![](https://clickmandu.com/wp-content/uploads/2025/02/pradusan-768x576.jpeg)
काठमाडौं । अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदुषण जाँच गरेका ९४५ वटा सवारी साधनमध्ये ५१५ वटा (५४ प्रतिशत) प्रदुषण मापदण्ड विपरीत भेटिएका छन् ।
सडकमा गुडिरहेका सवारी साधनमध्ये २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र ६९६ वटा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण गर्दा ४७१ वटा तोकिएको मापदण्डभन्दा विपरीत भेटिएका हुन् ।
महानगरपालिकाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७’, ‘प्रदुषण नियन्त्रण मापदण्ड २०८१’, ‘फोहरमैला संकलन तथा ढुवानी कार्यविधि २०८१’ जारी गरेको छ । यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारी साधनको प्रदुषण परीक्षण गरिएको हो ।
‘प्रदुषण नियन्त्रण मापदण्ड २०८१’ मा पेट्रोलबाट चल्ने र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ । जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्रे सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ ।
सहरका सडकमा गुडिरहेका सवारी साधनहरुले मापदण्ड पालनाको अवस्थामा जानकारी लिन गएको पुस २९ गतेदेखि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, ट्राफिक प्रहरी महाशाखा र महानगर प्रहरी बलसँगको सहकार्यमा प्रदुषण जाँच गरिरहेको छ ।
जाँच शुरुवातका चरणमा फेल भएका सवारी साधनहरुलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको छ । सचेतनात्मक कार्यक्रमका रुपमा सुझाव दिँदा पनि आफ्ना सवारी साधनलाई मर्मत सम्भार गरेर दुरुस्त अवस्थामा चलाउने गरेको नपाइए पछि फेल हुने सवारी साधनका चालकको कागजपत्र लिएर ५ सय रुपैयाँ जरिवाना तिराउन थालिएको छ ।
वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार अहिलेसम्ममा ५५ जना सवारी चालकलाई जरिवाना तिराइएको छ । यसरी मौका प्रदान गर्दा पनि अटेर गर्नेलाई सवारी साधन सञ्चालनमा रोक लगाउने महानगरपालिकाको तयारी छ ।
परीक्षणका क्रममा सवारी चालक र सहचालकलाई सम्झाउने, कानुनी व्यवस्थाका बारेमा जानकारी दिने, सवारी धनीलाई एसएमएसमार्फत सवारी साधनलाई चुस्त अवस्थामा राख्न आग्रह गर्ने गरिएको छ । यस्तै प्रदुषण मापदण्ड विपरीत पाइएका सवारी चालकलाई कानुनी कारवाही गर्न थालिएको छ ।
अहिलेसम्ममा ठमेल, मैतीदेवी, चावहिल, खुशिँबु, बालाजु, रातोपुल, कुलेश्वर, कमलपोखरी, बनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण भएको छ । यसरी फेल हुने सवारी साधनहरुमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कूल बस, सरकारी कार्यालयले सञ्चालन गरेका बुलेरो, सामान बोक्ने ट्रकलगायतका सवारी साधन छन् ।
प्रतिक्रिया