२२ वर्षीय माइकल डंगौराको ठगी धन्दा

‘घरै बसेर पैसा कमाउनुस्’ भन्दै ठगेर आईटी इन्जिनियरले २ ठाउँमा जोडे भव्य महल, खातामा ४ करोड (भिडियो)


नामः माइकल डंगौरा
उमेरः २२ वर्ष
स्थायी ठेगानाः तत्कालीन कैलाली, वर्गगोरीया गाँउपालिका–६
अस्थायी ठेगानाः काठमाडौं बुुढानिलकण्ठ–८, गैरीगाँउ (भंगाल)
अध्ययनः स्नातक, आईटी इन्जिनियरिङ
पेशाः संगठित रुपमा अभौतिक मुद्राको कारोबार, अनलाइन स्क्याम
सम्पत्तिः काठमाडौंमा ३ करोडको घर, कैलालीमा भव्य महल, बैंक खातामा ४ करोड नगद
सवारी साधनः क्रेटा गाडी

२२ वर्षको उमेरमा करोडौं सम्पत्ति । सुन्दा जो कोहीलाई पनि विश्वास नलाग्न सक्छ, तर सत्य यही हो । करोडौं सम्पत्ति धेरै समयको कमाइ पनि हैन, मात्रै डेढ वर्षको अवधिको छ ।

आईटी इन्जिनियरिङ अध्ययन गरेका डंगौरालाई छोटो समयमा करोडौंपति बन्ने लोभ लाग्यो । अनी उनले सुरु गरे संगठित अपराधको यात्रा ।

संगठित अपराध गरेर सयौं मानिसलाई ठग्नका लागि उनी एक्लै लागि परेनन् । साथमा अन्य ६ जनालाई पनि आपराधिक दुनियाँमा लाग्न साझेदार बनाए । त्यसमा नेपाली मात्रै नभएर भारतीय नागरिक समेत संलग्न भए ।

संगठित रुपमा क्रिप्टो करेन्सी, अनलाइन स्क्याम र हुण्डी कारोबार गर्नका लागि माइकललाई साथ दिनेमा कैलाली वर्दगोरीयाका २६ वर्षीय अनिल विश्वकर्मा, बुढानीलकण्ठ बस्ने २९ वर्षीय पियुष श्रेष्ठ, दोलखाका १९ वर्षीय आश्विन चौलागाईं, रौतहटका २२ वर्षीय सत्यम कुमार सहनी, काठमाडौं बस्ने भारत बिहारका २७ वर्षका रोशन कुमार र ३६ वर्षीय मुन्ना कुमार थिए ।

संगठित रुपमा आपराधिक क्रियाकलापमा लागेका यी युवाहरु सीआईबीको हिरासतमा छन् ।

उनीहरुले विभिन्न व्यक्तिहरुलाई संगठित रुपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोवार गर्ने गरेको पाइएको छ ।

विभिन्न बैंक तथा डिजिटल वालेटका प्रयोगकर्ताहरुलाई झुक्याई बैंक तथा वालेटहरूको आधिकारीक व्यक्ति भनि उनीहरुको ओटीपी (वान टाइम पासवर्ड), पिन नम्बर मागेर अनाधिकृत रुपमा बैंक तथा डिजिटल वालेटमा पहुँच पु¥याई रकम ठगी गर्ने गरेको पाइएको छ ।

यो समूहले ठगी गर्नका लागि फेसबुक, ह्वाट्सएप, टेलिग्राम प्रयोग गरेको सीआईबीका प्रवक्ता सुधिरराज शाहीले बताए ।

यो समूहले अनलाइन जब, घरमै बसेर धेरै रकमहरु कमाउन सकिने, अनलाइन ग्याम्बलिङ गर्ने, आकर्षक बिज्ञापनहरु विभिन्न लिंकहरूबाट पठाई साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंक तथा वालेटहरूमा पहुँच पु¥याई निजहरूको रकम अन्यत्र खातामा पठउने गर्ने गरेको उनको भनाइ छ ।

