मलमा हुने अभाव र कालोबजारी नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

49
Shares

काठमाडैं । रसायनिक मलको कृत्रिम अभाव सिर्जना गरि भइरहेको कालोबजारी रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिबार कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीसँग ब्रिफिङ लिदैं प्रधानमन्त्री ओलीले रसायनिक मलमा हुने अभाव सिर्जना र कालोबजारी तत्कालै हटाउन निर्देशन दिएका हुन् ।

‘रसायनिक मल भएर पनि कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो आएका छन्,’ प्रधानमन्त्री ओलीले दिएको निर्देशनलाई उद्धृत गर्दै मन्त्रालय स्रोतले भन्यो,‘त्यो समस्या समाधान गरी तत्कालै आपूर्ति प्रणाली पारदर्शी र द्रुतगतिमा बितरण हुने व्यवस्था गर्नुस ।’

प्रधानमन्त्री ओलीले निकट समयमै नेपाली किसानलाई खुशी हुने गरी स्वदेशमै रसायनिक मल र प्राङ्गारिक मलको कारखाना सञ्चालनमा ल्याउन लागिएको जानकारी पनि दिएका छन् ।

मलको अभाव सिर्जना अन्त्य गर्न निर्धारित समयमा टेण्डर आह्वानका साथै सिजन सुरु हुनुअघि तराईमा १० दिन अगावै र पहाडमा १५ दिन पहिले पुग्ने व्यवस्था मिलाउन उनले कृषि मन्त्रीलाई निर्देशन दिए ।

ब्रिफिङमा मन्त्री अधिकारीले वार्षिक ५ लाख ५० हजार मेट्रिक टन मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन भएको जानकारी गराएका थिए ।

उक्त रकमबाट अहिलेसम्म दुई लाख ४० हजार मेट्रिक टन मल आयात भएको छ भने गत वर्षको मौज्दातसमेत गरी दुई लाख ६३ हजार मेट्रिक टन बिक्री भइसकेको उनले जानकारी गराएका थिए ।

यस्तै हाल ३० हजार मेट्रिक टन युरिया मल आयात हुने क्रममा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा युरिया मलको मूल्य बढ्दै गएकाले आयातकर्तासँग सम्झौता भइसकेको मल आपूर्ति हुन समस्या हुने र ग्लोबल टेण्डरका लागि ४५ दिनसम्मको अवधि दिनुपर्ने कानुनी व्यवस्थाले समस्या हुने गरेको मन्त्री अधिकारीले ब्रिफिङ गरेका थिए ।