी एयरवेजले गत मंसिरमै भुटानको ड्रुक एयरलाइन्सको एउटा जहाज भाडामा ल्याउने गरी कम्पनीसँग सम्झौता गरेको भने पनि उक्त जहाजलाई नेपाल भित्र्याउन भने सकेन । बीबीले नियामक निकायले तोकिदिएकै प्रकृतिको जहाज खोजेर नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी दिएको भए पनि बीबीले उक्त जहाजलाई नेपाल भित्र्याउने र उडानमा प्रयोग गर्ने योजनालाई भने सार्थकता दिन सकेन ।

एनओसी पाएपछि तीन महिनाभित्रै पहिलो र त्यसपछि ६ महिनामा दोस्रो जहाज ल्याएर उडान गर्ने योजना बनाएको भए पनि आवश्यकता अनुसारको जहाज नपाएकोले पूर्वयोजना सफल हुन नसकेको बीबी एयरवेजका एकान्टेवल म्यानेजर सुरेशमान सिंहले बताए । उनले क्लिकमान्डुसँग भने, ‘जहाज खोजी गरेर ल्याउने प्रयास जारी छ । उपयुक्त जहाज पाइएको अवस्थामा तुरुन्तै ल्याएर परीक्षण उडान गर्ने र नियमित उडानमा प्रयोग गर्ने प्रयास अझै जारी छ ।’

सिंहकाअनुसार बीबीले केही समय उडेका एयरवसको तीनवटा न्यारोबडी जहाजको खोजी गरिरहेको छ । यसले जहाज ल्याएर उडाइहाल्न नयाँ जहाजको अर्डर दिएर ल्याउनुभन्दा बजारमा खोज्दा छिटो हुने भन्दै सोही अनुसार योजना बनाएको हो ।

पछिल्लो समय जहाज भित्र्याउने योजनाको कुनै प्रगति नभएकोले थप जानकारी दिने बेला नभएको भन्दै सिंह पन्छिए ।

यसअघि आफैंले जहाज खरिद नगरी भाडामा ल्याउँदा डुबेको बीबी एयरवेजले १२ वर्षपछि फेरि उडान सुरु गर्न जहाज खोज्दा पनि भाडाकैलाई बढी जोड दिएको छ । यसले अहिले बजारमा खोजेजस्तो जहाज नपाएको र एयरवसको ३२० प्रकृतिको जहाज नभेट्टाएको कारण विभिन्न कम्पनीसँग भाडामा ल्याउने विषयमा कुराकानी भने नरोकेको पनि बताएको छ ।

बीबीले न्यूनतम तीनवटा जहाज राखेर उडान गर्ने गरी यसअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एनओसी लिएको हो । यसले जहाज ल्याएर आवश्यक प्रक्रिया पूरा गरेर एओसी लिने, एउटा जहाज उडान गर्दै थप जहाज ल्याउने पनि बताएको छ ।

प्राधिकरणले ३ वटा जहाज ल्याउनुपर्ने शर्त राखेर एनओसी दिएको दिएकोले यसले एयरवसको ए ३२०–२०० सिरिजका न्यरोबडी जहाज ल्याउन खोजिरहेको छ ।

नयाँ अर्डर गरेर ल्याउँदा समय लाग्ने भएकोले पाएसम्म दोस्रो बजारबाट खरिद गरेर ल्याउने वा भाडामा ल्याउने गरी दुबै विकल्प खोजेर अगाडि बढेको जानकारी पनि बीबीले दिइरहेको छ ।

यसअघि सन् २०१२ मा कम्बोडियाको टोन्ले साप कम्पनीबाट लिज पर्चेचमा एउटा जहाज ल्याएर यो वायुसेवाले १२ वर्ष अगाडि नै काठमाडौंबाट मलेसिया उडान सुरु गरेको थियो । यो वायुसेवाले त्यतिबेला भाडामा ल्याएको जहाज भाडा तिर्न नसकेपछि फिर्ता गएको थियो । पछि थप ल्याउन नसक्दा र आफैंले किनेको जहाज नहुँदा अहिलेसम्म उडान गर्न सकेको छैन ।

नयाँ जहाज ल्याएर बीबीले काठमाडौंबाट मेलेसिया, दोहा वा भारतमा पहिलो उडान गर्ने जनाएको छ । उडान प्रक्रिया मिलाउँदा जहाजबाट छिटो अनुमति आउँछ वा अनुकुल हुन्छ सोही गन्व्यबाट बीबी एयरवेजले अन्तर्राष्ट्रिय उडान गर्ने पनि बताएको छ ।

बीबीले मलेसियाको क्वालालम्पुर, कतारको दोहा र भारतको नयाँ दिल्लीमा पहिलो चरणमा र त्यसपछि सिंगापुर, हङकङ, थाइल्याण्ड र जापानको लागि पनि अनुमति पाएकोले ती मुलुकमा पनि दोस्रो चरणमा जाने गरी जहाज ल्याउन लागिएको जानकारी भने दिएको छ । यसले अहिलेको प्रयासमा जहाज नपाएको र ल्याउन नसकेको भए पनि फेरि प्रयास गर्ने दाबी गरेको छ ।

बीबी एयरवेजले करिब १२ वर्षअघि भाडामा ल्याएको एउटा जहाज भाडा तिर्न नसक्दा फिर्ता गएपछि तीन महिनामै बन्द भएको बीबी एयरवेजको जहाज उडाउने प्रयास अझै सफल हुन सकेको छैन ।

बीबीले वर्षेनी उडान सञ्चालन अनुमति (एओसी) नवीकरणको प्रयासमा समेत धेरै समय व्यथित भने गरिसकेको छ । यसले उडाउनै नसक्ने नेपाल वायुसेवा निगमको एउटा थोत्रो बोइङ लिएर पनि बस्यो । उक्त जहाज उडान नसकेपछि बीबीको १५ करोड रुपैयाँ खेर मात्रै गयो । बीबीले ६ वर्ष अगाडि अनुमति नवीकरणकै लागि निगमको एउटा बोइङ किनेको थियो । तर यसले एओसी लिएर उक्त जहाज उडाउने प्रयास भने असफल भयो ।

अब फेरि एक पटक कम्तिमा ७ देखि १० अर्ब रुपैयाँ लगानी गर्ने र उड्डयन क्षेत्रमा छुट्टै पहिचान बनाउन चाहेको प्रयास गरेको भए पनि जहाज ल्याउन दिएको समयसीमा नाघेकोले यसको योजनामा पुनः तुसारापात लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भने उड्डयन मापदण्ड पूरा गरेर जहाज ल्याउन रोक कुनै पनि कम्पनीलाई नलगाएको बताएको छ । प्राधिकरणका अधिकारीहरु तोकिएको मापदण्ड पूरा गर्न नसक्ने र लगानी जुटाउन नसकेका कारण उड्डयन क्षेत्रमा नयाँ लगानीकर्ता आउनै नसकेको बताउँछन् ।