ठगी गरेको रकम थोरै समयमै विभिन्न तहमा बिभिन्न व्यक्तिहरुको बैंक तथा डिजिटल वालेटमा ट्रान्सफर गर्ने गरेका थिए ।

यो समूहले फेसबुक, ह्वाट्सएप, टेलिग्राम प्रयोग गरेर घरैमा बसेर धेरै रकमहरु कमाउन सकिने भन्ने जस्ता आकर्षक विज्ञापनहरु एवं अन्य माध्यमबाट मानिसहरुलाई प्रलोभनमा पारी उनीहरुको नागरिकता, फोन नम्बर प्रयोग गरी विभिन्न बैंक तथा डिजिटल वालेटहरुमा खाता खोल्न लगाई उक्त खाता आफूले प्रयोग गर्ने र प्रयोग गरेवापत निश्चित रकम दिने गरेका थिए । घरमै बसेर पैसा कमाउने भनेपछि पीडितहरुले खाता नम्बर दिने गरेका थिए । त्यसबापत खातावालाले कारोबार भएको रकमको १० प्रतिशतसम्म पाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

यस्ता खाताहरुमा अनलाइन ठगीबाट आर्जित रकम जम्मा गर्ने, क्रिप्टो करेन्सी खरीद बिक्री गर्ने तथा हुण्डी कारोबार गर्न समेत प्रयोग गर्ने गरेको सीआईबीले जनाएको छ ।

जनतालाई ठगेको पैसा क्रिप्टो करेन्सी, गेम प्वाइन्ट किन्न प्रयोग गर्ने गरिएको थियो ।

यो स्क्यामर समूहले समानान्तर बैंकिङ कारोबार गरी मानिसहरुको आवश्यकतानुसार नेपाल भित्र र बाहिर डिजिटल–क्रिप्टो करेन्सी, गेम प्वाइन्ट एवं भौतिक मुद्रा समेत कारोबार गर्ने गरेको सीआईबीको अनुसन्धानले देखाएको छ ।

विदेशमा रहेका नेपालीले कमाएको पैसा नेपालमा बैंकिङ प्रणाली मार्फत पठाउँदा राज्यलाई कर तिर्नुपर्छ । पैसा पठाउने माध्यमलाई पनि निश्चित रकम शुल्क तिर्नु पर्छ । तर, माइकलको समूहले भने विदेशमा रहेका नेपालीले कमाएको पैसा नेपालमा पठाउँदा उनीहरुले पठाएको रकममा केही रकम अझै थपेर दिने गरेका थिए ।

विदेशबाट आएको पैसा विभिन्न व्यक्तिलाई दिने काम विश्वकर्मा र चौलागाईंले बढी गर्ने गरेका थिए । यसमा माइकलको समूहलाई विदेशमा रहेका आापराधिक समुहका एजेन्ट समेत सहयोग गर्ने गरेको खुलेको छ । यो समूहले ५ अर्ब रुपैयाँभन्दा बढी ठगेको पाइएको सीआईबीका प्रवक्ता शाहीले बताए । सबैको डिजिटल फरेन्सीक रिपोर्ट आउँदा यो रकम बढन सक्ने उनको भनाइ छ ।

माइकललाई यो ठगी कार्यमा आश्विन चौलागाईंका सहोदर दाजु आशिष चौलागाईले अमेरिकामा बसेर पनि साथ दिएको देखिएको छ ।

डेढ वर्ष अघिको त्यो उजुरी र अनुुसन्धान
करिब डेढ वर्ष अघि एक जना ठगीएका व्यक्तिको उजुरी सीआईबीमा पर्यो । विषय थियो, अनलाइन ठगीको । प्रविधिको विकासले अनलाइन ठगीका घट्ना बढेको बढ्यै थिए । सीआईबीले उजुरी दर्ता गर्यो । उही समूहबाट ठगीका उजुरी धमाधम आउने थाले । घट्नाले सीआईबीको ध्यान तान्यो ।

