ट्रम्पमाथि किन लागिरहेको छ रूसी जासुसको आरोप ?

3.6k
Shares

एजेन्सी । अमेरिकामा दोस्रो पटक डोनाल्ड ट्रम्प राष्ट्रपति बनेसँगै अन्तर्राष्ट्रिय राजनीतिमा हलचल मच्चिएको छ । ‘अमेरिका फर्स्ट’ नाराले दोस्रोपटक जित हात पारेका उनले विभिन्न देशहरुमाथि लगाएको ट्यारिफ(कर) ले होस् वा केही दिनअघि युक्रेनका राष्ट्रपति भ्लादमिर जेलनस्कीसँगको बैठक होस् ट्रम्प चर्चामा छन् ।

त्यति मात्र होइन दशकौंदेखि युरोपेली देशहरुसँगको सम्बन्धलाई सक्ने गरि ट्रम्प रूसी राष्ट्रपति भ्लादमिर पुटिनसँग नजिकएका छन् । पहिलो कार्यकालमा राष्ट्रपति बन्दा पुटिनको सदासयता र सहयोग पाएको आरोप खेपेका ट्रम्प दोस्रो कार्यकालमा पनि पुटिनसँग अस्वभाविक ढंगले नजिकिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा टिप्पणी भइरहेको छ ।

जेलनस्कीसँगको भेटको केही दिनअघि ट्रम्पले पुटिनसँग करिब ९० मिनेट टेलिफोन संवाद गरेको र पुटिनको योजनाअनुसार नै ट्रम्पले जेलेन्स्कीलाई ‘ओवल’ हाउसमा मानमर्दन गरेको कतिपयको आशंका छ । उनले रूस-युक्रेन युद्धका लागि रुसलाई दोषि देखाएनन् बरु जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध गराउन उद्यत रहेको आरोप लगाए । जेलेनेस्कीले पुटिनले २५ पटक सम्झौता तोडेको बताइरहँदा ट्रम्पले पुटिनले त्यस्तो नगर्ने र आफूसँग अहिलेसम्म त्यस्तो नगरेको भन्दै पुटिनको बचाउ गरे ।

ट्रम्पले दशकौँ पुरानो अमेरिकी विदेश नीतिलाई उल्टाउँदै रूसतर्फ झुकाव देखाएका छन्। युक्रेनमा भइरहेको युद्ध रोक्ने सवालमा समेत ट्रम्प पुटिनसँग उभिएका देखिन्छन् । उनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई रूसका कडा शर्तहरू स्वीकार गर्न दबाब दिइरहेका छन् ।

ट्रम्प पुटिनको पक्षमा लागिरहँदा कतिपयले उनलाई रूसको कठपुतली भएको आरोप लगाइरहेका छन् । केही समयअघि देखि त ट्रम्पमाथि रूसी जासुसको आरोप लाग्दै आएको छ ।

रूसी जासुसको आरोप

एकजना पूर्वसोभियत जासुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रूसी गुप्तचर संस्था केजीबीले सन् १९८० को दशकमा भर्ती गरेको दाबी गरेका छन् ।

काजाकिस्तानका पूर्वगुप्तचर सेवाका प्रमुख ऐनुर मुसायेभकाअनुसार ट्रम्पलाई सन् १९८७ मा मस्कोको पहिलो यात्राकै क्रममा भर्ती गरिएको थियो ।

मुसायेभकाअनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको सम्बन्धित फाइल रहेको छ । यद्यपि, यो आरोपको कुनै ठोस प्रमाण छैन । तर मुसायेभका टिप्पणीहरूले ट्रम्प र रूसबीचको सम्बन्धबारे चलेका धेरै दाबीहरूमा थप चर्चा बढाएको छ ।

पूर्वसोभियत अधिकारीहरूले ट्रम्प केजीबी एजेन्ट भएको दाबी गरेका छन् ।

ट्रम्पलाई केजीबीले भर्ती गरेको भन्ने दाबी गर्नेमा ऐनुर मुसायेभ मात्र होइनन् पूर्वकेजीबी मेजर युरी श्वेत्सले पनि यस्तै दाबी गरेका थिए । श्वेत्स क्रेग उङ्गरद्वारा लिखित अमेरिकन कोम्प्रोमाट: हाउ द केजीबी कल्टिभेटेड डोनाल्ड ट्रम्प एन्ड रिलेटेड टेल्स अफ सेक्स, ग्रीड, पावर, एन्ड ट्रेचरी पुस्तकको प्रमुख स्रोत हुन् ।

