नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी, अहिलेसम्म कति भयो काम ?




काठमाडौं । सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरेको छ ।

सुरुङमार्गको निर्माणपछि आफ्नै प्रत्यक्ष रेखदेख हुने गरी सञ्चालन गर्न समस्या भएकाले सरकारले निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिने तयारी गरेको हो ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका नायव निर्देशक सञ्जय पन्थीका अनुसार ५ वर्षका लागि सुरुङमार्ग सञ्चालनको जिम्मेवारी निजी क्षेत्र (सर्भिस प्रोभाईडर) लाई दिन लागिएको हो ।

‘सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुग्नै लाग्दा निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिन ग्लोवल टेण्डर आह्वान गर्ने तयारी छ,’ उनले भने ।

ग्लोवल टेण्डरमा सहभागी हुने निजी क्षेत्रका कम्पनीले नेपाली कम्पनीसँग साझेदारी गर्नुपर्ने उनको भनाइ छ ।

यो सुरुङमार्ग निर्माण पश्चात् निर्माण गर्ने कम्पनीले सञ्चालनको जिम्मेवारी लिने विषयमा लिखित सम्झौता नभएकाले सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिन लागिएको आयोजनाले जनाएको छ ।

सिद्धबाबा सुरुङमार्गको हकमा भने निर्माण पश्चात् निर्माण गर्ने कम्पनीले नै ५ वर्षसम्म सञ्चालनको लागि लिखित सम्झौता गरेको छ ।

योसँगै आयोजनाले यो सुरुङमार्ग सञ्चालनका लागि ‘नागढुंगा(काठमाडौं)–सिस्नेखोला (धादिङ) सुरुङमार्ग यातायात सञ्चालन सम्बन्धी’ कार्यविधि पनि तयार गरेको छ ।

तयार भएको यो कार्यविधिको मस्यौदा अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रस्तावित गरिएको छ ।

‘मन्त्रालयले अहिले उक्त कार्यविधिमा यातायात र सडकसम्बन्धी विद्यमान नीति र कानूनको बिषयमा राय सुझावको लागि यातायात व्यवस्था विभागमा पठाएको छ,’ पन्थीले भने, ‘राय सुझावसहित आएको कार्यविधिमा संशोधन गरी अन्तिम रुप दिएर स्वीकृत गरि कार्यान्वनयमा ल्याइनेछ ।’

स्वीकृत हुने यही कार्यविधीको जगमा रहेर नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको लागि टेण्डर आह्वान गरिने र निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिइने उनले जानकारी दिए ।

सञ्चालनको जिम्मेवारी पाउने निजी क्षेत्रको कम्पनीले सुरुङमार्गको मेन्टिनेन्स, सञ्चालन, रेखदेख, टोल गेट फी (प्रवेश शुल्क), सवारी साधन तथा यात्रुको सुरुङमार्गभित्रबाट उद्दार, सुरुङमार्गभित्र बिरामी हुने सर्वसाधारणको उपचारलगायतको जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यो कार्यविधिले उक्त सुरुङमार्ग कसरी सञ्चालन गर्ने, मापदण्डहरु के के हुने, सुरुङमार्गभित्र स्पीड कति हुने, एक अर्को सवारीबीच दूरी कति हुने, दण्ड र जरिवानाको व्यवस्था कस्तो हुने, ओभरटेक र इन्टरटेनमेन्टजस्ता विषयमा मार्ग प्रसस्त गर्नेछ ।

आयोजनाअनुसार सुरुङमार्गभित्र सवारी साधन चलाउँदा गति प्रतिघण्टा ६० किलोमिटरको दरमा हुनुपर्ने कार्यविधिले व्यवस्था गरेको छ । यस्तै सुरुङमार्गभित्र ओभरटेक, इन्टरटेनमेन्ट गर्न पाइने व्यवस्था गरिएको छ । एक अर्को सवारी साधनबीच सुरक्षित दूरी कायम गर्नुपर्ने व्यवस्था कार्यविधिले गरेको छ ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भएर यात्रा गर्ने सवारी साधनको हकमा अहिले टोल गेट शुल्क भने तोकिएको छैन । टोल गेट शुल्कको विभिन्न मोडालिटीको बिषयमा छलफल भइरहेको छ ।

उनका अनुसार सुरुङमार्गमा प्रवेश गर्न शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । सिस्नेखोला र नागढुंगातर्फबाट प्रवेश गर्दा यस्तो शुल्क तिर्नुपर्नेछ ।

सुरुङमार्ग निर्माण गर्दा लागेको खर्च उठाउन र सञ्चालन गर्न लाग्ने खर्च व्यवस्थापन गर्न टोल गेट शुल्क उठाउने प्रस्ताव गरिएको उनले जानकारी दिए ।