अनलाइन ठगीबाट सुरु भएको ठगहरुको यात्रा हुण्डीमा समेत पुग्यो । हुण्डीको कारोबार पनि भएका कारण सीआईबीलाई अनुुसन्धान गर्न सहज भयो र ठगको समूहसम्म पुग्न सजिलो भयो । केही समय अघि रोजगारीका लागि विदेशमा रहेका एक नेपालीले नेपालमा पैसा अवैध रुपमा माइकलको समूह मार्फत पठाए । त्यो रकम माइकलको समूहले क्रिप्टो तर्फ लगायो । त्यो रकम पठाउनेबाट पाउनेले समयमा नपाएपछि प्रहरीमा उजुरी पर्यो । उजुरी गर्नेले अवैध रुपमा हुण्डीमार्फत पठाएको स्वीकारे । तर, त्यो पैसा केही ढिला भएपनि हुण्डी गर्नेको आफन्तको खातामा ट्रान्सफर भयो । यसले सीआईबीलाई अनुसन्धान गर्न सजिलो बनायो ।

अनुसन्धानको क्रममा ब्यूरोले कैलालबाट अनिल विश्वकर्मालाई पक्राउ गर्यो । विश्वकर्माको बयानपछि अनुुसन्धान सोझियो डंगौरातिर । त्यसपछि ब्यूरोले अपरेसन नै चलायो । विश्वकर्माको बयानपछि ठगी भएको रकम करोडौं रहेको देखियो । क्रमैसँगै अनुसन्धान गरेको ब्यूरोले एकै पटक अपरेसन चलाउँदा संगठित रुपमा ठग्ने दुई भारतीयसहित ७ जना पुसमा पक्राउ परे ।

विश्वकर्माले विभिन्न बैंकमा खाता खोलेको र माइकलले उनको खातामा रकम पठाउने, त्यो रकम माइकलले भने अनुसारको खातामा पठाउने जिम्मा अनिलको थियो । त्यसका लागि उनी काठमाडौं आउनु परेन । कैलालीमा नै बसेर काम गरिरहेका थिए । उनको हातमा कमिसन जाने गरेको थियो । रकम अनुसार कमिसन पनि फरक फरक हुने गरेको थियो ।

ठगीको कनेक्सन
यी ७ जनाले संगठित रुपमा ठगी गर्ने गरेको भए पनि एकजनाको काम अर्कोसँग सम्पर्क गर्ने थियो । सबैलाई कामको जिम्मेवारी माइकलले बाँडफाँड गरेका थिए ।

यो समूहले आफ्नो सञ्जाल विस्तार गर्न सामाजिक सञ्जालमा विभिन्न प्रलोभन आउने खालका लिंक पठाउँथे र त्यसलाई क्लिक गर्न लगाउँथे ।

क्लिक गरेपछि जसले क्लिक गर्छ उनीहरुको डिजिटल वालेटसम्म पहुँच पाउँथे । पीडितसँग वालेटको ओटिपी (वान टाइम पासवर्ड) माग्ने र त्यसलाई ह्याक गरेर बैंक तथा डिजिटल वालेटबाट पैसा ठग्ने काम गर्थे ।

पीडितहरूको वालेट ह्याक गरेपछि सो रकम कुन खातामा ट्रान्सफर गर्ने भन्नेबारे माइकलले निर्देश गर्थे । पठाएको रकमलाई अन्य बैंकको खातामा ट्रान्सफर गर्ने काम विश्वकर्मा र चौलागाईंको थियो । भारतीय नागरिकले पनि सोही काम गर्ने गरेका थिए ।

यो कार्यमा एक जना बंगलादेशी नागरिक पनि रहेको खुलेको छ । बंगाली नागरिकले माइकलले विदेशमा रहेका नेपालीलाई ठगेको रकम बीचैबाट क्रिप्टोमा रुपान्तरण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

भारतीय नागरिकले विदेशीलाई ठग्ने समेत काम गरेको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध अनलाइन ठगी, क्रिप्टोका साथै संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको एसपी शाहीले बताए ।