फ्रान्समा बसोबास गर्ने अर्का रूसी जासुस सेर्गेई झिर्नोभले पनि युक्रेनी पत्रकारसँगको अन्तर्वार्तामा मुसायेभको दाबी पुष्टि गरेका थिए ।

केजीबीले ट्रम्पलाई निरन्तर निगरानी गरेको बताइएको छ । ट्रम्प सन् १९८७ मा मस्को भ्रमणमा रहँदा केजीबीले उनलाई निरन्तर निगरानीमा राखेको बताइएको छ । केजीबीले उनको चालक दल, होटलका कर्मचारीहरू तथा उनी भेट्ने महिलाहरूसम्म परिचालन गरेको दाबी छ । झिर्नोभकाअनुसार ट्रम्प आर्थिक प्रलोभन वा ‘हनी ट्रयाप’ को सिकार हुनसक्थे । यद्यपि, उनले यो दाबी पुष्टि गर्ने कुनै ठोस प्रमाण प्रस्तुत गरेका छैनन् ।

ट्रम्प-रूस आरोपहरू अविश्वसनीय ?

ट्रम्पको रूसी सम्बन्धबारे धेरै वर्षदेखि विभिन्न दाबीहरू गरिँदै आए पनि अधिकांश ठूला आरोपहरू अनुसन्धानपछि असत्य प्रमाणित भएका छन् । पूर्वबेलायती गुप्तचर अधिकारी क्रिस्टोफर स्टिलद्वारा तयार गरिएको स्टिल डोजियरमा सन् २०१३ को ट्रम्पको मस्को भ्रमणका क्रममा रूसले उनीविरुद्ध प्रमाण संकलन गरेको आरोप लगाइएको थियो । तर, अमेरिकी न्याय विभागको निरीक्षक महासंघले एफबीआईले यस दस्तावेजलाई भरपर्दो स्रोत मानेर अनुसन्धान गर्दा गलत स्रोतहरूमा भर परेको निष्कर्ष निकालेको थियो।

रुसले सन् २०१६ को अमेरिकी चुनावमा हस्तक्षेप गरेको प्रमाणित भए पनि ट्रम्पको प्रत्यक्ष संलग्नता प्रमाणित हुन सकेन । विशेष अनुसन्धानकर्ता रोबर्ट मुलरले दुई वर्ष लामो अनुसन्धानपछि रूसले चुनावमा हस्तक्षेप गरेको देखाए पनि ट्रम्पसँग साँठगाँठ रहेको कुनै प्रमाण फेला परेन ।

के ट्रम्पमाथि लागेको आरोपमा सत्यता छ ?

केही विशेषज्ञहरूका अनुसार प्रमाणको अभावले आरोप झुटो सावित हुँदैन । ट्रम्पको परराष्ट्र नीतिले पनि उनलाई रूसको प्रभावमा रहेको पुष्टि गर्न सक्छ । किनभने उनले नेटोको आवश्यकता अस्वीकार गर्ने, पुटिनको समर्थन गर्ने र युरोपेली सहयोगीहरूलाई बेवास्ता गर्ने जस्ता काम गरेका छन् ।

यसबाहेक, यी पूर्वकेजीबी अधिकारीहरूको उद्देश्य पनि समीक्षा गर्न आवश्यक छ । ट्रम्प र रूसबीचको सम्बन्धबारे नयाँ आरोपहरू प्रमाणबिहीन रहेका कारण यो विषयबारे अड्कल तथा बहसहरू निरन्तर भइरहेका छन् ।

मुसायेभ र अन्य पूर्वकेजीबी अधिकारीहरूले ट्रम्पलाई लक्ष्य बनाइएको बताएका छन्, तर अहिलेसम्म कुनै ठोस लिखित प्रमाण उपलब्ध छैन । यसअघि पनि यस्ता आरोपहरू लगाइएका थिए जसमा स्टिल डोजियर प्रमुख उदाहरण हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा