नेपालीको आय बढेको भन्दै जापानले बढायो नागढुंगा सुरुङमार्गमा थपिन लागेको ऋणको ब्याज



काठमाडौं । जापान सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा निर्माण भइरहेको सुरुङमार्गको ब्याजदर वृद्धि भएको छ ।

सरकारले जाइकासँग सुरुङमार्ग निर्माणका लागि ०.०५ प्रतिशतमा १६ अर्ब रुपैयाँ ऋण लिएको थियो । १६ अर्ब रुपैयाँमा सुरुङमार्ग निर्माण पूरा नहुने भएपछि थप ३ अर्ब रुपैयाँ ऋण लिन लागेको छ । तर यसअघि ०.०५ प्रतिशत ब्याजमा ऋण लिइएको भए पनि अहिले लिन लागिएको रकममा भने १.९ प्रतिशत ब्याज तिर्नु पर्ने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा बिडारीकाअनुसार थप ३ अर्ब रुपैयाँ आवश्यक भएको तर कति ब्याजदरमा लिने भन्ने बारे अर्थबाट जानकारी नआइसकेको बताए ।

‘हामीले १६ अर्ब रुपैयाँ लिएको छौं । थप ३ अर्ब लिनुपर्छ । फाइनान्सियल एग्रिमेन्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्ने होइन,’ उनले भने, ‘यो विषयमा अर्थ मन्त्रालयलाई जानकारी होला ।’

पूर्वसचिव अर्जुनजंग थापाकाअनुसार सम्झौता हुँदा ०.०५ प्रतिशत ब्याजदर तोकिएको थियो । ‘०.०५ प्रतिशतमा नै सम्झौता भएको हो,’ उनले भने,’ पछि बढेको भन्ने सुनियो ।’

ब्याजदर बढेसँगै नागढुंगा नौबिसे सुरुङमार्गका लागि थप लिन लागिएको ३ अर्ब रुपैयाँका लागि ३८ प्रतिशतले ब्याज बढ्ने भएको छ । अर्थ मन्त्रालयका एक सहसचिवका अनुसार नेपालीको आयस्तर बढेको भन्दै जापानले ब्याजदर बढाएर दिने निर्णय गरेको हो । नेपाल अतिकम विकसित मुलुकबाट विकासउन्मुख हुन लागेको भन्दै जाइकाले ब्याज बढाएको उनको भनाइ छ ।

नेपाल सरकार र जाइकाबीच यो सुरूङमार्ग बनाउन सन् २०१६ मा सम्झौता भएको थियो । नेपालले जाइकाबाट १६ अर्ब रुपैयाँ सहुलियत बराबर ऋण लिएको छ । कुल लागतमध्ये यो परियोजनामा नेपाल सरकारले आन्तरिक स्रोतबाट ६ अर्ब रुपैयाँ बेहोर्ने छ ।  उक्त सम्झौताको ऋण साँवा र ब्याज तिर्ने अवधि ४० वर्षको छ ।

नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण २०७६ कात्तिकमा सुरु गरिएको थियो । यो सुरुङमार्गको ब्रेक थ्रु भइसकेको छ ।

यो आयोजना ४२ महिनाभित्र सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गते शिलान्यास भएको थियो । सुरूङमार्गको मुख्य सुरूङ २०८१ वैशाख ३ गते छिचोलिएको छ । उक्त सुरूङ सन् २०२३ को अप्रिलमा सम्पन्न गर्ने गरी जापानको हाजमा एण्ड कर्पोरेशनसँग सम्झौता भएको थियो ।

कोरोना महामारी र स्थानीयको विवादले पटकपटक सुरूङमार्ग निर्माण अवरुद्ध भएपछि म्याद थपिएको छ । थप भएको म्याद अनुसार सम्पन्न गर्नुपर्ने मिति २०२५ अक्टोबरसम्मका लागि तोकिएको छ ।

आयोजनाका अनुसार २ हजार ६८८ मिटर सुरुङमार्ग ब्रेक थ्रु भएर अहिले फिनिसिङको काम चलिरहेको छ । इभाकुएस टनेलसमेत ब्रेक थ्रु भइसकेको छ । हाल सुरुङमार्गमा लाइटिङ, आगलागी भए नियन्त्रण गर्ने, कालोपत्रे (ढलान) जस्ता काम भइरहेको छ ।

सुरुङमार्गभित्र अक्सिजनको मात्रा मिलाउने उपकरण जडान, रेस्क्यु सेन्टर निर्माण, कन्ट्रोल सिस्टम जडान, टेलिफोन जडान, लाइट जडान, तापक्रम मिलाउने उपकरण जडानलगायतका दर्जनौं प्राविधिक काम धमाधम भइरहेको छ ।

आयोजनाको समग्र भौतिक प्रगति ८२.७० प्रतिशत र वित्तीय प्रगति ७५.८६ प्रतिशत छ । सुरुङमार्गसम्म पुग्न फ्लाइ ओभर निर्माण भरहेको छ  ।

आगामी असोजसम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । सडक विभागमार्फत निर्माण भइरहेको यो देशको पहिलो आधुनिक सडक सुरुङमार्ग हो । यो सुरुङमार्ग निजी क्षेत्रमार्फत सञ्चालन गर्ने तयारीमा सरकार छ।

आयोजनाका अनुसार दुवैतर्फको टनेल अपरेशनल बिल्डिङ नजिकै टोलगेट निर्माण हुनेछ । टोलगेटसँगै २४ सैं घन्टा सुरक्षाकर्मी, आपतकालीन समयको लागि प्राथमिक चिकित्सकको टोली, एम्बुलेन्स, टनेल प्रविधिसम्बन्धी प्राविधिक कर्मचारीलगायतको उपस्थिति रहनेछ ।

मुख्य सुरुङमार्गभित्र भने ६० किलोमिटरको गतिमा सवारी साधन कुदाउन पाइनेछ । यो सुरुङमार्ग पार गर्न ३ मिनेटको समय लाग्नेछ । दुईपाङ्ग्रे र प्रजोलनसिल सामान बोक्ने सवारीसाधनहरु निषेध गरिनेछ  ।


क्लिकमान्डु