‘शुल्क कति उठाउने विषयमा ठ्याक्कै निर्णय भइसकेको छैन,’ पन्थीले भने, ‘तर कार्यविधिमार्फत सवारीसाधनको वर्गीकरणअनुसार ५० देखि ५ सय रुपैयाँसम्म टोल गेट शुल्क उठाउने बिषय प्रस्ताव गरेका छौं ।’

कार्यविधिले सवारी साधनलाई ४ भागमा वर्गीकरण गरेको छ । जसअनुसार मिनिबस–ठूला बस, प्यासेन्जर कार–माइक्रोबस र लाइट ट्रक–हेभी ट्रक छन् ।

निर्माण सम्पन्न भएर सञ्चालनमा आउने यो सुरुङमार्गबाट मोटरसाइकल र टेप्पुबाहेक सबै प्रकारका सवारी साधन ओहोर दोहोर गर्न पाइनेछ । यो सुरुङमार्गमा पेट्रोल, डिजेल र ग्यास बोकेको ट्यांकर र बुलेटलाई प्रवेश निषेध गरिएको छ ।

यो सुरुङमार्ग अन्तर्गत दुईवटा टनेल निर्माण भएको छ । जसअनुसार आपतकालीन उद्दारमा प्रयोग गर्नका लागि २ हजार ५ सय ५७ मिटर लामो सहायक आपातकालिन सुरुङमार्ग (इभाक्युसन टनेल) र सवारी साधन ओहोर दोहोर गर्न २ हजार ६ सय ८८ मिटर दूरी र ३.५ मिटर चौडाई भएको दुई लेनको मुख्य सुरुङमार्ग (मेन टनेल) निर्माण गरिएको छ ।

मुख्य सुरुङमार्गसँगै सामानान्तर रुपमा निर्माण भएको आपातकालिन सुरुङ्गमा ७ वटा क्रस प्यासेज (इन्ट्री गेट) निर्माण भएको छ ।

मुख्य सुरुङमार्गमा सबारी साधन ओहोर दोहोर गर्दा हुने भवितव्य दुघर्टना, गाडी बिग्रने र समस्यामा पर्ने यात्रुलाई उद्दार गर्नका लागि समानान्तर रुपमा यो सुरुङ्ग निर्माण गरिएको हो ।

मुख्य सुरुङमार्गभन्दा २० मिटरको दुरीमा देव्रेतर्फ सामानान्तर रुपमा निर्माण भएको आपातकालिन सुरुङमार्ग साढे चार मिटर चौडाई र ५ मिटर उचाई छ । यो सुरुङमार्गलाई मुख्य सुरुङमार्गसँग जोड्न ३ सयदेखि ३ सय ५० मिटरको दूरीमा क्रस प्यासेज निर्माण गरिएको छ ।

जोखिममा परेका सबारी साधन र यात्रुलाई उद्दार गर्ने तथा आगलागी भएको अवस्थामा आगो नियन्त्रण गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

उद्दार गरिने यात्रुलाई तत्कालै सबैभन्दा नजिकको सुविधा सम्पन्न सतुङ्गलस्थित शसस्त्र प्रहरी वलको अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ । सडक विभागले डेडिकेटेड होस्पिटलको रुपमा उक्त अस्पतालसँग सहकार्य गरेको छ ।

मुख्य सुरुङमार्गमा अगाडीको भाग (टोलगेट) देखि गुर्जुधारास्थित नेपाल टेलिकमको कार्यालयसम्म जोड्ने गरी सुरुको फ्लाईओभरको भागलाई जोडन करिब ५ किलोमिटर लामो कालोपत्रे सडक निर्माण भएको छ ।

इभाक्युसन टनेलको अन्तिम ब्रेक थ्रु २०८० साउन ७ गते (सन् २०२३ अगस्त ७ तारिख) मा ब्रेक थ्रु गर्ने काम सम्पन्न भइसकेको छ । यस्तै मेन टनेलको अन्तिम ब्रेक थ्रु २०८१ बैशाख ३ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट भएको थियो ।

आयोजनाका अनुसार सन् २०१६ मा जापान सरकारसँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएर सरकारले यो आयोजना सुरु गरेको थियो । यसको कूल लागत भने २२ अर्ब छ ।

तर यो लगानी बढ्न सक्ने अवस्था औंल्याइएको छ । विभिन्न प्रकारका अवरोधका कारण निर्माणमा ढिलाई हुँदा ठेक्का सकारेका कम्पनीले सरकारसँग क्षतिपूर्तिसमेत अनौपचारिक रुपमा माग गरेकाले लागत खर्च बढ्न सक्ने आयोजनाले जनाएको छ ।

