नागढुंगा सुरुङमार्गमा खटिए १०० इन्जिनियर: अब नेपालीले नै सुरुङमार्ग बनाउन सक्ने



काठमाडौं । नागढुंगा-सिस्नेखाला सुरुङमार्गमा कार्यरत नेपाली इन्जिनियरहरुले नै आगामी दिनमा नेपालमा बन्ने ट्रान्सपोर्ट टनेल (सुरुङमार्ग) निर्माण गर्न आफूहरु सक्षम भएको बताएका छन् ।

जापानी सहयोग नियोग जाइकाले नेपालको सडक विभाग, कन्सल्टेन्सी कम्पनी नेपोकोई र ठेकेदार जापानिज कम्पनी हाजमा एण्डो कर्पोरेशनको सहकार्यमा नेपालकै पहिलो ट्रान्सपोर्ट टनेल (सुरुङमार्ग) को रुपमा सिस्नेखाला–नागढुंगा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ । सरकारले वैशाख ३ गते (भोलि) नागढुंगा–सिस्नेखोला सुरुङ्गमार्गमा अन्तिम छेड्ने काम (ब्रेक थ्रु) गर्ने तयारी गरेको छ ।

यसका लागि खन्न बाँकी रहेको २ मिटर दूरी सुरक्षितरुपमा राखिएको छ । कूल २ हजार ६ सय ८८ मिटरको मूल सुरुङ मार्गमध्ये २ हजार ६ सय ८६ मिटर खन्ने काम सकिएको छ । अब २ मिटर मात्रै खन्न बाँकी राखिएको हो ।

यहि २ मिटर क्षेत्रलाई ब्लास्टि गरेर सुरुङमार्गको पूर्वनागढुंगा र पश्चिम सिस्नेखोलातर्फबाट एकआपसमा मुख जोड्ने कार्यतालिका तयार पारिएको निर्माण आयोजनाका सहायक आवासिय इन्जिनियर असिम घिमिरेले जानकारी दिए ।

पश्चिम धादिङको सिस्नेखोलाबाट सुरु भएको मुख्य टनेल(सबारी साधान ओदोरदोहोर गर्ने) पूर्वतर्फको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित बसुन्डोलमा निस्किन्छ ।

घिमिरेका अनुसार यो सुरुङमार्ग निर्माण गर्न एक सय नेपाली इन्जिनियरसहित अन्य प्राविधिक र लेवर गरी करिब ४ सय जना कार्यरत छन् ।

नेपालकै पहिलो ट्रान्सपोर्ट टनेल (सुरुङमार्ग) को रुपमा निर्माण भइरहेको सुरुङमार्गबाट नेपाली इन्जिनियरले टनेलसम्बन्धी व्यवहारिक तथा प्राविधिक रुपमा सिकाई गर्ने अवसरको रुपमा समेत उपभोग गरेका छन् ।

यो सुरुङमार्गपछि नेपालमा आगामी दिनमा निर्माण हुने यस्तै प्रकृतिका सुरुङमार्ग बनाउन सकिने घिमिरेले जानकारी दिए ।

‘यो सुरुङमार्गबाट हामीले धेरै बिषयबस्तुको बारेमा प्रत्यक्ष रुपमा ज्ञान हासिल गर्न सक्षम भएका छौं,’ उनले भने,‘आगामी दिनमा यस्तै प्रकृतिका सुरुङमार्ग निर्माण हुँदा हामी तयार गर्न सक्छौं जस्तो लागेको छ ।’

अहिले नै सिद्धबाबा सुरुङमार्ग निर्माण गर्नका लागि नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा काम गरेका इन्जिनियरहरुलाई काम गर्ने मौखिक रुपमा अवसर आइरहेको आयोजनाले जनाएको छ ।


क्लिकमान्डु