![](https://clickmandu.com/wp-content/uploads/2025/02/Barsaman-pun-768x405.jpg)
खोटाङ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने बताएका छन् । ३०औं जनयुद्ध दिवसका अवसरमा बिहीबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै पुनले समाजवादीसँग आफूहरुको कार्यदिशामा समानता रहेको बताए ।
यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित माओवादी धारका सबै घटकसँग पनि सहकार्य र एकताको नीतिमा आफूहरु रहेको बताए ।
‘एकीकृत समाजवादीसँग हाम्रो कार्यनीतिक रुपमा धेरै कुरा मिल्छ, ढिलोछिटो हामी एकै ठाउँमा हुने सम्भावना छ’, उनले भने, ‘युद्ध गर्ने होइन, शान्तिपूर्ण प्रतिस्पर्धाबाटै जान तयार भए वैद्यजी, विप्लवजीहरुसँग पनि एकता हुन्छ । हिँजो सँगै लडेका र जनयुद्धको विरासत बोकेका सबै समूहसँग एकताका लागि हामी खुला छौं ।’
उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिपरि कम्युनिष्ट ध्रुवीकरणको प्रक्रिया अघि बढिसकेको दाबी गरे । पुनले आगामी ०८४ को स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा कसैसँग पनि तालमेल नहुने भन्दै अहिल्यैदेखि तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । काँगेस र एमालेप्रति जनताको मोह भंग भएको र विकल्पका रुपमा आफूहरुलाई छान्ने अवस्था बनेको दाबी उनको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कतिपय स्थानमा माओवादी उम्मेदवारले काँग्रेस–एमालेका साझा उम्मेदवारलाई हराएर जित निकालेबाट उक्त तथ्य पुष्टि हुने तर्क पुनले गरे ।
‘०८४ मा स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा हामी एक्लै लड्ने छौं, यसमा कसैलाई पनि भ्रम नहोस् कि हामी अब एक्लै अगाडि बढेका छौं’, पुनले भने, ‘हामी एक्लै जनताको जनमत लिन सक्ने भएका छौं । करिबकरिब ०६४ को जस्तै उभार देखिन थालेको छ ।’
प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा भ्रष्टाचार नियन्त्रण, राज्य दोहन र बिचौलिया प्रवृत्तिविरुद्ध तथा सुशासनका पक्षमा कदम चालेका कारण जनतामा काँगेस र एमालेसँगको सहकार्यले पनि माओवादी बिग्रिएको रहेनछ भन्ने मनोविज्ञान विकास भएका दाबी पुनले गरे । ‘हामीले भ्रष्टाचार, अनियमितता, राज्य रोहन र बिचौलियामाथि प्रहार गरेर अघि बढ्ने बाटो लिएका छौं’, पुनले भने, ‘काँग्रेस र एमाले बिचौलियाको र स्वार्थ समूहको ‘इन्ट्रेस्ट’ मा चलेका कारण हाम्रो बाटो फरक भएको छ ।’
राज्यमा कानून सबैलाई बराबरी हुने भए पनि सत्तापक्षकालाई एक प्रकारको तथा विपक्षी र आमसर्वसाधारणका लागि फरक खालको कानूनको अभ्यासजस्तो देखिएको टिप्पणी उनले गरे । ‘हामी प्रधानमन्त्री, मन्त्री, नेता र उच्च पदमा बसेको कर्मचारी सबै कानूनका नजरमा बराबर हुनुपर्छ भन्छौं । उहाँहरु होइन, फरक हुुनुपर्छ भन्नुहुन्छ । आफ्नालाई जोगाउने र अरुमाथि अनुसन्धान र अभियोजन गर्ने भन्नुहुन्छ । हाम्रो नमिलेको यहाँ हो’, पुनले भने ।
पुनले प्रधानमन्त्री केपी ओलीको नाम जोडिएका गिरीबन्धी, यति, ओम्नी, कम्बोडियाको लगानी र स्वीस बैंकमा रकम राखिएको भन्ने विषय तथा लडाकु शिविरमा भएको भनिएको अनियमितता र शेरा दरबार प्रकरणको सँगसँगै छानबिन अघि बढाउन माग गरे ।
‘गिरीबन्धु, यति, ओम्नी, स्वीस बैंक, कम्बोडियाको लगानीसहित क्यान्टोन्मेन्ट र शेरा दरबारको पनि छानबिन गरौं’, उनले भने, ‘हाम्रो कोही मुछिएको रहेछ भने पर्छ । तर, हामीलाई तर्साउन तिम्रो पनि छ भन्ने जस्ता कुरा हामी मान्दैनौं । छ भने छानबिन गरे हुन्छ ।’
प्रतिक्रिया