जापानको हाजमा एण्डो कर्पोरेशनले ठेक्का पाएको यो आयोजना ठेक्का सुरु भएको मितिदेखि ४२ महिनामा (२०२३ अप्रिल २५) मा सम्पन्न गर्नुपर्ने समयसीमा निर्धारण गरिएको थियो ।

तर कोभिडकाल, स्थानीयबासिन्दाको पटक पटकको अवरोध, अघिललो बर्ष क्रसर उद्योग बन्द, भौगोलिक जटिलता लगायतका कारण पहिलो पटक २०८० साउन ४ गते(२०२३ जुलाई २०) मा १ बर्षको म्याद थपिएको थियो ।

त्यसपछि २०८० चैत १२ गते(२०२४ अप्रिल २५) मा पुनः दोश्रो पटक १८ महिना म्याद थप गरिएको थियो ।

दोश्रो पटक म्याद थपपछि अब आगामी असोज महिनामा यो सुरुङमार्गको निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा निर्धारण गरिएको छ ।

सडक विभाग र निर्माण कम्पनीबीच सन् २०१९ सेप्टेम्बर २३ मा ठेक्कासम्बन्धी सम्झौता भएको थियो ।

सञ्चालन गर्न ४० करोड रुपैयाँ लाग्ने

पन्थीका अनुसार नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नियमित रुपमा सञ्चालन गर्न वार्षिक सञ्चालन लागत खर्च करिब ४० करोड रुपैयाँको हाराहारीमा हुनेछ ।

यो लागत खर्चमध्ये अधिकांश खर्च दक्ष जनशक्ति व्यवस्थापन र बिजुलीमा खर्च हुनेछ । सुरुङमार्गमा नियमित रुपमा कम्तिमा २ मेगावाट क्षमताको बिजुली खपत हुने आधारमा बिजुलीमा पनि खर्च धेरै हुने उनको भनाई छ ।

‘अहिले हामीसँग । सुरुङमार्गमा काम गर्ने दक्ष नेपाली जनशक्ति छैनन, यसका लागि हामी अहिले विदेशी जनशक्तिलाई प्राथमिकतामा राखेका छौं, विदेशी जनशक्तिको सहयोगमा नेपाली जनशक्ति तयार गर्छौं,’ पन्थीले भने,‘विदेशी जनशक्ति राख्नुपर्ने भएकाले सुरुको केही बर्षमा जनशक्ति खर्च केही बढि हुनेछ । नेपाली जनशक्ति तयार भए पनि यो खर्च विस्तारै घट्दै जानेछ ।’

८२ प्रतिशत काम सम्पन्न, के के काम हुँदैछ ?

पन्थीका अनुसार सुरुङमार्ग आयोजनाअन्तर्गत अहिलेसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको छ भने ७९ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।

सुरुङमार्गको तल्लो भूँईमा ढलान, टोल बुथ निर्माण, टनेल फ्यासिलिटी, भेन्टीलेसन, फ्लाईओभरलगायतको काम गर्न लागिएको छ ।

यसमध्ये सुरुङमार्ग भित्र तल्लो भूँईमा ३० सेन्टीमिटर मोटाइभएको १ किलोमिटर खण्डमा ढलान गर्ने काम सम्पन्न भइसकेको छ । ढलानको काम करिब ६० प्रतिशत सकिएको छ ।

सहायक सुरुङमार्ग (इभाक्युसन टनेल) भित्र २० सेन्टिमिटर मोटाई भएको भूँईको ढलान २१ प्रतिशतको हाराहारीमा सकिएको छ भने मुख्य सुरुङमार्ग (मेन टनेल) को भूँईमा ३० सेन्टिमिटर मोटाई भएको ढलान ७० प्रतिशत भइसकेको छ ।

यस्तै बलम्बुस्थित फ्लाईओभरको काम पनि करिब ९० प्रतिशत सकिएको छ । फ्लाईओभरमा पीच गर्ने काम, रेलिङ्ग लगाउने र फिनिसिङ्गको काम गर्न बाँकी छ ।

र्याम्पसम्बन्धी काम पनि करिब ६० प्रतिशत सकिएको छ । यसैगरी सुरुङमार्ग भित्रको फ्यासिलिटी अन्तर्गत ४० प्रतिशत काम सकिएको छ । वक्ति, टेलिफोन, बिजुली तार ओछ्याउने काम पनि सकिएको छ ।

यस्तै एप्रोच सडकको केही काम गर्न बाँकी छ । साढे ४ किलोमिटर दूरीको एप्रोच सडकमा फाइनल कोट गर्न बाँकी छ ।


राजेश बर्मा