दोलखामा महिलामाथि खुकुरी हान्ने प्रयास, यस्तो छ कारण

10.6k
Shares

काठमाडौं । सोमबार(हिजो) देखि सामाजिक सञ्जालहरुमा एक महिलामाथि पुरुषले खुकुरी प्रहारको प्रयास गरिएको देखिने भिडियो भाइरल बनेको छ ।

भिडियोमा कसैले शिक्षिकामाथि आक्रमण लेखेका छन् भने कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रेम प्रस्ताव अस्वीकार गर्दा आक्रमण भन्दै लेखेका छन् । दोलखाको भनिएको घटनाको वास्तविकता भने फरक रहेको छ ।

दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ मा यो घटना भएको प्रहरीले जनाएको छ । दोलखा प्रहरीका अनुसार यो घटना अंशबन्डा विवादसँग जोडिएको पाइएको छ ।

फूपुका छोराले मामाको छोरीमाथि खुकुरी प्रहारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बैतेश्वर गाउँपालिका वडा नम्बर ६ की ४१ वर्षीय उषा तामाङमाथि सोमबार बिहान ९ बजे आक्रमणको प्रयास भएको प्रहरीको भनाइ छ ।

तामाङलाई उनका मामाका छोरा सुन्दर अधिकारीले बाटोमै रोकेर धकेल्दै खुकुरी देखाएका थिए । पीच रोडको एकटा कुनामा सुन्दरले उषालाई धकेल्दै खुकुरी हान्न खोजेको भिडियोमा देखिन्छ ।

तामाङमाथि खुकुरी प्रहार हुन लाग्दा स्थानीयले देखेपछि सुन्दरमाथि उनीहरु खनिएका थिए भने उषा भाग्न सफल भएकी थिइन्।

प्रहरीका अनुसार अंशबन्डासम्बन्धी मुद्दामा सुन्दर अधिकारीले जिल्ला अदालतबाट फैसला जितेका थिए । त्यसपछि उषाले उच्च अदालतमा पुनरावेदन दिएकी थिइन् । यही विषयमा आक्रोशित भई सुन्दरले खुकुरी प्रहारको प्रयास गरेको बताइएको छ।

उषा तामाङ बैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका हुन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।